एजेन्सी– कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषय समेटिएको प्याकेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । दुवै सदनबाट पारित भएलगत्तै राष्ट्रपति ट्रम्पले यसमा हस्ताक्षर गरेका हुन् । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालीन राहत प्याकेज हो।
२ ट्रिलियन अमेरिकी डलरको यो प्याकेजमा एकजना करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ वर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ। वार्षिक ७५ हजारभन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ । यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी वार्षिक १ लाख ५० हजार भन्दा कम छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन्।
७५ हजारभन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा हरेक एकसय डलर बढी आम्दानीमा ५ डलर घटाउँदै लगिनेछ। ९९ हजारसम्म आम्दानी हुनेलेमात्र रकम प्राप्त गर्नेछन्, जसअनुसार कसैको ८० हजार आम्दानी छ भने उसले ९५० प्राप्त गर्नेछ भने ९० हजार आम्दानी हुनेले ४५० प्राप्त गर्नेछ ।