एजेन्सी- काेराेना भाइरस (कोभिड १९)काे संक्रमणबाट अमेरिकाको वासिङ्टनमा थप चार जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ याे भाइरसकाे संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ।
मृत्यु हुने सबै वृद्ध र पहिल्यै स्वास्थमा समस्या रहेकाहरु छन्। मृत्यु भएका ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका छन्। सो क्षेत्रमा हालसम्म १८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएको छ। संक्रमण अझै फैलन सक्ने त्रास छ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका दुई व्यक्तिको अध्ययन गरेका अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि भाइरस फैलिएको आशंका गर्दै करिब १५ सय मानिहरुलाई संक्रमण भएको हुनसक्ने अनुमान गरेका छन्।
संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ। सोमबारबाट सियाटलका थप विद्यालयहरू बन्द गरिएका छन्।
अमेरिकामा हालसम्म वासिङ्टन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन्।