एजेन्सी– भारतीय गृह मन्त्रालयले लकडाउनमा पालना गर्नुपर्ने निर्देशिका सार्वजनिक गरेको छ।
मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले ३ मेसम्म लकडाउन लम्ब्याउने घोषणा गरेका थिए। गृह मन्त्रालयले बुधबार निर्देशिका सार्वजनिक गरेको हो।
निर्देशिकामा नागरिकको दैनिकीलाई ध्यानमा राखेर केही कामका लागि छुट दिइएको छ। खेती, पशुपालन, बैंक, जरुरी सामान किन्न आवातजावत, कुरियर सर्भिस, होटललगायतका सेवामूलक क्षेत्रमा छुट दिने निर्देशिकामा उल्लेख गरिएको छ।
भारतमा बुधबारसम्म ११ हजार ४ सय ३९ जना मानिस कोरोना भाइरसबाट संक्रमित छन् भने ३ सय ७६ जनाको मृत्यु भइसकेको छ। १ हजार ३ सय ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भारतले सबै जिल्लालाई ३ तहमा वर्गिकरण गरेको छ। अतिजोखिम, कम जोखिम र सामान्य (हटस्पट, नन हटस्पट र ग्रिन जोन)। १ सय ७० वटा जिल्लालाई हटस्पट जिल्लामा राखेको छ। यहाँका जनतालाई सरकारले सार्वजनिक गरेको निर्देशिकामा उल्लेखित छुटहरु दिइएको छैन। २० अप्रिलसम्म त्यहाँका नागरिक पुरा लकडाउनको अवस्थामा बस्नुपर्नेछ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सामुदायिक तहमा कोरोनाको संक्रमण फैलिएको छैन।