एजेन्सी- कोरोना भाइरसका संक्रिमत र त्यसबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले लोम्बार्डी क्षेत्रसहित देशका १४ प्रान्तका मानिसहरुलाई आवातजावतमा प्रतिबन्ध लगाएको छ। विदेशी पर्यटकलाई रोक लगाएकाे इटालीले देशभित्रैका प्रान्तहरुमा पनि एउटाबाट अर्काेमा जान रोक लगाएको हो।
इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले अप्रिलको पहिलो सातासम्म यो रोक लागू हुने बताए। ३ अप्रिलसम्म सरकारले बाहिरका मानिसहरुलाई आउजाउ गर्न प्रतिबन्ध लगाएको हाे। इटाली सरकारको यो निर्णयबाट १ करोड ६० लाख मानिसहरूको आवातजावतमा रोक लाग्ने छ। १ करोड ६० लाख मानिसहरूलाई क्वारेन्टाइनमा राखिएकाे प्रधानमन्त्रीलाई उदृत गर्दै बिबिसीले जनाएकाे छ।
कोरोना भाइरसबाट इटाली चीनपछि सबैभन्दा बढी प्रभावित देश भएको छ। कोरना भाइरसका कारण शनिबारसम्म इटालीमा २३३ जनाले ज्यान गुमाएका छन्। कोरनाबाट १२४७ जना गम्भीर संक्रमणमा रहेको र हालसम्म ५८८३ जनामा यो संक्रमण फैलिएको आँकलन गरिएको छ। इटली चीनपछिको सबैभन्दा धेरै कोरनाका कारण मृत्यु हुने देश पनि भएको छ। चीन र दक्षिण कोरियापछि इटाली सबैभन्दा धेरै संक्रमित भएको देश बनेको हाे।
इटालीको मिलान आसपासको लोम्बार्डी क्षेत्रसहित भेनिस पर्मा, रिमिनी सहरहरुमा थप संक्रमण फैलनबाट रोक्न क्वारेन्टाइन निर्माण गर्ने योजना सरकारले बनाएको थियाे।
मिलान इटालीको आर्थिक राजधानी हो। यहाँ १४ लाख मानिसको बासोबास छ। लोम्बार्डीमा १ करोड मानिसको बासोबास छ। बितेका २४ घण्टामा थप ५० जनाको ज्यान गएको बिबिसीले जनाएको छ। इटालीले लोमबार्डीको उत्तरी क्षेत्रसहित मिलान, भेनिस, पार्मा र मोडेनालाई आपतकालिन अवस्थामा बाहेकका लागि बन्द राख्ने निर्णय गरेको हो। यसबाट १६ मिलियन मानिसहरू प्रभावित हुनेछन्।
हालसम्म उत्तरी इटालीका करिब ५० हजार नागरिकलाई मात्र क्वारेन्टाइनमा राखिएको थियो। अब इटाली सरकारको योजनाअनुसार नाइट क्लब, जिम, स्विमिङ पुलहरू, म्यूजियम र स्की रिसोर्टहरू बन्द हुनेछन्।
यसैगरी सरकारले रेष्टुरेन्टहरू खोल्ने अनुमति भने दिएको छ। रेष्टुरेन्ट खोल्ने अनुमति दिएपनि ग्राहकहरू कम्तीमा एक मिटरको दुरीमा बस्नुपर्नेछ। सरकारले सम्भव हुँदाको अवस्थासम्म आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न भनेको छ र यसको उलघंन गर्नेलाई तीन महिनासम्म जेल हाल्ने चेतावनीसमेत दिएको छ।