एजेन्सी– कोरोना भाइरसको संक्रमणविरुद्ध दिइएको खोप ‘एन्टी भाइरस ड्रग’ असफल भएको छ।
एन्टी भाइरस ड्रगको परीक्षण सफल नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। चीनमा यो औषधिको परीक्षण गरिएको हो। यो एन्टी भाइरस ड्रगको नाम ‘रेमडेसिभर’ हो। यो खोपको परीक्षणसँग संसारभर धेरै आशा गरिएको थियो।
२ सय ३७ जना बिरामीमध्ये केहीलाई यो खोप लगाइएको थियो भने केहीलाई प्लेसिबो अर्थात् अरु औषधि दिइएको थियो। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २३७ जना बिरामीमध्ये १५८ जनालाई रेमडेसिभर खोप दिइएको थियो भने ७९ जनालाई प्लेसिबो दिइएको थियो।
एक महिनापछि जाँच गर्दा रेमडेसिभर दिइएका बिरामीमध्ये १३.९ प्रतिशतको मृत्यु भएको थियो भने प्लेसिबोको औषधि दिइएका १२.८ प्रतिशत बिरामीको मृत्यु भएको थियो। साइडइफेक्टका कारण त्यतिबेलै औषधिको प्रयोग रोकिएको थियो।
रेमडेसिभर खोपले बिरामीमा कुनै सुधार नदिएको जनाइएको छ। औषधिले कुनै काम नगरेको विस्तृत प्रतिवेदन विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको थियो। तर पछि असावधानीका कारण प्रतिवेदन आफ्नो वेबसाइटबाट हटाएको बीबीसीले जनाएको छ।