चीन- नोभेल कोरोना भाइरस अतिप्रभावित क्षेत्र मानिने चीनकाे वुहानमा सरकारले ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ। स्वास्थ्य अधिकारीले देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको जानकारी दिएका छन्।
उनीहरुमध्ये तीन हजार जना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले शुक्रबार बताए। बेईजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनका राम्रो क्षमता भएका चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई वुहानमा पढाइएको जानकारी दिए।
हुवेई प्रदेशको महत्वपूर्ण सहर वुहानमा सङ्क्रमण नियन्त्रणका लागि सबैभन्दा बढी ध्यान दिइएको उनको भनाइ छ।
चिकित्सककाे मृत्युबारे छानबिन हुने
राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक निरीक्षण समूह पठाउने निर्णय गरेको छ।
सञ्चारमाध्यमहरूले जनाएअनुसार चिकित्सक लीले सबैभन्दा पहिले वुहानमा नयाँ कोरोना भाइरस सङ्क्रमणले प्रकोपको स्वरूप लिने सम्भावना रहेको भन्दै यसप्रति विश्व स्वास्थ्य संगठन तथा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए। निरीक्षण समूह पठाउने निर्णयलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले अनुमोदन गरेको आयोगद्वारा शुक्रवार आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ।
वुहानको केन्द्रीय अस्पतालका नेत्र रोग विशेषज्ञ लीको डाक्टरको उत्तम प्रयासको बावजुद कोरोना भाइरस सङक्रमित भएपछि शुक्रवार बिहान मृत्यु भएको थियाे। राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रबार एक विज्ञप्तिमार्फत लीको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ।