नयाँ दिल्ली- भारतको केरलामा कोरोना भाइरसका संक्रमण भएका बिरामीको संख्या पाँच पुगको छ। योसँगै भारतमा संक्रमितको संख्या ४३ पुगेको छ। गत महिना इटलीबाट आएका केरलाका एक दम्पती र उनीहरुको छोरो र आफन्तहरुको जाँचमा कोरना भाइरस संक्रमण भएको पाइएको थियो।
केरला प्रशासनले आफ्नो यात्रा र संक्रमण जानकारी लुकाउनेहरुमाथि कडा कारबाही हुने चेतावनी दिइसकेको छ।
केरलाका स्वास्थ्यमन्त्री शैलजाले एक परिवारबाट कोरोना संक्रमण फैलिएको घटनापछि राज्यमा अतिरिक्त सतर्कता अपनाइएको दाबी गरिन्। राज्यलाई हाई अर्लटमा राखिएको पनि उनले बताइन्। एक साता पहिले इटालीबाट फर्किएका दम्पत्ति विमानस्थलको स्वास्थ्य जाँचबाट बँचेर घरमा आइपुगेका थिए। उनीहरुका पछि परिक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएको थियो।
उनीहरुले घरमा फर्के लगत्तै घरमा एक पार्टीको आयोजना गरेका थिए। उक्त पार्टीमा सहभागी भएका व्यक्तिमा भाइरस संक्रमण भएको आशंका गरिएको थियो।
पश्चिम बंगलामा एक व्यक्तिको शंकास्पद मृत्यु
भारतको पश्चिम बंगाल राज्यको मुर्शिदावाद जिल्लाको एक अस्पतालमा आइसोलेसन वार्डमा भर्ना भएका बिरामीको मृत्यु भएपछि कोरोना भाइरस भएको शंका गरिएको छ।
उनी साउदी अरवबाट फर्केका थिए। उनले कोरोना भाइरस भएको आशंकामा अस्पताल भर्ना भएका थिए। ज्वरो, रुघा खोकी देखापरेपछि उनी अस्पताल भर्ना भएका थिए। स्वास्थ्य सेवा निर्देशक अजय चक्रवर्तीले हकको नमुना जाँचको रिर्पोट आउन बाँकी भएकाले कोरोना नै भएको भन्न नसकिने बताए।
उनले गम्भीर रुपमा मधुमेहको रोगी भएको कारण मृत्यु भएको हुनसक्ने बताए। उनी मुर्शिदावाद मेडिकल कलेजको अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएलगत्तै उनलाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको थियो।