काठमाडौं– विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलँदै गएपछि सूचना तथा प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने विभिन्न कम्पनीहरुले यसको संक्रमण फैलिन नदिन आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न सिफारिस गरेका छन्।
चर्चित सर्च इन्जिन गुगलको मातृ कम्पनी अल्फाबेटले कोरोना भाइरस संक्रमण फैलिन नदिन उत्तर अमेरिका महादेश क्षेत्रका आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न सिफारिस गरेको छ।
समाचार संस्था सिएनएनका अनुसार आउँदो अप्रिल १० देखि उक्त कम्पनी अन्तर्गतको गुगलका कर्मचारीले कार्यालय नआई घरबाटै काम गर्न सक्ने छन् ।
‘अल्फाबेट कम्पनी र समुदायको सुरक्षाका लागि यदि तपाईंको भूमिकाले दिन्छ भने हामी तपाईंलाई घरमै बसेर काम गर्न सल्लाह दिन्छौं,’ गुगलका उपप्रमुख क्रिस र्याकोवले भनेका छन्।
सन् २०१९ को वार्षिक प्रतिवदेन अनुसार अल्फाबेट कम्पनीमा १ लाख २० हजार पूर्णकालीन कर्मचारी छन्। तर, तीमध्ये कति कर्मचारीले उत्तर अमेरिका महादेशमा काम गर्छन् भन्नेचाहिँ स्पस्ट छैन।
विभिन्न आइटी कम्पनीमध्ये आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न प्रोत्साहित गर्ने गुगल पहिलो हो। गत हप्ता गुगलका अलावा अमेजोन, माइक्रोसफ्ट र फेसबुकले घरबाटै काम गर्ने गरि व्यवस्थापन गर्न आफ्ना कर्मचारीलाई प्रोत्साहित गरेका छन्।
मध्य मे महिनामा आयोजना गर्ने तयारीमा रहेको गुगलले आफ्नो वार्षिक विकासकर्ता सम्मेलन रद्ध गर्न बाध्य भएको छ । अमेरिका र क्यानडामा रहेका गुगलका ११ कार्यालय यसबाट प्रभावित भएका छन्।
अमेजोनले मार्च अन्तिमसम्म घरबाटै काम गर्न आफ्ना कर्मचारीलाई सुझाएको छ। भाइरसका कारण आफ्ना एकजना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएपछि अमेजनले यस्तो निर्णय गरेको थियो। कोरोना संक्रमित अमेजनका ती कर्मचारी गत फ्रेब्रुअरी २५ देखि काममा फर्किएका छैनन्।
गुगलले कार्यालयमा आगन्तुकहरुलाई नल्याउन आफ्ना कर्मचारीलाई आग्रह गरेको छ।
फेसबुकले पनि आफ्ना ५ हजार कर्मचारीलाई कोरोना संक्रमण भएपछि मार्च ३१ सम्म घरबाटै काम गर्न आफ्ना कर्मचारीलाई आग्रह गरेको छ।
माइक्रोसफ्टले मार्च २५ देखि आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको छ। ट्वीटरका कार्यकारी अधिकृत ज्याक डोर्से सम्भव भए आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न सकेसम्म प्रोत्साहित गरिएको बताउँछन्।
कार्यालय सुरक्षित राख्ने डब्लुएचओका टिप्स
कोरोनाबाट सुरक्षित रहने उपाय आम चासोको विषय हो। घरमात्र नभएर कार्यलयमा समेत यसबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) केही उपायहरू सुझाएको छ। ती यस्ता छन् :
सतह (टेबल‚ डेस्क) र अन्य वस्तुहरूको किटाणुनाशक औषधिको प्रयोगद्वारा निरन्तर सफाइ गर्ने।
टेलिवर्क (इन्टरनेटको माध्यम) बाट काम गर्नका लागि प्रोत्साहित गर्ने। यदि तपाईको समुदायमा कोरोना भाइरसको संक्रमण देखिएमा सार्वजनिक स्थानका भीडमा नजाने। टेलिवर्क गर्नाले तपाईंका कर्मचारीहरू सुरक्षित स्थानमा रहेर पनि बिजनेस राम्रोसँग सञ्चालन हुन सक्छ।
तपाईंका कर्मचारीलाई भीडले भरिएका सवारी यात्रा‚ भीडमा नजानका लागि अनुरोध गर्ने।
यदि समुदाय वरिपरी कोरोनाको संक्रमण फैलन थालेको थाहा भएमा‚ सामान्य रुघा‚ खोकी र ज्वरो आएमा पनि घरमा एक्लै बस्ने।
कुनै व्यवसायिक यात्रामा निस्किनुअघि यात्रासम्बन्धी सरसल्लाह लिन सुझाउने।
श्वासप्रश्वासका लागि उचित वातावरणको व्यवस्था गर्ने। रुघाखोकी लगेका कर्मचारीका लागि सर्जिकल मास्क र टिस्यू पेपरहरू कार्यालयमा उपलब्ध छन्, छैनन् भन्नेबारे सचेत हुने।
निरन्तर हात धुनका लागि प्रोत्साहन गर्ने। कार्यालयमा सबैले देख्ने ठाउँमा स्यानिटाइजरजस्ता वस्तुहरू राख्ने। सबै कर्मचारी‚ ग्राहकहरूले देख्ने र प्रयोग गर्न मिल्ने ठाउँमा साबुन र पानी राख्ने।
कार्यालय सफासुग्घर राख्ने‚ निरन्तर हात धुनका लागि सबैलाई सचेत बनाउने‚ कुनै व्यवसायिक यात्रामा निस्किनुअघि यात्रासम्बन्धी सरसल्लाह लिने‚ जो बिरामी भएका छन् उनीहरूलाई घरमै बस्न सुझाव दिने।
(एजेन्सीको सहयोगमा)