काठमाडौं– आयरल्याण्डका प्रधानमन्त्री डा लियो वराडकर काेराेना भाइरसविरुद्धको लडाईंमा स्वाथ्यकर्मीलाई हौसला प्रदान गर्न हप्तामा एक दिन अस्पताल गएर काम गर्ने भएका छन्। चिकित्सकसमेत रहेका उनले एक स्वास्थ्यसम्बन्धी संस्थान ‘हेल्थ सर्भिस एक्जक्युटिभ’मा गएर चिकित्सा सेवा प्रदान गर्ने उनको कार्यालयका प्रवक्ताले आइतबार बताएको दी गार्जियनले उल्लेख गरेको छ।
‘गत महिना डा वराडकर मेडिकल रिजस्टरमा जोडिनु भएको थियो,’ उनका प्रवक्ताले गार्जियनसँग भनेका छन्, ‘साताको एक दिन उहाँले आफूले अभ्यास गरेको क्षेत्रमा सेवा प्रदान गर्नुहुन्छ।’ उनले थपे, ‘उहाँका परिवारका धेरै सदस्य स्वास्थ्य सेवामा काम गरिरहनु भएको छ। उहाँले सानो रुपमा भए पनि सहयोग गर्न चाहानुहुन्छ।’
४१ वर्षीय वराडकरले डब्लिनमा कनिष्ठ चिकित्सकका रुपमा काम गरेका थिए। मेडिलक क्षेत्र त्यागेर पूर्णकालीन राजनीतिज्ञ बन्नुअघि सन् २०१० मा उनी ‘जनरल प्रायाक्टिसनर’का रुपमा योग्य भएका थिए। उनका बुवा एक चिकित्सक हुन भने आमा नर्स हुन्। उनकी श्रमती मुटु रोग विशेषज्ञ हुन्।