एजेन्सी- चीनमा पछिल्लो समय नयाँ कोरोना भाइरस (कोभिड १९)को संक्रमण घट्दै गइरहेको छ। संक्रमण दर घट्दै गएको र संक्रमण भएका ७० प्रतिशत बिरामी निको भएपछि चीनले वुहानका १४ अस्थायी अस्पताल समेत बन्द गरेको छ।
चीनमा कोरोनाको संक्रमण देखिएपछि उनीहरुका लागि छुट्टै स्थानमा राखेर उपचार गर्नका लागि चीनले विभिन्न १६ सार्वजनिक स्थानमा अस्थायी अस्पताल बनाएको थियो। संक्रमणमा परेका बिरामी निको भएर घर फर्किएपछि चीनले अहिलेसम्म १४ वटा अस्थायी अस्पताल बन्द गरिसकेको छ।
अब बाँकी रहेका दुई वटा अस्थायी अस्पताल पनि मंगलबारसम्म बन्द गरिसक्ने चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन्।
कोभिड १९को उद्गमस्थल वुहान सहर हो। गत डिसेम्बरको अन्तिमबाट उक्त सहरमा कोरोना संक्रमण फैलिएको थियो। चीनमा हालसम्म ८० हजार ७ सय ५४ जनामा कोभिड १९ पुष्टि भइसकेको छ। पुष्टि भएकामध्ये ५९ हजार ९ सय ५ जना उपचारपछि निको भएर घर फर्किसकेको बताइएको छ। १९ हजार १६ जना भने अझै अस्पतालमा उपचाररछ छन्। उनीहरु पनि निको भएर छिट्टै फर्कने तयारीमा रहेको चिनियाँ अधिकारी बताउँछन्।
चीनमा कोभिड १९ कारण कारण हालसम्म ३ हजार १ सय २३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।