काठमाडौं- भारतमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ। भारतले सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत पाँचौं स्थानमा उक्लिएको छ।
शनिबार मात्रै इटालीलाई उछिन्दै छैटौं स्थानमा उक्लिएको भारतले आइतबार स्पेनमा पनि उछिन्दै पाँचौं स्थानमा पुगेको हो।
सूचीको पहिलो स्थानमा अमेरिका छ। त्यहाँ १९ लाख १९ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको ब्राजिलमा ६ लाख ४५ हजार ७ सय ७१, तेस्रो स्थानमा रहेको रुसमा ४ लाख ५८ हजार र चौथो स्थानमा रहेको बेलायतमा २ लाख ८६ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार, भारतमा ६ हजार ९ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, १ लाख १८ हजार ६ सय ९५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा थप ३८ जनामा कोरोना संक्रमण
नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित गण्डकी प्रदेशमा पुष्टि भएको हो।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माद्वारा आइतबार बिहान ६ बजे जारी सूचना अनुसार गण्डकी प्रदेशका चार जिल्लाहरु स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी पूर्वमा संक्रमण पुष्टि भएको हो। जसअनुसार, स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १०, नवलपरासी पूर्वमा ४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै पुरुष हुन्।
संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजानै तयारी भइरहेको सूचनामा भनिएको छ।
नेपालमा संक्रमण पुष्टि भएकामध्ये १३ जनाको मृत्यु भएको छ भने ३ सय ६५ जना संक्रमणमुक्त भएका छन्।