काठमाडौं- प्रजातान्त्रिक गणतान्त्रिक देश कंगोमा दादुरा खोप अभियान सञ्चालन हुने भएको छ। करिब ८० लाख बालबालिकालाई दादुरा खोप लगाइने लक्ष्य राखिएको छ। यो अभियान अहिलेसम्मकै ठूलो अभियान भएको बताइएको छ।
कंगोमा यसै वर्षमात्र दादुराको महामारीका कारण ३ हजार ५ सय बालबालिकाको मृत्यु भएको थियो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र कंगो सरकारले देशभर आपत्कालीन कार्यक्रम भन्दै खोप अभियान सञ्चालन गर्ने लक्ष्य राखेको छ। डब्ल्युएचओका अनुसार दादुराको महामारी कंगोसहित संसारका अन्य देशहरुमा पनि तीव्ररुपमा फैलिरहेको छ।
दादुरा कंगोका सबै भागमा फैलिएको बताइएको छ। खोप लगाउने चरण हुन्छ तर खोपबाट वञ्चित हुनु र खोपको पूर्ण मात्रा लगाउन छुटेका कारण अहिले महामारी फैलिएको डब्ल्यूएचओको भनाइ छ।
‘कंगोले गम्भीर अवस्थाको सामना गरिरहेको छ। धेरै बालबालिका नियमित खोप पाउनबाट वञ्चित भएकोले अहिले महामारी देखियो,’ कंगोस्थित डब्ल्युएचओ प्रतिनिधि डा देओ निशिमिर्मानोले भने, 'डिआरसीले एउटा गम्भीर अवस्थाको सामना गरिरहेको छ, किनकि धेरै बच्चाहरूले नियमित खोपनै गुमाएका थिए।'
उनले त्यहाँ रोग फैलन थालेदेखि गर्नुपर्ने व्यवस्थापन राम्रो नभएकोले प्रकोप घातक भएको बिबिसीसँगको कुराकानीमा बताएका छन्। ‘कंगोमा दादुराको प्रकोप धेरै घातक छ, यसको रोकथाम गर्न हामीसँग उल्लेख्य मानव संशाधन छैन। जसले गर्दा अकालमा भइरहेको मृत्युलाई यथासक्य रोक्न मानव संशाधन व्यवस्थापन गर्न प्रयास गरिरहेका छौं।’
कंगोका २६ राज्यमा दादुरा फैलिएको प्रतिवेदन सार्वजनिक गरिएको छ। त्यँहाको स्वास्थ्य मन्त्रालयले गत जुन १० मा दादुराको प्रकोप फैलिएको घोषणा गरेको थियो।
अभियानका क्रममा कंगोका २४ राज्यका ८ लाख २५ हजार बालबलिकालाई ९ दिनको अवधिमा खोप लगाइने योजना बनाइएको छ। सेप्टेम्बर १७ सम्म करिब १ लाख ८३ हजार ८ सय ३७ जनामा दादुराको परीक्षण गर्दा ५ हजार ९ सय ८९ जनामा दादुरा भएको भेटिएको थियो।
दादुरासँगै कंगोमा इबोलाको पनि महामारी फैलिएको छ। इबोला यहाँको दोस्रो ठूलो प्रकोप हो। इबोलाका कारण २ हजार १ सय बढी मानिसले ज्यान गुमाएका छन्।
दादुरा के हो?
दादुरा एक अत्याधिक संक्रामक भाइरल रोग हो। यो तीव्र रुपमा फैलिन्छ। जसले कहिलेकाँही गम्भीर स्वास्थ्य जटिलता निम्त्याउन सक्छ। साथै फोक्सो र मस्तिष्कको संक्रमण बढाउने डब्ल्यूएचओको भनाइ छ।
नेपालमा पनि खोप अभियान थालिँदै
नेपालमा पनि यसै आर्थिक वर्षमा राष्ट्रिय दादुरा खोप अभियान सञ्चालन गर्न लागिएको छ। विभिन्न जिल्लामा दादुराको संक्रमण देखिएपछि यसअघि आकस्मिक खोप अभियान सञ्चालन गरिएको थियो।
नेपालमा यसै माघमा खोप अभियान सञ्चालन हुँदैछ।