एजेन्सी- कोरना भाइरसको फैलावटसँगै भारतको नयाँ दिल्लीमा केही निजी विद्यालयहरु बन्द गरिएको छ। नोएडाका दुई निजी विद्यालयले सूचना नै प्रकाशित गरेर केही दिनका लागि विद्यालय बिदा गरेको जानकारी दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। दुई विद्यालयले इमेल र बाट्सएपबाट म्यासेज पठाएर विद्यार्थीहरुलाई विद्यालय नपठाउन अभिभावकलाई आग्रह गरेका छन्।
संक्रमितको घरमै पार्टी भएपछि विद्यालय बन्द
दिल्लीमा जसलाई कोरना भाइरस लागेको घटना सार्वजनिक भयो, उक्त व्यक्तिका बच्चाहरु नाेएडाको स्कुलमा अध्ययनरत थिए। यही कुरालाई ख्यालमा राख्दै विद्यालयहरुले हाल बिदा दिएको बीबीसीले उल्लेख छ।
विदेशबाट फर्केका ती व्यक्तिले घरमा सानो पार्टीको आयोजना गरेका थिए। उक्त पार्टीमा पाँच परिवार र १० बच्चासमेत सहभागी थिए। त्यसको केही दिनमा उनीहरुका बच्चा विद्यालय गएका थिए। पार्टीपछि लिइएको नमूनामा ती व्यक्तिको रिर्पोट पोजेटिभ आएका थियो। यो घटनापछि अन्य अभिभावकहरु डराएका थिए। यही कुरालाई ख्याल गर्दै विद्यालयहरु केही समयमा लागि बन्द गरिएको हो।
नोएडा प्रशासनको तयारी
नोएडाका मुख्य चिकित्सा अधिकारी अनुराग भार्गवले कोरना एक व्यक्तिलाई भएको पुष्टि गरे। सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले उक्त व्यक्तिको जाँच पार्टी अघि नै भएको भएपनि रिपाेर्ट पाेजेटिभ भएकाे थाहा भने पछिमात्र लागेको बताए। ‘उनको रिर्पोट पार्टी सम्पन्न भएपछि मात्र आएको हो,’ भार्गवले भने, ‘यसरी पोजेटिभ रिपाेर्ट आएको जानकारी सबै सरकारी निकायमा गराइएको छ र विद्यालयले पनि थाहा पाएको थियो।’
संक्रमित व्यक्तिको घरमै पार्टी भएको र पाँच परिवार संलग्न भएकाले उक्त पार्टीमा सहभागी भएका १० बच्चाहरुको पनि नमूना लिइएको उनले बताए। उनीहरुको परीक्षण ल्याबमा भइरहेको र केही समयमा प्रतिवेदन आउने भार्गवले बताए।