सामाजिक सञ्जालबाट सुरु भएको इनफ इज इनफ अभियानमार्फत सामाजिक सञ्जालमा नै होस् या त सडकमा विभिन्न रचनात्मक र शान्तिपूर्ण प्रदर्शन भइरहेको छ। कोरोना भाइरसको परिक्षण पिसिआर विधिबाट मात्रै हुनुपर्ने, विदेशमा अलपत्र नेपालीको सुरक्षित उद्दार, व्यवस्थित क्वारेन्टाइनलगायत माग राखेर पाटन दरबार स्क्वायरमा ७ दिनदेखि अनशन पनि जारी छ।
उन्मुक्ती र आनन्दको अनुभूति गर्न पाटन दरबार क्षेत्रमा पुग्नेहरुका लागि अहिलेको माहोल अलि भिन्न छ। कोरोना माहामारीमा सरकारको काम गराइ राम्रो नभएको भन्दै विरोध प्रदर्शन गरिरहेका युवाहरु अहिले पाटनमा छन्। कोहि प्ले कार्ड समाएर बसिरहेका देखिन्छन् भने कोहि विरोध स्वरुप पुस्तक पढिरेका छन्। सँगै ७ दिनदेखिको सत्याग्रहसँगै रिले अनशन जारी छ।
युवाहरु आफ्नो आवाज सुनाउन कहिले नाटक प्रहर्शन गर्छन् त कहिले कविता वाचन। पुस्तर पढेर नियमति विरोध गर्ने युवाहरु पनि हरेक दिन देखिन्छन्। एक एक घण्टाको फरकमा विभिन्न समूहमा चहलपहल देखिन्छ। यसरी गरिएको शान्तिपूर्ण र रचनात्मक अभियानको माग छ, कोरोना भाइरस संक्रमणको आरडिटी परिक्षण विधी बन्द गर, पिसिआर परिक्षण व्यापक बनाऊ, विदेशमा अफ्ठ्यारोमा परेका नागरिकलाई स्वदेश फर्काउ। क्वारेन्टाइनलाई व्यवस्थित बनाउ। भ्रष्टाचार बन्द गर।
हिजो व्यवस्था परिवर्तनका लागि भन्दै हिंसात्मक राजनीतिबाट अहिले सत्ता सञ्चालनमा पुगेका पुस्ताले अहिलेको शान्तिपूर्ण प्रदर्शनलाई सुन्न समय लाग्ने उनीहरुको बुझाइ छ।
सरकारको जिम्मेवारी भित्रै पर्ने काम नै नगरेपछि नागरिक झकझकाउन आमरण अनशन नै बस्नु परिरहेको उनीहरुको भनाइ छ। अझै पनि सरकारले आम नागरिकको आवाज नसुन्दा शान्तिपूर्ण प्रदर्शनलाई नै बुझ्दैन कि भन्ने आशंका उत्पन्न हुने गरेको छ।
बालुवाटार, माइतिघर हुँदै देशभर फैलिएको प्रदर्शन अहिले विशेष गरी पाटन क्षेत्रमा नै देखिन्छ। विरोध प्रदर्शनको आवाज सामाजिक सञ्जाल हुँदै विभिन्न माध्यमबाट थप सशक्त बनाउन र सरकारलाई दबाब दिन प्रत्येक नागरिकसम्म पुर्याउनुपर्ने अभियानकर्मीहरु बताउँछन्।