काठमाडौं– युरोप क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि स्पेन र फ्रान्सले आपत्कालीन प्रतिबन्धहरू घोषणा गरेका छन्। बिबिसीका अनुसार युरोप क्षेत्रमा धेरै संक्रमण फैलिरहेको इटलीको अनुसरण गर्दै दुई देशले आइतबार कोरोनाभाइरस महामारी फैलिन नदिने उद्देश्यले त्यस्ता प्रतिबन्ध घोषणा गरेका हुन्।
सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन स्पेनले प्रतिबन्ध लगाएको छ।
फ्रान्समा शनिबार रातिदेखि रेस्टुराँ, क्याफे, चलचित्रघर र रात्रिक्लब तथा अत्यावश्यकबाहेकका व्यवसायहरू बन्द भएका छन्। तर, खाद्यपदार्थ बेच्ने पसल, औषधि पसल, ब्याङ्क, चुरोट पसल र इन्धन बेच्ने स्थानहरू भने खुल्नेछन्।
स्पेनमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट १९१ जनाको मृत्यु भइसकेको छ। त्यस्तै फ्रान्समा ९१ जनाको मृत्यु भएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोप अहिले कोरोनाभाइरस माहमारीको केन्द्रबिन्दु घोषणा गरेको छ। पछिल्लो विवरणअनुसार विश्वभर कोरोना भाइरसबाट ५ हजार ८ सय ३९ को मत्यु भएको छ भने संक्रमित हुनेहरुको संख्या १ लाख ५६ हजार ७ सय ३८ पुगेको छ।