क्वारेन्टाइन कोरोना संक्रमणको फैलावटलाई रोक्ने प्रभावकारी उपायमध्येको एक हो। जहाँ कोरोनाको शंकास्पद व्यक्तिलाई १४ दिनसम्म विशेष निगरानीमा राखिन्छ।
कुनै पनि शंकास्पद व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुलाई क्वारेन्टाइन भनिन्छ।
तर नेपालमा भने तीनै क्वारेन्टाइन, रोग सर्ने थलो जस्तै बन्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण देखिएका ९८ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन। संक्रमण देखिएकामध्ये पनि ९० प्रतिशतभन्दा बढी क्वारेन्टाइनमा नै बसेका व्यक्तिहरु हुन्।
क्वारेन्टाइन सञ्चालनका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ। तर त्यो मापदण्ड कागजमा मात्र सीमित भएको विज्ञहरुको आरोप छ। जनस्वास्थ्य विज्ञहरुका अनुसार अधिकांश क्वारेन्टाइन मापदण्ड विपरित सञ्चालित छन्। त्यसैले त, क्वारेन्टाइनबाट नै उल्टै संक्रमणको जोखिम बढीरहेको छ।
यही बीचमा सरकारले एउटा यस्तो मापदण्ड ल्यायो, जसले पिसिआर परीक्षणको दायरालाई खुम्चाइ दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते नेशनल टेष्टिङ गाइलाइन फर कोभिड–१९ मापदण्ड निर्धारण ग¥यो।
उक्त मापदण्डले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा लक्षण नदेखिए पिसिआर परीक्षण नगर्नु भनेको छ। तर विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई भने अनिवार्य बनाएको छ। मन्त्रालयको उक्त निर्णयको सर्वत्र आलोचन भइरहेको छ। तर मन्त्रालय नसुने झैँ आरडिटी परीक्षणमा नै जोड दिइरहेको छ।
मुलुकभर हाल ७८ हजार ६ सय ३९ जना क्वारेन्टाइनमा छन्। १५ दिन अघि र अहिलको तथ्यांक तुलना गर्ने हो भने यो अवधिमा ९३ हजार ६ सय २७ जना व्यक्ति क्वारेन्टाइनबाट निस्किएका छन्। दैनिक करीब ७ हजारका दरले मानिसहरु क्वारेन्टाइनबाट निस्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।
आजभन्दा १५ दिन अघि अर्थात् जेठ २८ गते क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या १ लाख ७२ हजार २ सय ६६ जना थियो। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या घट्ने शिलशिला यही दिनदेखि सुरु भएको देखिन्छ।
जेठ २९ मा क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या १ लाख ६२ हजार १३ जना पुग्यो। यो हिसाबले २४ घण्टामा १० हजार २ सय ५३ जना क्वारेन्टाइनमा निस्किएको देखिन्छ।
यो संख्या घट्दै जेठ ३० गते १ लाख ५८ हजार ५० जना, ३१ गते १ लाख ५० हजार ५ सय ४९ जना र ३२ गते १ लाख ४३ हजार ६ सय ४१ पुगेको थियो।
यस्तै, असार १ तथ्यांकले १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेको देखाउँछ।
असार २ मा १ लाख ३३ हजार ९, असार ३ मा १ लाख २५ हजार ७ सय ९८, असार ४ मा १ लाख १६ हजार २ सय १५ जना, असार ५ मा १ लाख ९ हजार ४ सय ६४ जना छन्।
यस्तै, असार ६ मा १ लाख २ हजार २ सय ४५ जना, असार ७ गते ९४ हजार ९ सय २८ र असार ८ गते ९० हजार ७ सय ३० जना, असार ९ गते ८५ हजार ८ सय १३ र असार १० गते ७८ हजार ६ सय ३९ जना पुगेको छ।
क्वारेन्टाइनबाट ठूलो संख्यामा मानिसहरु किन घटिरहेका छन् त ?
विज्ञहरु भन्छन्, स्वास्थ्य मन्त्रालयले परीक्षण नै नगरी घर पठाउने गलत निर्णय गरेका कारण।
मन्त्रालय भन्छ, भारतबाट नेपाल प्रवेश गर्नेको संख्या घटेकाले।
वैशाखको पहिलो सातादेखि भारत सहित विदेशबाट नेपाल प्रवेश गर्नेको संख्या बढेपनि अहिले घट्दै गएको स्वास्थ्य मन्त्रालय बताउँछ।
क्वारेन्टाइनको समयावधि पुगेकाहरुलाई घर पठाउँदा क्वारेन्टाइन खाली हुँदै गएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।
जनस्वास्थ्य विज्ञ डा. समीरमणी दीक्षितले पिसिआरमा नेगेटिभ आएपछि मात्र घर जान दिनुपर्ने बताउँछन्। क्वारेन्टाइनमा रहने सबैको पिसिआर परीक्षण हुनुपर्नेमा उनको जोड छ। भारतबाट नेपाल भित्रने व्यक्तिको संख्या घटेको र क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर जाँच नगरी पठाउने कार्यले क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या घट्दै गएको उनले बताए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले साउन महिनादेखि क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या झनै घटेर जाने बताए।
सरकारले क्वारेन्टाइनलाई व्यवस्थित बनाए मात्र संक्रमणको दरलाई कम गर्न सकिने उनी बताउँछन्।
सरकारले पहिलो पटक चीनको वुहाउनबाट ल्याएका १ सय ७५ जनालाई राख्दा गरेको व्यवस्थापन सबै क्वारेन्टाइनमा हुनुपर्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोला बताउँछन्।
क्वारेन्टाइनबाट पिसिआर परीक्षण नगरी घर पठाएकाहरुलाई स्थानीय तहसँगको समन्वयमा विशेष निगरानीमा राख्नुपर्ने विज्ञहरुको सुझाब छ।
यसका साथै क्वारेन्टाइन व्यवस्थित नहुँदा कोरोनासँगै डेंगु, मलेरिया, पानीजन्य रोग, सर्पदंशको जोखिम बढ्ने भन्दै विज्ञहरुले यसतर्फ पनि सरकारको ध्यान जानु पर्ने बताउँदै आइरहेका छन्।