एजेन्सी- भारतकाे नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालमा युरोलोजी विभागका चिकित्सकहरूको टोलीले बिरामीको शरीरबाट ७.४ किलाेकाे मिर्गाैला निकालेका छन्। याे भारतमा बिरामीकाे शरीरबाट निकालिएकाे अहिलेसम्मकै ठूलाे मिर्गाैला हाे।
यसकाे लम्बाइ २१.८ सेन्टीमिटर रहेकाे छ। यो विश्वको तेस्रो सबैभन्दा ठूलो मिर्गाैला भएकाे बताइएकाे छ। याे दुर्लभ शल्यक्रिया लगभग दुई घण्टा चलेकाे थियाे। शल्यक्रिया टोलीमा डा अजय शर्मा, डा सचिन कथुरिया र डा जुहिल नानावटी रहेका थिए।
डा सचिन कथुरियाका अनुसार दिल्लीकाे ५६ वर्षकाे बिरामी शरीरबाट उक्त मिर्गाैला निकालिएकाे हो। उनी आनुवांशिक डिसअर्डरबाट ग्रस्त थिए। डा सचिनले भने, 'अहिलेसम्म यस प्रकारका दुई दुर्लभ शल्यक्रिया भइसकेका छन्। पहिलो अमेरिकामा (८.७ किलाे) र दोस्रो नेदरल्याण्डमा (७.७ किलो) मिर्गाैला निकालिएकाे थियाे। अब हामी यसलाई गिनीज वर्ल्ड अफ रेकर्डमा रेकर्ड गर्न तयारी गर्दैछौं।'