काठमाडाैं- चीनबाट सुरु भएकाे कोरोना भाइरसको सङ्क्रमण पछिल्लाे समय युराेपमा फैलिएकाे छ। कोरोनाका कारण युरोपका अधिकांश देश बन्दजस्तै भएका छन्। युरोपमा कोरोना सन्क्रमितको संख्या ६१ हजार ९३८ पुगिसकेको छ भने २ हजार ७८६ जनाको मृत्यु भएकोछ।
चीनपछि युरोपको इटाली सबैभन्दा बढी कोरोनाको संकटमा परेको छ। इटालीमा २७ हजार ९८० जनामा कोरोनाको संक्रमण देखिएको छ। २ हजार १५८ जनाको मृत्यु भइसकेको छ। इटालीमा विगत २४ घण्टामा ३ सय ४९ जनाको ज्यान गएको छ।
युरोपमा इटालीपछि स्पेनमा कोरोनाकाे संक्रमण बढी देखिएको छ। स्पेनमा ९ हजार ९४२ जनामा संक्रमण देखिएको छ भने ३४२ जनाको मृत्यु भइसकेको छ। स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको पनि काेराेनाका कारण मृत्यु भएको छ।
यसैगरी जर्मनीमा ७ हजार २७२, फ्रान्समा ६ हजार ६५३, बेलायतमा १ हजार ५४३, नेदरल्यान्डमा १ हजार ४१३, स्विडेनमा १ हजार १२१, बेल्जियममा १ हजार ८५ र अस्ट्रियामा १ हजार १८ जनामा संक्रमण देखिएकाे छ। युरोपका अन्य मुलुकमा १००० भन्दा कम मानिसमा काेराेनाकाे संक्रमण देखिएको छ।
हालसम्म १ लाख ८२ हजार २ सय ४२ जनामा कोरोना संक्रमण भएकाे पुष्टि भएको छ भने ७ हजार १२७ जनाको मृत्यु भइसकेकाे छ। संक्रमितमध्ये ७८ हजार २७७ जना बिरामीको सफल उपचार भएको छ।
संक्रमण फैलिन नदिन प्रयास
चीनबाट फैलिएको कोरोना भाइरस महामारीको केन्द्रबिन्दु युरोप भएपछि युरोपभरि विभिन्न उपायहरु अबलम्बन गरिएका छन्। काेराेनाकाे संक्रमण ह्वात्तै बढेपछि उनीहरुले नियन्त्रणका लागि विभिन्न प्रतिबन्धहरु पनि लागू गरेका छन्।
काेराेना महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप युरोपका देशहरूले नागरिकहरुको हिँडडुलमा प्रतिबन्ध लगाएका छन्।
स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।
इटालीमा पनि साेमबारदेखि देशव्यापी प्रतिबन्ध लागू गरिएको छ। इटालीभरि मानिसहरूको आउजाउमा प्रतिबन्ध लगाइएकाे छ। त्यहाँ खाद्यान्न र औषधि पसलबाहेक अन्य सबै व्यावसायिक केन्द्र बन्द छन्। विद्यालय, व्यायामशाला, सङ्ग्रहालय, रात्रिक्लब र अन्य स्थान त्यसअघि नै बन्द गरिएको छ। काेरोनाका कारण इटालीका ६ करोड मानिस घरमै बसेका छन्।
फ्रान्समा क्याफे, रेस्टुराँ, चलचित्रघर र अधिकांश पसलहरू बन्द भएका छन्। युराेपेली देशमा सीमामा पनि कडाइ गरेका छन्।
जर्मनीले फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, डेनमार्क र लक्सम्बर्गसँगको सीमामा कडाइ गरेकाे छ भने पोर्चुगलले पनि स्पेनसँगको सीमामा कडाइ गरेकाे छ।
चेक सरकारले अत्यावश्यक बाहेक हिँडडुलमा प्रतिबन्ध लगाएको छ। अस्ट्रियामा पाँच जनाभन्दा बढी मानिस भेला हुन राेक लगाइएकाे छ। रिपब्लिक अफ आयरल्यान्डमा मार्च २९ सम्म सबै मदिरालय बन्द गर्न निर्देशन दिइएको छ।
यो पनि :