काठमाडाैं- कोरोना भाइरस भ्याक्सिन वा असरदार औषधि उपचारविना निर्मुल पार्न सकिँदैन, यो भनाइ हो ह्वाइट हाउसका कोरोना टास्क फोर्सका डा एन्थनी फाउचीको। सोमबार गरेकाे पत्रकार सम्मेलनमा फाउचीले भ्याक्सिनविना कोरोना भाइरस ठीक नहुने दावी गरेका हुन्। ‘कोरोना भाइरस फैलनुभन्दा पहिला अमेरिका जुन अवस्थामा थियो सायद अब कहिल्यै पुग्दैन होला,’ फाउचीले भने, 'यदि छिट्टै कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेन भने यो निश्चित कुरा हो।’
जोन हप्किङ्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा ३ लाख ६८ हजार २ सय जनामा कोरोनाकाे संक्रमण पाइएकाे छ। करिव ११ हजार मानिसले काेराेनाका कारण ज्यान गुमाइसकेका छन्।
कोरोना भाइरसको डरका कारण विश्वभरको व्यापार र सामाजिक जीवन नराम्रोसँग प्रभावित भएको छ। विश्वका २११ देशमा भाइरस फैलिएको छ। १३ लाख ४७ हजार ८ सय ९२ संक्रमित भएका छन् भने ७५ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।
अधिकांश देशले कोरोनाकाे संक्रमण फैलिन रोक्न लकडाउनलगायतका उपाय अवलम्बन गरिरहेका छन्। अमेरिकाका कयौै राज्यमा कोरोना भाइरसको संक्रमण रोक्न सोशल डिस्टेन्स र अन्य तरिकाहरु पनि अवलम्बन गरिएको छ।
खराव अवस्थामा अमेरिका
डा एन्थनी फाउची देशको शीर्ष संक्रामक रोग विशेषज्ञ हुन्। उनी नेशनल इन्सिटच्युट अफ इन्फेटक्स डिजिजका निर्देशकसमेत रहेका छन्।
पत्रकारसँगको कुराकानीमा उनलाई विना भ्याक्सिन कोरोना भाइरसको उपचार सम्भव छ? भनी प्रश्न सोधिएको थियो। जवाफमा उनले अहिलेसम्म यो सम्भव नभएको बताए। अहिलेको मुख्य चुनौती भनेकै यो जनसंख्यालाई कसरी बचाउने भन्ने भएको उनको तर्क थियो।
‘हामी अहिले सामान्य अवस्थामा छैनौं, सामान्य हुँदो हो त यसको खोजी हुँदैन थियो होला,’ उनले भने, ‘अहिले हामी निकै खराव अवस्थामा छौं, त्यसैले भ्याक्सिनकोे आवश्यकता छ।’ डा फाउचीले छिट्टै कोरोना भाइरसको भ्याक्सिन बन्नेमा आफू आशावादी रहेको बताए। उक्त भ्याक्सिनपछि अहिलेको जस्तो अवस्था आउन नदिनेतर्फ सबै सचेत हुने उनले बताए।
कोरोना भाइरसको भ्याक्सिन बनाउन विश्वका वैज्ञानिकहरुले प्रयास गरिरहेका छन्। अहिलेसम्म कसैलाई पनि यसको सफलता भने मिलेको छैन।
कोरोना भाइरस सिजनल हो?
खतरा सधैं रहेको भन्दै उनले भनेका छन्, यदि अहिले सामान्य अवस्था थियो भने ‘कोरोना भाइरसको त्रास फैलिँदैन थियो र भविष्यमा पनि हुने खतरा महसुस हुँदैन थियो।’ केही समयपछि भ्याक्सिन उत्पादन हुने र अहिलेको खराव अवस्था अन्त्य गर्दै यसलाई फेरि हुनबाट रोक्न सकिने उनले बताए। तर, समयभन्दा पहिले नै जितको उत्सव मनाउन भने नसकिने उनकाे भनाइ छ।
अमेरिकामा न्युयोर्क कोरोना भाइरसको हट स्पट बनेको छ। यसबीचमा आशाका केही किरणहरु देखिएका छन्। नयाँ संक्रमितको संख्यामा कमी आएको छ भने अस्पतालबाट निको भएर फर्कनेको संख्यामा पनि वृद्धी भएको छ।
डा फाउचीले कोरोना भाइरस हालसम्म मौसमी राेग नभएकाे तर हुनसक्ने खतरा भने कायम रहेको बताए। यसलाई पृथ्वीबाटै पुरै नष्ट गर्न भने सम्भव नभएको उनले बताए। उनले अमेरिकामा अर्को सिजनमा पनि यो फ्लुको महामारी पुनः दोहोरिन सक्ने स्वीकार गरे।