बुधबार साँझसम्म नेपालम १४ हजार ४३ कोरोना भाइरस संक्रमित पुष्टि भएका छन्। तीमध्ये ९९ प्रतिशतलाई कुनै पनि लक्षण देखिएको छैन। एक व्यक्तिबाट अर्को व्यक्तिमा थुक वा र्यालका छिटाबाट सजिलैसँग यो भाइरस सर्ने चिकित्सकहरू बताउँछन्।
लक्षण नभएका कोरोना संक्रमितबाट पनि अन्य व्यक्तिमा भाइरस सर्न सक्ने विज्ञहरुले बताउँदै आइरहेका छन्। विश्व स्वास्थ्य संगठनले पनि हालसम्म लक्षण नभएकाबाट कोरोना भाइरस सर्दैन भनेर आधिकारिक रूपमा पुष्टि गरेको छैन।
तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने लक्षण नभएका कोरोना संक्रमितबाट अन्य व्यक्तिमा कोरोना भाइरस सर्दैन भनेर गलत सन्देश दिएको जनस्वास्थ्य विज्ञहरुको भनाई छ।
स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा गौतमले कुनै लक्षण र चिन्ह नभएका व्यक्तिबाट अन्य व्यक्तिमा संक्रमण नसर्ने बताएका थिए।
विश्व स्वास्थ्य संगठनको हेल्थ इमरजेन्सी कार्यक्रमकी प्रमुख डा मारिया भान केर्कोभले लक्षण नभएका संक्रमितबाट कोरोना भाइरस सर्ने सम्भावना निकै कम रहेको तर सर्दै सर्दैन भनेर ठोकुवा गर्न सक्ने अवस्था नरहेको जानकारी दिइन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला लक्षण नभएका संक्रमितले पनि कोरोना सार्ने माध्यम बन्न सक्ने बताउँछन्।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे लक्षण नभएका व्यक्तिमा भर्खरै संक्रमण देखिएको छ भने अन्यलाई सर्न सक्ने उल्लेख गरे।
लक्षण नभएका संक्रमितबाट अन्य व्यक्तिमा कोरोना भाइरस सर्छ वा सर्दैन भन्ने विषय अझै अध्ययनकै क्रममा रहेको बताउँछन् डा ओममुर्ति अनिल। उनले अहिलेको अवस्थामा लक्षण नभएकाबाट कोरोना सर्दैन भनेर दाबीका साथ भन्न सक्ने अवस्था नरहेको तर्क गरे।
विज्ञहरूका अनुसार नेपालमा ९९ प्रतिशत संक्रमित लक्षणबिहीन छन् भनी ढुक्कका साथ हिँड्ने स्थिति छैन। हाम्रा वरपर पनि लक्षण नभएका संक्रमित हुन सक्छन्।
त्यसैले घरबाहिर निस्कँदा सर्जिकल मास्क वा कपडाबाट बनेको तीन तहको मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, भीडभाडमा नजाने र समयसमयमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ। यी उपाय अपनाउँदा धेरै हदसम्म संक्रमण सर्ने सम्भावनाबाट बच्न सकिन्छ।