काठमाडौं- सरकारले शुक्रबारबाट छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
सवारी साधनका चालक तथा सहचालक, यात्रुले समेत मास्क अनिवार्य लगाउनुपर्ने छ। त्यस्तै सवारी साधनमा स्यानिटाइजर अनिवार्य र हरेक दिन सवारीसाधनलाई डिसइन्फेम्सन गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै यात्रुबाहक सार्वजनिक सवारी कूल सिटको आधामात्र हुने गरी चलाउन दिने निर्णय भएको अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। यात्रुबाहक बसमा सिटबीच सामाजिक दूरी कायम हुने गरी बस्ने व्यवस्था गरेर चलाउन भनिएको छ।
सरकारले उपत्यकाभित्रका जिल्लाहरू र अन्य जिल्लाको हकमा एक जिल्लाभित्र मात्र ट्याक्सी तथा सार्वजनिक यात्रुबाहक बस चलाउन दिने निर्णय गरेको हो। सार्वजनिक सवारी साधन बसमा ५० प्रतिशत थप भाडा र ट्याक्सीमा ४० प्रतिशत थप भाडा लिएर सवारी साधन सिट क्षमताको आधा संख्यामा मात्र यात्रु बोक्न पाउने छन्।
तर यस्ता सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनुपर्ने र सरकारले तोकेका अन्य विधिसमेत अपनाउनुपर्ने जनाइएको छ।