काठमाडौं- जिन सम्पादन गरेर पहिलो पटक बच्चाको जन्माउन सफल भएका चिनियाँ वैज्ञानिक हि जियान्कुईलाई ३ वर्षको जेल सजाय हुने भएको छ।
जिन सम्पादन गरी दुई जना बच्चा जन्माएकोमा चिनियाँ अदालतले उनलाई ३ वर्ष कैद र ३० लाख युआन जरिवानाको फैसला सुनाएको हो।
जियान्कुईले सन् २०१८ जुनमा नै आफूले जिन सम्पादन गर्ने ‘क्रिस्पर् क्यास-९’ नामक नयाँ प्रविधीको माध्यमबाट दुईजना जुम्ल्याहा बच्चीमा सफल परिक्षण गरेका थिए।
चिनियाँ अदालतले उनले अवैधानिक रुपमा यस्तो कार्य गरेको ठहर गर्दै सो फैसला सुनाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।
अदालतले उनीसहित उक्त कार्यमा संलग्न अन्य दुई जनालाई सजायको फैसला सुनाएको छ। उनका सहयोगी जाङ रेन्लीलाई अदालतले १० लाख यूआन र २ वर्ष कैदको फैसला सुनाएको छ भने अर्का सहयोगी किन् जिन्जोउलाई ५ लाख यूआन र १८ महिना कैदको फैसला सुनाएको हो।
सिन्ह्वाका अनुसार अदालतले भनेको छ,‘यी तीन वैज्ञानिकले पैसा र प्रतिष्ठाका लागि विज्ञानको नियम र मर्यादा तोडे।’
अभियुक्तसँग कुनै पनि औषधी परिक्षण गर्न मिल्ने उचित सर्टिफिकेट नभएकाले उनीहरू चिनको ‘नेसनल रेगुलेसन्स इन साइन्टिफिक रिसर्च एण्ड मेडिकल ट्रिटमेन्ट’का नियमविरुद्ध गएकाले अदालतले सो फैसला सुनाएको जनाइएको छ।
अन्य देशका वैज्ञानिकहरूले पनि खोज गरेको तर परिक्षण गर्नबाट रोक लगाइएकाले उनीहरूले जिन सम्पादनको प्रयोग भने गरेका थिएनन्।
के थियो उनको दाबी?
जुम्ल्याहा बालिकामा एचआईभी सङ्क्रमण नहुने गुण विकसित हुनेगरी तिनको भ्रूणमा डीएनए परिवर्तन गरिएको दाबी ती वैज्ञानिकले गरेका थिए।
विवाद सिर्जना भएको केही दिनपछि युनिभर्सिटी अफ हङ्कङमा आयोजित 'ह्युमन जिनोम एडटिङ समिट' मा उनले पहिलोचोटि बोलेका थिए।
उनका अनुसार लुलु र नाना नाम राखिएका ती बालिकाहरू सामान्य रूपमै जन्मिएको र अहिले स्वस्थ भएको बताएका थिए।
उनीहरूलाई १८ वर्षसम्म निगरानीमा राख्ने योजना भएको समेत उनले सुनाएका थिए।
एचआइभीको सङ्क्रमण भएका पिता र नभएका आमासहितका आठवटा दम्पती स्वैच्छिक रूपमा त्यो प्रयोगका लागि तयार भएको उनको भनाइ थियो। तर पछि एक दम्पती भने सहभागी भएनन्।
उक्त समयमा आफ्नो अनुसन्धान एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्न पठाइएको दाबी उनले गरेका थिए।
उनका अनुसार सम्पादित जिन अर्थात् फेरिएको वंशाणुयुक्त भ्रूण भएको अर्को एउटा गर्भ प्रारम्भिक चरणमा रहेको थियो।
विवाद किन ?
जिन सम्पादन गर्न प्रयोग गरेको दाबी गरेको 'क्रिस्पर' नामक टुल सन् २०१२ मा विकसित गरिएको थियो।
यो प्रक्रियाअनुसार 'मलेक्युलर सिजर्ज' अर्थात् 'आणविक कैँची' प्रयोग गरेर डीएनएको निर्दिष्ट त्यान्द्रो काटी त्यसको स्थानमा अर्को टुक्रा राखिदिएर अथवा केही मिलाएर परिवर्तन गर्न सकिन्छ।
जिन सम्पादनबाट भ्रूणमा समस्याग्रस्त भाग काटेर वा फेरेर वंशाणुगत रोग रोक्न सकिन्छ।
तर भ्रूणको जिनोममा हेरफेर गर्दा जन्मिने बच्चामात्र नभएर तिनका सन्ततिमा पनि त्यस्तो परिवर्तन गरिएका वंशाणुहरू सर्ने भनेर विज्ञहरूले चिन्ता प्रकट गरेका थिए।
त्यसैले वैज्ञानिकहरूले हि जियान्कुईको घोषणाको आलोचनासमेत गरेका थिए।
सयौँ चिनियाँ वैज्ञानिकहरूले उनको अनुसन्धानको निन्दा गर्दै र आफूहरू त्यसको विपक्षमा रहेको जनाउँदै हस्ताक्षर गरेर एउटा पत्र सामाजिक सञ्जालमा प्रेषित गरेका थिए।
युनिभर्सिटी अफ अक्स्फोर्डमा कार्यरत एथिक्स अर्थात् नैतिक मूल्यमान्यताका विशेषज्ञ जुलियन स्याभलेस्कू भन्छन्, ‘यदि सत्य हो भने यो प्रयोग दानवीय छ। जिन सम्पादन आफैँमा प्रयोगात्मक छ र अझै पनि यससँग अनपेक्षित म्युटेशन (आनुवंशिक विकृति) जोडिन्छन्।’
उनका अनुसार कृत्रिम रूपमा जिन सम्पादन गर्दा क्यान्सरलगायत अन्य आनुवंशिक समस्या उत्पन्न हुनसक्छ।
धेरै देशमा प्रजननका लागि मानिसमा जिन सम्पादन गर्न पाइँदैन।
कृत्रिम गर्भाधान गराउन तयार पारिएको भए पनि पछि परित्याग गरिएका भ्रूणमा वैज्ञानिकहरूले जिन सम्पादनको प्रयोग गर्न पाउँछन्। तर तिनबाट बच्चा विकास नगराई तुरुन्तै नाश गर्नुपर्छ।