काठमाडौं- पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गइरहेको देखिन्छ। सरकारले पिसिआर परीक्षण कम गर्दै लगेका कारण पनि संक्रमितको संख्या घट्दै गएको जनस्वास्थ्य विज्ञहरु बताउँछन्।
तर देशभर संक्रमितको संख्या घट्दै जाँदा काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो केही दिनयता उपत्यकामा हरेक दिनजसो संक्रमित थपिइरहेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामा आइतबार साँझसम्म संक्रमितको संख्या ३४७ पुगेको छ। जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २३२ जना संक्रमित भेटिएका छन्। ललितपुरमा ७१ र भक्तपुरमा ४४ जनामा संक्रमण देखिएको छ।
महाशाखाका निर्देशक डा वासुदेव पाण्डे काठमाडौंमा संक्रमित थपिँदै जानु चिन्ताको विषय भएको बताउँछन्। उनले उपत्यकामा केही व्यक्तिमा बाहिर कतै यात्रा नगरेकामा पनि संक्रमण देखिएको जानकारी दिए।
‘देशका अन्य स्थानमा संक्रमण घटे पनि काठमाडौंमा बढ्दै गएकाले चिन्ता थपेको छ,’ उनले भने, ‘यहाँ यात्रा नगरेका केही व्यक्तीहरुमा पनि संक्रमण देखिएकोले हामीले समुदायमा संक्रमणको स्थिति पत्ता लगाउन परीक्षणको क्षेत्र बढाएका छौं।’
उनका अनुसार महाशाखाले पहिलो चरणमा उपत्यकाका विभिन्न १२ स्थानमा नमुना संकलन गरेको छ। नख्खु, कोटेश्वर, बोडे, शहिद गंगागलाल अस्पताल, काठमाडौं महानगरपालिका, शंखमुल , बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, डिल्लीबजार, मनोहरा, टोखा लगायतका स्थानबाट नमुना लिइएको उनले जानकारी दिए।
यस्तै उपत्यकामा महाशाखाले मानिसहरुको बढी भिडभाड हुने स्थान र कार्यालयहरु जस्तै बैंक, अस्पताल, मालपोत, कर कार्यालय लगायतका स्थानमा पनि स्वाब संकलन गरिने डा पाण्डे बताउँछन्। उनका अनुसार जनसम्पर्क बढी हुने कार्यालयहरुमा पुगेकार स्वाब संकलन कार्य सुरु भइसकेको छ।
सरकारले समुदायमा कोरोना भाइरसको अवस्था पत्ता लगाउन काठमाडौं उपत्यकामा थप ५ हजार र देशभरका विभिन्न स्थानमा गरी ४५ हजार जनाको नमुना संकलन गर्ने तयारी गरेको छ।