विश्वमा कोरोना भाइरस संक्रमण भई गम्भीर बिरामी भएकालाई कन्भाल्सन प्लाज्मा थेरापी दिँदै उपचार हुँदै आएको छ। अन्य संक्रामक रोगको उपचारमा समेत यो विधि प्रयोग हुँदै आएको पाइन्छ।
नेपालमा यो विधि प्रयोग गर्न सकिन्छ कि सकिँदैन? प्रयोग गर्नुपर्ने भएमा कसरी गर्ने? भन्ने विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गर्ने तयारी गरेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवाली अनुसन्धानका लागि आवश्यक प्रक्रिया अगाडि बढेको बताउँछन्।
प्लाज्मा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो। यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पुर्याउने काम गर्छ। रगतमै पाइने एन्टिबडी पनि एक किसिमको प्रोटिन हो। यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ। संक्रमित भई निको भएका व्यक्तिले उक्त प्लाज्मा दान गरी संक्रमित मानिसलाई दिइने विधिलाई प्लाज्मा थेरापी भनिन्छ।
नेपालमा अझै गम्भीर प्रकृति बिरामी देखिएका छैनन्। तर भोलिका दिनमा कोरोनाका गम्भीर बिरामी भए भने कन्भाल्सन प्लाज्मा थेरापी उपयोगी हुनसक्ने बताउँछन्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेधनाथ धिमाल।
नेपालमा कोरोना भाइरस संक्रमितको असार २२ गतेसम्म १५ हजार ९ सय सय ६४ पुगेको छ। हालसम्म ३४ कोरोना संक्रमितको मृत्यु भएको छ। ६ हजार ५ सय ४६ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमित भई निको भएका व्यक्तिहरुले पनि आवश्यक परेमा आफ्नो प्लाज्मा दान गर्ने बताउँदै आएका छन्। तीमध्ये एक हुन्, नेपालको दोस्रो कोरोना भाइरस संक्रमित भई निको भएकी प्रसिद्धि श्रेष्ठ।
नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा हेमराज पनेरु विश्वमा हालसम्म देखिएका संक्रमितको तथ्यांकलाई हेर्दा कोभिड-१९ का बिरामीहरुमध्ये करिब ५ देखि १५ प्रतिशतसम्मलाई क्रिटिकल केयरको आवश्यकता परेको बताउँछन्।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अहिलेसम्म लक्षण नभएका ९९ प्रतिशत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। यसका कारण अझै गम्भीर प्रकृतिका बिरामीको उपचार गर्नुपरेको छैन। तर आगामी दिनमा गम्भीर संक्रमितलाई उपचार गर्नुपरेमा यो अनुसन्धान उपयोगी बन्ने विश्वास गरिएको छ।