काठमाडौं- स्वास्थ्यका दृष्टिकोणमा सबैभन्दा सुरक्षित सहरको सूचीको शीर्ष स्थानमा जापानको ओसाका परेको छ। बेलायती आर्थिक म्याग्जिन द इकोनोमिस्टको इन्टेलिजेन्स युनिटले गत बिहीबार सार्वजनिक गरेको 'द सेफ सिटिज इन्डेक्स २०१९' ले ६० सहरको अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनले स्वास्थ्य सेवाका आधारमा ओसाकालाई शीर्ष स्थानमा राखेको हो।
यसपछि सोही सूचकका आधारमा जापानकै राजधानी दोस्रो नम्बरमा परेको छ भने दक्षिण कोरियाको राजधानी सोल तेस्रो नम्बरमा परेको छ।
'सुरक्षित सहर मापन गर्ने सूचक स्वास्थ्य सेवाका उपसूचकहरू स्वास्थ्य सेवामा पहुँच र गुणस्तर, स्वस्थ खाना, सफा पानी र स्वच्छ हावा तथा आपत्कालीन उद्धार तथा राहत क्षमताका आधारमा यी सहर उत्कृष्ट भएका हुन्,' रिपोर्टमा भनिएको छ, 'कतिपय उपसूचकमा त यी सहरले पूर्ण अंक प्राप्त गरेका छन्।'
पहिलो नम्बरमा परेको ओसाकाले स्वास्थ्य सेवा सूचकमा ८८ दशमलव ५ अंक प्राप्त गरेको छ। टोकियोले भने ८७ दशमलव ५ अंक प्राप्त गरेको छ भने सोलले ८५ दशमलव २ अंक प्राप्त गरेको छ।
इकोनोमिस्टको सो युनिटले सहरी पूर्वाधार, डिजिटल सुरक्षा, स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षालगायतका विभिन्न ५७ सूचकका आधारमा ६० सहरको अध्ययन गरेको थियो।
यी सबै सूचकका आधारमा समग्रमा भने शीर्ष स्थानमा भने जापानको राजधानी टोकियो परेको छ। टोकियो विगत ३ वर्षयता तगातार सो सूचीको शीर्ष स्थानमा रहँदै आएको छ। सिंगापुर विश्वकै दोस्रो सहरमा परेको छ भने जापानकै अर्को शहर ओसाका तेस्रो सुरक्षित सहर बनेको छ।
यसैगरी, सो सूचीको चौथो नम्बरमा नेदरल्यान्डको आम्सटर्डम परेको छ। पाँचौं स्थानमा रहेको अस्ट्रेलियाको सिड्नाई क्यानडाको टोरोन्टोले पछ्याएको छ। विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकाको राजधानी वासिंटन डिसी भने सातौं नम्बरमा परेको छ। आठौंमा सोल, नवौंमा डेनमार्कको कोपनहेगन र दशौं स्थानमा अस्ट्रेलियाकै मेलबर्न परेका छन्।
सन् २०१७ मा नवौं स्थानमा रहेको हङकङ भने यस वर्ष २०औं स्थानमा झरेको छ। विगत लामो समयदेखिको राजनीतिक प्रदर्शनले हङकङको स्कोरमा व्यापक गिरावट आएको हो।