एजेन्सी- दक्षिण कोरियामा २ दिनमा ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमणकै कारण बिहीबार एक जनाको मृत्यु भएको छ।
संक्रमणका कारण क्विङदाओ डाइनाम अस्पतालमा उपचाररत ६३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। मंगलबार राजधानी सिओलदेखि ३०० किमी दक्षिण पश्चिमी सहर थेगुमा एकजना ६१ वर्षीया महिलामा संक्रमण देखिएको थियो। त्यसपछिका २ दिनमा बिहीबार दिउँसो ४ बजेसम्मको सरकारी तथ्याङकअनुसार कोरियामा भाइरस संक्रमितको संख्या ह्वात्तै बढेर १ सय ४ जना पुगेको छ।
यसैबीच, दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन्। उनले कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरे।
दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको थियो। टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरे।
कोरोना जीवाणुको सङ्क्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरु सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।