लखनउ (भारत)– पूरै सहरका भिभिआइपीहरुलाई सेल्फ आइसोलेसनमा बस्न बाध्य पारेकी गायिका कनिका कपुर अब अस्पतालका लागि पनि टाउको दुखाइको कारण बनेकी छन्।
कोरोना भाइरस संक्रमित भएर उनी शुक्रबारदेखि लखनउको सञ्जय गान्धी पिजिआई अस्पतालमा भर्ना भएकी छन्। उनलाई भर्ना गरेलगत्तै अस्पताललाई थप तनाव समेत व्यहोर्नु परेको छ। उनलाई भर्ना गरेको भोलिपल्टैबाट अस्पतालले एक विज्ञप्ति जारी गर्दै कनिकासँगै सहयोग माग्ने अवस्था आएको छ।
एसजिपिजिआई अस्पतालले जारी गरेको प्रेस रिलिजमा उनलाई एक बिरामीको रूपमा मात्र नभई एक स्टारको रुपमा पनि अस्पतालले उपचार र व्यवहार गरिरहेको स्पष्ट पार्न पर्यो।
पिजिआईका निर्देशक प्रोफेसर आर के धीमानले कनिका सेलिब्रेटी भएकाले स्वभाविक रूपमा अस्पतालमा तनाव थपिएको बताए।
‘हामीले उनलाई सबै सुविधा उपलब्ध गराएका छौं, उनलाई एयर कन्डिसन रुममा राखिएको र एक शौचालयको पनि व्यवस्था गरिएको छ,’ प्रोफेसर धीमनले भने, ‘सफाईको हरसमयमा ध्यान राखिएको छ। टेलिभिजनको सुविधा पनि उपलब्ध गराइएको छ।’
स्टार व्यक्ति अस्पतालमा भर्ना भएर चौतर्फी रूपमा सञ्चार माध्यम र अन्य चासो पनि वृद्धि हुँदा अस्पतालमा बिरामीको उपचारमा समस्या हुने उनको अनुभव छ।
‘पहिला उनले घरको खाना खाने प्रेसर गरेकी थिइन् तर यो बिरामीका लागि अन्य व्यक्ति वा मान्छे भेट्न सम्भव नभएकाले रोकियो,’ उनले भने, ‘हाल उनको इच्छा अनुसार ग्लुटन फ्री–फुड दिइरहेको छ। यसमा बेग्लै किचनमा पकाउने समेत गरिएको छ,' आगामी दिनमा पनि यस्तै रेखदेख गर्ने प्रतिबद्धता अस्पतालको छ तर उनले सोच्न जरुरी छ कि यो अस्पताल हो र उनी एक स्टार नभई बिरामी हुन्।’
'अपराधीजस्तो व्यवहार भयो'
कनिका कपुरले एक सञ्चार माध्यमसँगको कुराकानीमा पिजिआई अस्पतालमा आफूमाथि एक अपराधीजस्तो व्यवहार भएको भनेकी थिइन्। उनले आफूलाई राखेको कक्ष साह्रै फोहोर र लामखुट्टे धेरै भएको उनले बताएकी थिइन्। डाक्टरलाई उनले रुम सफा गर्न भनिन्। तर डाक्टरले उनलाई यो अस्पताल हो कुनै फाइभ स्टार होटल होइन भनी जवाफ दिएका थिए।
यो प्रकरणमा बिबिसीले परिवारसँग कुराकानी गर्ने प्रयास गरेको थियो तर सम्पर्कमा आउन चाहेनन्। कनिकाले सोसल मिडियामा राखेको आरोप भाइरल भएपछि अस्पताल प्रशासन झन् तनावमा आएको छ।
कनिकाको कारण अस्पतालले पटक–पटक स्पष्टीकरण जारी गरिरहनु परेको छ। पिजिआईका एक वरिष्ठ डाक्टरका अनुसार कनिकालाई विशेष सुविधा दिन ठूला मानिसहरूले अस्पतालमा दबाब सिर्जना गरिरहेका छन्।
के हो घटना?
गायिका कनिका कपुर एकाएक शुक्रबार समाचारको चर्चामा आइन्। उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको र अस्पताल भर्ना भएका खबरसँगै उनी चर्चा र खोजीको सुचीमा ह्वात्तै माथि उक्लिइन्। त्यस्तै उनी विवादमा पनि आइन्। अस्पतालबाट रिपोर्ट पोजेटिभ आउनु अघि उनी लखनउ र कानुनमा कैयौं सार्वजनिक कार्यक्रममा भाग लिएपछि उनी विवादमा पनि परिन्। कोरोना भाइरसका कारण आइसोलेसनमा बस्नुपर्नेमा उनी उच्च व्यक्तिहरु र सर्वसाधारणको भीड हुने सार्वजनिक कार्यक्रम र पार्टीमा सहभागी भएपछि उनी विरुद्ध प्रहरीमा जाहेरी समेत दर्ता भएको छ।
लखनउमा भएको एक पार्टीमा राजस्थानका पूर्व मुख्यमन्त्री बसुन्धरा राजे र उनका सांसद छोरा दुष्यन्त सिंह, युपीका स्वास्थ्यमन्त्री जयप्रताप सिंहलगायतका हाइप्रोफाइलसँग उनले हिमचिम गरेकी थिइन्। उनलाई कोरोना संक्रमण भएको पत्ता पाएपछि उनीहरू आफैं पनि स्वयं सेल्फ क्वारेनटाइनमा बसेका छन्। कनिकालाई कोरोना भएको खवर एकछिनमा फैलियो र लखनउमा हलचल नै ल्यायो। उनीसँग जो मानिस सम्पर्कमा थिए, उनीहरू अन्य सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका थिए। लापरबाही गरेको र जानकारी लुकाएको भन्दै उनीविरुद्ध प्रहरीमा जाहेरी परेको र अनुसन्धान भइरहेको छ।
उनले सामाजिक सञ्जालमा सफाइ दिँदै विमानस्थलवाट आफू नियमित चेकजाँच गरेर आएको जब आफूमा बिरामीको लक्षण देखियो। उनले परीक्षण गरेर परिवारलाई नै आफैं आइसोलेसनमा राखेको जिकिर गरेकी छन्। यो प्रकरण सार्वजनिक भएलगत्तै लखनउको कयौं बजार, शहर र संस्थानमा २३ मार्चसम्मका लागि बन्द गरिएको छ। यस बाहेक सबै होटल, ढावा क्याफेहरु पनि ३१ मार्चसम्मका लागि बन्द गरिएको छ।