सिएनएन- कस्तो संयोग। जर्जियास्थित जर्जिया अस्पतालमा जुम्ल्याहा नर्सहरुले जुम्ल्याहा बच्चाको ‘डेलिभरी’ गराएका छन्। डेलिभरी रुममा नवजात शिशुलाई जुम्ल्याहा नर्स तारा र तोरीले यो संसारमा स्वागत गरेका थिए। सेप्टेम्बर २५ मा बालिका एडिसन र एम्मा जन्मिएका हुन्।
नवजात शिशुका पिता ब्रानन् विलियमस् यो खबरले निकै खुसी भएको बताउँछन्। उनले भने ‘शल्यक्रिया कक्षमा लैजाँदा म निकै नर्भस भएको थिएँ, त्यसपछि एकछिनमा आफूलाई शान्त पाएँ।’
उनकी श्रीमती रेबिका विलियमस्ले तीन मिनेटको अन्तरमा शिशुहरुलाई जन्म दिएकी हुन्।
दिदीबहिनी तोरी होवार्ड र तारा ड्रिंकार्डले सो अस्पतालमा वर्षौँदेखि काम गरिरहेका छन्। तोरी न्युनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा काम गर्छिन् भने तारा हालै मात्र इमेरजेन्सी वार्डबाट लेबर र डेलिभरी युृनिटमा सरुवा भएकी छिन्।
बच्चा डेलिभरी गराउँदा सामान्यता एक जना बच्चालाई एक जना नर्सले रेखदेख गर्नुपर्ने हुन्छ। जुम्ल्याहा बच्चाको केशमा भने दुई जना नर्सको आवश्यक पर्छ। त्यसैले तारा र तोरीले सँगै काम गर्न पाए।
तारा र तोरीले अस्पतालमा त्यतिका वर्ष काम गर्दा उनीहरुले अहिलेसम्म डेलिभरी रुममा सँगै काम गर्ने अवसर पाएका थिएनन्। अस्तपालका अनुसार उक्त डेलिभरीको एक घण्टा अघि मात्र उनीहरुले आफूले सँगै काम गर्न पाउने कुरा थाहा पाएका थिए।
नवजात शिशुका आमा पनि सोही अस्पतालमा काम गर्छिन् जहाँ उनले बच्चा जन्माइन्। उनलाई आशा छ कि डेलिभरी पश्चात पनि डेलिभरी गराइदिने नर्ससँग पछि पनि सम्बन्ध प्रगाढ रहने छ।
ब्रानान भन्छन् ‘म तारा र तोरीसँग सुझाव माग्दैछु की कसरी जुम्ल्याहा सन्तान हुर्काउने भनेर।’
उनी आशा गर्छन् कि एडिसन र एम्माले आफ्नो विशेष सम्बन्धलाई बुढेसकालसम्म पनि सुमुधुर र राम्रो राख्नेछन्।
उनी भन्छन् ‘तारा र तोरी हाम्रो साथी बनिसकेका छन्। एक दिन यो कुरा आफ्नो दुई बच्चालाई भन्ने छु। मलाई आशा छ उनीहरुले यी नर्सहरुलाई भेट्न पाउनेछन् र यो सम्बन्ध बनाइराख्नेछन्।’