एजेन्सी–अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई कोरोना भाइरस संक्रमण भएको छ। एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई भाइरस संक्रमण भएको जानकारी दिएका हुन्।
मन्त्री डट्टनले बिहान उठ्दा शरीर तातेको र घाँटी खराब भएको पाएपछि तत्काल क्विन्स्ल्याण्डको स्वास्थ्य विभागमा सम्पर्क गरेर कोभिड १९ परीक्षण गराएको र साँझ परीक्षण पोजिटिभ आएको जनाएका छन्
भाइरस परीक्षण पोजिटिभ आएकाहरुले अस्पताल बस्नुपर्ने क्विन्सल्याण्ड स्वास्थ्य विभागको नीति भएकाले आफूले त्यसैअनुसार गरेको पनि उनले जनाएका छन्।
उनले आफूले सहज नै महसुस गरेको र स्वास्थ्यको अपडेट गराइरहने पनि जनाएका छन्।
उनी हालै अमेरिका भ्रमण गरेर फर्किएका थिए।
अस्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या २ सय नाघेको छ भने प्रधानमन्त्री स्कट मोरिसनले संक्रमण फैलन नदिन ५ सयभन्दा बढी संख्यामा मानिसहरु भेला हुन नदिने जनाएका छन्। यस्तै अनावश्यक रुपमा विदेश भ्रमण नगर्न पनि सुझाव दिइएको छ।