एजेन्सी- जापानको एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई धुम्रपान त्याग्न ६ दिन अतिरिक्त बिदा दिने याेजना अघि सारेकाे छ। यो योजना कम्पनीको नीतिमा समावेश गरिएको छ। कर्मचारीहरुले चुरोट पिउनका लागि लिएकाे समयका विषयमा कुरा उठेपछि कम्पनीले यस्ताे याेजना बनाएकाे हाे।
टोकियाेस्थित मार्केटिङ फर्म पिआला आइएनसीकाे कार्यालय भवनकाे २९औं तलामा रहेकाे छ। कम्पनीका कर्मचारीहरु चुराेट पिउनका लागि तल्लाे तलामा आउनुपर्छ। यसका लागि करिब १५ मिनेटकाे समय लाग्दछ। जसका कारण कर्मचारीहरु असन्तुष्ट थिए। धुम्रपान नगर्ने कर्मचारीहरुले यसमा असन्तुष्टि जनाएका हुन्।
आइएनसी पियालाका प्रवक्ता हिरोताका मत्सुशिमाका अनुसार कर्मचारीहरुले उजुरी पेटिकामा गुनासाे गरेपछि कम्पनीले यस्ताे नियम बनाएकाे हाे। कर्मचारीहरुले चुराेटका कारण समय बर्बाद भएकाे विषयमा गरेकाे गुनासाेमा कम्पनीका सिइओ पनि सहमत भएका थिए।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत ताकाओ असुकाले कर्मचारीहरुले बिदा पाएपछि चाँडै चुरोट पिउन बन्द गर्ने विश्वास ब्यक्त गरे।
जापानका कम्पनीहरूले बढ्दो धूम्रपान रोक्न थुप्रै कदम चालेका छन्। टोकियो प्रशासनले पनि टोकियो ओलम्पिक २०२० लाई ध्यानमा राख्दै गत वर्ष धूम्रपान रोक्न कडा नियमहरू बनाएकाे थियाे।