एजेन्सी- इटालीमा कोरोना भाइरसको सङ्क्रमण दर बिस्तारै कम हुँदै गएको सङ्केत गर्दै प्रधानमन्त्री जिसेपे कोन्टेले आगामी मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरू काममा फर्किन सक्ने बताएका छन्।
राष्ट्रिय टेलिभिजन च्यानलमार्फत् प्रशारण गरिएको भिडियोमा उनले भने, ‘सुरूमा अर्थात मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरू काममा फर्किन सरकारले अनुमति दिने तयारी गरिरहेको छ। अहिलेकै अवस्था रहेमा त्यसपछि खुद्रा व्यापारी, रङ्गशाला, प्रदर्शन भवनहरू र लाइब्रेरीलाई मे १८ पछि खुला गरिनेछ भने बार, रेष्टुरेण्ट, सैलुन र श्रृङ्गार पसलहरूलाई जुन १ देखि खुला गरिनेछ।’
प्रधानमन्त्रीले मे ४ पछि स्थानीय नागरिकलाई मास्कको प्रयोग गरेर आफ्ना आफन्त भेट्न पार्क तथा सार्वजनिक बगैँचाहरू खुल्ने बताएका छन्। घरबाट करीब २ सय मिटरभन्दा टाढा जान मोटरसाइकलको प्रयोग गर्न र शारीरिक अभ्यासका लागि हिँड्न खुला गरिने प्रधानमन्त्री कोन्टेले बताए।
लकडाउनकाे घोषणालाई आगामी मे ३ पछि खुला गर्ने तर दोस्रो चरणका लागि फरक किसिमको नीति अबलम्वन गरिने उनले बताए। उनले सङ्क्रमण बढी रहेका क्षेत्रमा आगामी केही समय नागरिकले कठिनाई परेपनि सहेर सरकारलाई सघाउन र आफ्नो व्यक्तिगत स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन्।
मृतकका आफन्तले कम्तिमा १५ जनाको सहभागितामा अन्त्येष्टिमा सहभागिता जनाउन पाउने र सबै व्यक्ति, उद्योग तथा व्यवसायिक फर्महरूले कोरोना भाइरसबाट बच्न सुरक्षा अनुशासनलाई पालना गर्नुपर्ने र त्यसो नगरेको पाइएमा आवश्यक कानुनी कारबाही हुने पनि प्रधानमन्त्रीले बताएका छन्।
अझै पनि कोभिड-१९ सङ्क्रमणको सुरक्षा खतरा व्याप्त रहेको छ त्यसैले सामाजिक दूरी कायम गर्ने, मास्क तथा पञ्जाहरूको प्रयोग गर्ने र अनावश्यक भिडभाडमा नजाने गर्नेजस्ता उपाय अवलम्बन गर्दै कोभिड–१९ विरूद्धको लडाईंमा सम्पूर्ण नागरिकको सहयोग अझै पनि केही समयका लागि सरकार तथा स्वास्थ्यकर्मीको अनुरोधलाई मानी सहकार्य गर्न उनले आग्रह गरे।