एजेन्सी– कोरोना भाइरस नियन्त्रणका उपाय असफल भए अफ्रिकामा महामारीको पहिलो वर्ष १ लाख ९० हजार मानिसको मृत्यु हुने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ।
अफ्रिकामा २ करोड ९० लाखदेखि ४ करोड ४० लाख मानिसहरु संक्रमित हुनसक्ने र ५५ लाख मानिसलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी डब्लुएचओको छ।
गत मार्चमा अफ्रिकामा गरिएको स्वास्थ्य सेवाको अनुसन्धानमा यस महादेशका ४७ मुलुकमा १० लाख मानिसका लागि जम्मा ९ वटा आइसीयु बेड रहेको पाइएको थियो। यो निकै अपर्याप्त रहेको डब्लुएचओको भनाइ छ। अध्ययनमा अस्पतालको क्षमता बिस्तार गर्न सुझाव दिइएको छ।
अफ्रिकाका लागि डब्लुएचओकी क्षेत्रीय निर्देशक डा मात्सिदिसो मोइतीले अफ्रिकी मुलुकका सरकारहरुले सुरक्षात्मक उपाय नअपनाउने हो भने कोभिड १९ आगामी कैयाैं वर्षसम्म रहने उल्लेख गर्दै परीक्षण, पहिचान, आइसोलेट र उपचार आवश्यक रहेको बताइन्। उनले भनिन्, ‘अहिलेसम्म यहाँका सरकारहरुले अस्पतालको क्षमता बिस्तार गर्न सक्रियता देखाएका छैनन्।’
उक्त अध्ययनमा अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरुनले रोकथामका उपायमा ध्यान नदिए सबैभन्दा धेरै खतरा हुनसक्ने उल्लेख गरिएको छ। आगामी दिनमा स्वास्थ्य सेवा धेरै चुनौतीपूर्ण हुने चेतावनी डब्लुएचओको छ।