एजेन्सी- कोरोना भाइरस (कोभिड-१९)ले विश्व नै त्रसित बनिरहेको छ। यसैक्रममा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न इटालीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। काेराेनाकाे संक्रमणलाई ध्यानमा राखेर विभिन्न संक्रमित सहरहरूमा सवारी प्रतिबन्ध लगाएको इटाली सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।
बीबीसीका अनुसार इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। प्रधानमन्त्रीले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाको निम्ति उक्त कदम उठाइएको बताए। आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, 'अब हामीसँग धेरै समय छैन।' प्रधानमन्त्री कोन्टेले इटालीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए।
सोमबार इटालीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको छ। इटालीमा चीनपछि सर्वाधिक मानिस सङ्क्रमित भएका छन्। आधिकारिक तथ्याङ्कानुसार आइतवार सङ्क्रमित मानिसको सङ्ख्या पनि २४ प्रतिशतले बढेको छ।
इटालीमा विद्यालय र विश्वविद्यालयहरू अप्रिल ३ तारिख सम्मका निम्ति बन्द गरिएका छन्। प्रधानमन्त्रीले देशव्यापी रूपमा फुटबललगायतका सबै खेल स्थगित गरिएको जानकारी दिए।