एजेन्सी – कोरोना भाइरस (कोभिड १९)लाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको एक महिना पुगेको छ। पहिलो पटक चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ८ हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने १७ लाख भन्दा बढी मानिस संक्रमित भएका छन्। जोन हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म ४ लाखभन्दा बढी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
कोरोना भाइरस संक्रमक रोग हो। विश्वमा अहिलेसम्म यसको औषधि पत्ता लागेको छैन।
एक महिनामा घटेका घटनाहरु
संसारभर संक्रमित र मुत्यु हुनेको संख्यामा बढोत्तरी
विश्व स्वास्थ्य संगठनले कोभिड १९ लाई मार्च ११ मा महामारी घोषण गरेको थियो।
त्यति बेलामा संसारभर संक्रमितको संख्या १ लाख १८ हजार थियो भने अहिले बढेर १७ लाख नाघेको छ। त्यस्तै कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ हजार ३ सय थियो भने एक महिनामा यो संख्या बढेर १ लाख ८ हजार नाघेको छ।
चीनमा संक्रमणमा कमी
कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोना भाइरसको संक्रमण घट्दै गएको छ। चीन सरकारले जनवरीदेखि सबैभन्दा कम कोरोना संक्रमितको भएको तथ्यांक सार्वजनिक गरेको छ। १८ मार्चका दिन चीनमा कुनै पनि मानिसमा कोरोना संक्रमण भेटिएन भने अप्रिल ७ मा कुनै मानिसको मुत्यु भएन।
चीनको वुहान सहर जुन कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हो, त्यहाँको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ। सरकारले जनावरी अन्तिमदेखि लागू गरेको लकडाउन पूर्ण रुपमा खुला गरिसकेको छ।
युरोप नयाँ केन्द्रविन्दु बन्दै, अमेरिकामा बढ्दो
कोरोना भाइरसको महामारीको केन्द्र यतिबेला युरोप बनेको छ। चीनमा देखापरेको लामो समयपछि मात्र युरोपमा फैलिएको कोरोनाको इपिसेन्टर अहिले युरोप र अमेरिका बनेको छ। युरोपेली मुलुकहरु स्पेन, इटाली, फ्रान्स र जर्मनीमा कोरोना संक्रमण बढ्दो छ। यी चारै युरोपेली राष्ट्रहरुमा चीनभन्दा बढी कोरोना संक्रमित भेटिनुकासाथै मृत्यु हुनेको संख्या पनि बढ्दो छ। स्पेन, इटाली र फ्रान्समा मर्नेको संख्या एसियाली राष्ट्रको भन्दा चार गुणा बढी रहेको छ।
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित र मुत्यु हुने संख्या सबैभन्दा बढी छ। अमेरिकामा ५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २० हजार मानिसको मुत्यु भइसकेको छ। सबैभन्दा बढी मानिस संक्रमित अमेरिकामा भएकोले डब्लुएचओले कोरोना भाइरसको नयाँ केन्द्रविन्दु अमेरिका बन्ने चेतावनी दिएको छ।
धेरै लकडाउन र प्रतिबन्ध
कोरोना भाइरस फैलिने डरले धेरै देशले लकडाउन, कप्mर्यु र सीमानाकाहरु बन्द गरेका छन्। संक्रमण फैलिएर मानिसको मृत्यु हुने संख्या बढ्दै गएपछि अमेरिका र जापनले आपतकालीन घोषणा गरेका छन्।
अमेरिकाले सबै राज्य र स्थानप्य सरकारलाई कोरोनाको महामारीसँग लड्न ५० बिलियन डलर निशुल्क दिने घोषणा गरिसकेको छ भने जापानले ९ सय ९ बिलियन डलर बराबरको प्रोत्साहन प्याकेजको घोषण गरेको छ।
भारत, नेपाल, टर्की, साउदी अरब, ट्युनिसिया र जोर्डनलगायत अधिकांश मुलुकमा लकडाउनको अवस्थामा छ।
निशानामा डब्लुएचओ
डब्लुएचओले कोरोना भाइरसको महामारीको बेलामा आलोचना खेप्नु परेको छ। अमेरिकी राष्ट्रपतिले विश्व स्वास्थ्य संगठनलाई चाइना केन्द्रीत भएको भन्दै सार्वजनिक आलोचना गरका थिए। उनले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने चेतावनीसमेत दिएका थिए। डब्लुएचओले समयमै कोरोना भाइरसबारे जानकारी नदिएको आरोप ट्रम्पले लगाएका थिए। तर डब्लुएचओका अधिकारीहरुले भने अमेरिकी राष्ट्रपतिको भनाइको खण्डन गरेका छन्। ट्रम्पले महामारीलाई राजनीतिकरण गर्न खोजेको डब्लुएचओका अधिकारीको आरोप छ।
-अलजजिरामा प्रकाशित यो सामाग्री सिर्जना खत्रीले भावानुवाद गरेकी हुन्।