टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पिसिआर परीक्षणका लागि पुग्ने व्यक्तिहरुको संख्या बढ्दै गएको छ। दैनिक करिब ५ सयको संख्यामा व्यक्तिहरु पिसिआर परीक्षणका लागि टेकु अस्पताल पुग्ने गरेका छन्। अधिकांश व्यक्तिहरु घरबेटीको दबाबले पिसिआर परीक्षणका लागि टेकु अस्पताल पुगेका हुन्।
तर अस्पताल पुग्ने सबैको पिसिआर परीक्षण भने हुँदैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते नेसनल टेस्टिङ गाइलाइन फर कोभिड–१९ मापदण्ड ल्याएको छ। यही गाइडलाइन अनुसार निश्चित व्यक्तिले मात्र पिसिआर परीक्षण गर्न पाउँछन्।
आखिर को–को पर्छन् त पिसिआर परीक्षण गर्ने वर्गमा?
विशेषगरी पिसिआर परीक्षण गर्नुपर्नेमा कोरोनाका शंकास्पद लक्षण भएका व्यक्तिहरु पर्छन्। कोरोना संक्रमण भएको क्षेत्रबाट १४ दिनभित्र आएका र श्वासप्रश्वासमा समस्या भएका बिरामी, ज्वरो आएको, खोकी र ज्वरो एकै पटक भएको, अस्पताल भर्ना हुुनुपर्ने खालको बिरामीको पिसिआर परीक्षण गर्नुपर्ने सूचीमा राखिएको छ।
यस्तै, श्वासप्रश्वास समस्या भएमा र मांसपेसी दुख्ने, पखाला लाग्ने, खकार बढी आउने, कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्ति, श्वासप्रश्वासको समस्या समेत भएका पुराना रोगीहरुले पिसिआर परीक्षण गर्न पाउँछन्।
जीवन–मरणको अवस्थामा रहेका बिरामीको परीक्षणको नतिजा नकुरी उचित सुरक्षा अपनाएर शल्यक्रिया गर्न र स्वाब लिन ढिला गर्न नहुने मापदण्डमा उल्लेख गरिएको छ। शल्यक्रियाका लागि समय तोकिएका बिरामीका लागि लक्षणहरु देखापरे परीक्षण गर्ने, भर्ना गर्नुपर्ने बिरामी, जो कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रबाट आएका र लक्षण भएमा, १८ वर्ष मुनिका बालबालिका, जसलाई लगातार ३ दिनभन्दा बढी ज्वरो आएका जस्ता लक्षण देखिएका बिरामीले मापदण्ड अनुसार पिसिआर परीक्षण गर्न पाउँछन्।
हेल्थ केयर र सपोर्ट स्टाफ अर्थात् सुरक्षाकर्मी, एम्बुलेन्स चालक, कोठा सरसफाइ गर्ने, कोरोना बिरामीको हेरचाह गर्नेले पनि विभिन्न अवस्थामा मात्र पिसिआर परीक्षण गर्न पाउने मापदण्डमा उल्लेख गरिएको छ।
लक्षण देखिएका सबै अग्रपंक्तिका कर्मचारी र सपोर्ट स्टाफ यसभित्र पर्छन्। ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या भएका, कोभिड–१९ संक्रमितको सम्पर्कमा रहेका र नरहेका सबै हेल्थ केयर वर्कर र सपोर्ट स्टाफले पनि पिसिआर परीक्षण गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
सरकारको यही मापदण्ड अनुसार टेकु अस्पतालले कस्ता व्यक्तिलाई मात्र पिसिआर गरिन्छ, भन्ने सूचना अस्पतालमा टाँसेको छ। जसमा १४ दिनभित्र जोखिमयुक्त स्थानबाट आएका र लक्षण भएका व्यक्तिहरु, १४ दिनभित्र संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका, ज्वरो, खोकीको लक्षण भएका र अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीहरुको मात्र पिसिआर परीक्षण हुने सूचनामा उल्लेख छ।
यी बाहेकका अवस्थामा भने पिसिआर परीक्षण गर्नु नपर्ने उल्लेख छ।
सरकारले निश्चित मापदण्ड बनाए पनि सबैलाई यो बुझाउन सकिएको छैन। त्यसैले टेकु अस्पताल पुग्ने अधिकांश व्यक्तिले पिसिआर परीक्षण गर्नुपर्ने भन्दै चिकित्सकसँग झगडा नै गर्ने गरेका छन्।
सरकारले बिरामीलाई बुझाउन नसक्दा आफूहरुलाई बिरामी व्यवस्थापन गर्न समस्या भएको एक चिकित्सकले बताएका छन्।