काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पिसिआर परीक्षणको दायरा बढाउँदै लगेको छ। परीक्षणको दायरा बढाउनका लागि सरकारले निजी क्षेत्रसँग पनि सहकार्य गर्ने भएको छ। पहिलो चरणमा सरकारले आफैं संकलन गरेको स्वाब निजी क्षेत्रलाई परीक्षण गर्न दिने तयारी छ।
पिसिआर परीक्षणको दायरा बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकले पनि देखाउँछ। गत २४ घण्टामा ७ हजार ४ सय १६ जनाको पिसिआरबाट कोरोना परीक्षण भएको छ। यसअघि शुक्रबार ६ हजार २ सय ३१ जना र बिहिबार ५ हजार ७ सय ४६ जनाको पिसिआर भएको थियो।
नेपालमा हालसम्म पिसिआरबाट कोरोना परीक्षण गर्नेको संख्या १ लाख ६९ हजार १ सय ६५ जनाको परीक्षण भएका छन्। कोरोना भए नभएको पत्ता लगाउने प्रयोगशाला परीक्षणको विधि पिसिआर हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ देखि प्रत्येक दिन १० हजारको संख्यामा पिसिआर परीक्षण गर्ने बताएका छन्। निजी ल्याबले ३ हजार र बाँकी सरकारी ल्याबबाट गरी प्रतिदिन १० हजारको पिसिआर गर्ने बताएका हुन्।
हाल भएका ल्याबमा जनशक्ति थपेर २४ सै घण्टा सञ्चालन गरेर केही परिणाम दिन सकिने उनले बताए।
परीक्षण निजी क्षेत्रले गर्ने भएपनि स्वाबको संकलन भने सरकारले नै गर्नेछ। मन्त्री ढकालका अनुसार परीक्षणको शुल्क पनि सरकारले नै दिनेछ। प्रत्येक प्रदेशमा प्रतिदिन एक हजारको दरले परीक्षण गर्न दिने मन्त्रालयको योजना छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा रुणा झाले निजी प्रयोगशालालाई परीक्षण गर्न अनुमति दिनका लागि मापदण्ड बनाइएको जानकारी दिइन्। पैसा र प्रयोगशालाको मापदण्ड पुरा भए/नभएको बारे अनुगमन गरिने उनले बताइन्।
मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाका प्रमुख डा विकास देवकोटाले जनस्वास्थ्य प्रयोगशालाले बनाएको मापदण्ड अनुसार निजी प्रयोगशालाले निवेदन दिनुपर्ने बताए।
नेपालमा हाल विभिन्न २४ स्थानबाट पिसिआर परीक्षण हुँदै आएको छ।