गोमा- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा बिहीबार प्राणघातक इबोला संक्रमण विरुद्ध लड्न नयाँ खोप प्रयोगमा ल्याइएको छ। विगत १५ महिनादेखि फैलिएको इबोलाका कारण मुलुकको पूर्वी क्षेत्रमा त्रासको वातावरण छ।
परोपकारी संस्था सीमाविहीन चिकित्सक (डब्टर्स विदाउट बोर्डर्स)का अनुसार आगामी चार महिनाभित्र करिब ५० हजार मानिसलाई यो खोप दिइने छ। यो खोप विश्वप्रसिद्ध औषधि उत्पादक तथा अनुसन्धाता जोन्सन एन्ड जोन्सनको बेल्जियमस्थित एक सहायक कम्पनीले तयार पारेको हो।
गत वर्ष नै शुरु भएको खोप अभियानका क्रममा दुई लाख ५० हजार भन्दा बढीलाई खोप दिइएको छ, र त्यसमा सबैजसो स्वास्थ्यकर्मीलाई समेटिएको छ।
कंगोको उत्तरी किभु प्रान्तमा अगस्ट २०१८ मा इबोलाको संक्रमण पहिलोपटक देखिएको थियो। त्यसपछि यो रोग छिमेकी प्रान्त इटुरी र दक्षिण किभुमा फैलिएको थियो। राज्यको उपस्थिति नै कम रहेका यी क्षेत्रहरु उगान्डा, रुवान्डा र बुरुन्डीसँग सीमा जोडिएका छन्।
पछिल्लो विवरण अनुसार यस रोगबाट हालसम्म कंगोमा मात्र २ हजार १९३ जनाको ज्यान गइसकेको छ।
कंगोमा इबोला फैलिएको यो दशौं पटक हो। पश्चिम अफ्रिकामा सन् २०१४–१६ को अवधिमा फैलिएको यो संक्रमणबाट कंगोमा त्यसबखत ११ हजार ३०० जनाको मृत्यु भएको थियो।
परोपकारी संस्था एमएसएफका अनुसार गोमा प्रान्तको राजधानी उत्तरी किभुमा बिहीबार बिहान १५ जनालाई नयाँ खोप दिएर खोप कार्यक्रम शुरुआत गरिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार इबोला संक्रमितको मृत्यु हुने सम्भावना ९० प्रतिशतसम्म रहेको छ। रासस