‘जति धेरै दिन अस्पताल बस्न सकियो, त्यति चाँडो अप्रेसन गरिएको घाउ बिसेक हुन्छ,’ आम बुझाइ हो यो।
तर, तथ्य योभन्दा फरक छ। इलेक्टिभ (समय तोकेर गरिने, जसको मेडिकल इमर्जेन्सी हुँदैन) सर्जरीमा बिरामीलाई जति चाँडो घर फर्काउन सक्यो, त्यति चाँडो निको हुने सम्भावना रहन्छ। त्यसैले यसरी अप्रेसन गरिएको ८० प्रतिशत बिरामी २४ घन्टाभित्र घर पठाइसक्छन् डाक्टरहरु।
विश्वमा लोकप्रिय भइरहेको उपचारको यो उपायलाई दक्षिण एसियाली मुलुकले आत्मसात गरिरहेका छैनन्। नेपालमा त धेरैले यसबारे थाहै पाएका छैनन्। चिकित्सा जगतले नै यसलाई अभियानका रुपमा आत्मसात नगरेपछि आमजनले थाहा पाउने कुरै रहेन। तीमध्ये जनरल सर्जन डा उदय कोइराला त्यस्ता व्यक्ति हुन्, जसले सन् ११ वर्षदेखि नेपालमा यही अभियान चलाइरहेका छन्।
‘डे सर्जरी’ पनि भनिने यो अभियानमा बिहान अप्रेसन गर्ने, बेलुकीदेखि खाना खुवाउन सुरु गर्ने र अर्को दिनबाट हिँडडुलका लागि प्रोत्साहन गर्दै डिस्चार्ज गर्ने गरिन्छ। यसो गर्नुका अनेक लाभ रहेको विभिन्न अध्ययनले देखाइसकेको डा कोइराला बताउँछन्। तीमध्ये मुख्य लाभ त बिरामी अस्पतालजन्य संक्रमणको शिकार हुनबाट जोगिने भयो।
अप्रेसन गरेको ४८ घन्टा नाघ्नेवित्तिकै अस्पतालजन्य संक्रमणको जोखिम उच्च रहने अध्ययनका निष्कर्ष छन्। चाँडो घर पठाउने भएपछि बिरामी केन्द्रित सेवा हुन्छ। चाँडो खाना खुवाउने, चाँडो हिँडडुल गर्न लगाउने गरिन्छ। डा कोइराला भन्छन्, ‘चाँडो हिँडडुल गराउँदा घाउमा समस्या आउने परम्परागत मान्यता थियो। तर अहिले जति चाँडो हिँडडुल गराउन सक्यो, त्यति चाँडो निको हुने देखिएको छ।’
सबैभन्दा ठूलो कुरा त अस्पताल बसाइका क्रममा अनावश्यक खर्च हुने पैसा र समय जोगिने भयो। ‘नेपालमा त एक जनालाई कुर्ने १० जना हुन्छन्। अफिसले जति पनि बिदा दिइहाल्छ। त्यसैले समयको हिसाबकिताब नगर्दा पनि पैसा जोगिन्छ,’ डा कोइराला ठट्टा गर्छन्।
डा कोइराला मोडेल अस्पताल काठमाडौं र बुद्ध मिनिमल एक्सेस इन्टरभेन्सन (बुद्ध माई) सेन्टरसँग आवद्ध छन्। सर्जरी गरेर चाँडै घर पठाउने अवधारणा बुद्ध माई सेन्टरबाट अभ्यास गरिरहेका छन्। यसले एकातिर उक्त अवधारणा सही रहेको तथ्य पेस गरिरहेको छ भने अर्कातिर बिरामीको मन जित्दै गइरहेको छ। पित्तथैलीको पत्थरी, हर्निया जस्ता सर्जरीमा यो अवधारणाको उपयोग अरु चिकित्सक र अस्पतालले समेत गरिरहेका छन्। तर बुद्ध माईले मेडिकल इमर्जेन्सी नभएका अन्य सर्जरी सेवासमेत यही अवधारणबाट दिइरहेको छ। बेलायतले यसको अभ्यास एक सय वर्षअघि नै गरेको थियो।
बच्चाहरु अस्पताल बस्न नरुचाउने भएकाले उनीहरुलाई सकेसम्म चाँडो घर पठाउन खोजिएको विकल्पमा चिकित्सकले यो उपाय पहिल्याएका हुन्। डा कोइराला भन्छन्, ‘बिहानै सर्जरी गर्ने र बेलुकी घर पठाउने (डाउन टु डस्ट) अवधारणा ल्याइएको हो। पछि अमेरिकामा एक रात भर्ना गरेर २४ घन्टामा घर पठाउने गरी परिमार्जन गरियो।’
चिकित्सकमा बढेको क्षमता, औषधि र प्रविधिमा भइरहेको विकासले अहिले यसलाई झन् सम्भव बनाएको डा कोइराला बताउँछन्। अप्रेसनमा यही अवधारणा अपनाउन पाए सरकारी अस्पतालमा अप्रेसन गराउन लागिरहेको ६ महिनादेखि डेढ वर्षसम्मको लाइन घटाउन सकिने उनको अनुमान छ। उनका अनुसार बिरामीका लागि पनि यो अवधारणा लाभदायी छ। किनभने चाँडै घर पठाउनुपर्ने भएकाले २४ घन्टा बिरामी केन्द्रित उपचार हुन्छ। जोखिम धेरै भएको समयमा चिकित्सकीय निगरानी पनि धेरै रहनु बिरामीका लागि फाइदाजनक कुरा हो।
तर, बिरामीलाई बुझाउन डा कोइराला लगायतलाई अझै मुस्किल परिरहेको छ। उनी भन्छन्, ‘जति धेरै अस्पताल बस्यो, त्यति चाँडो निको हुने मान्यता बिरामीमा छ। यो तोड्न सजिलो छैन। अरु कुरामा पश्चिमाहरुको सिको गरे पनि उपचारमा दक्षिण (भारत) को सिको गर्ने प्रचलन छ। त्यसैले भारतमा यो सफल भयो भने नेपालीले विश्वास गर्छन्।’
उपचारमा ‘आउट अफ पकेट मोडेल (खल्तीबाट तिर्ने)’ अपनाइरहेको ठाउँमा यसलाई चाँडै लागू गर्न भने सहज देख्दैनन्। भन्छन्, ‘कसैले उपचारको प्रक्रियामा निगरानी गर्ने उपचार प्रणाली हुन्थ्यो भने यति धेरै दिन बिरामी किन अस्पतालमै राखेको भनेर केरकार हुन्थ्यो। स्वास्थ्यका कुरामा व्यक्ति वा एक परिवारले अलिकति पनि ‘विद्रोह’ गर्न सक्दैन।’
दूरदराजसम्म सर्जनको पहुँचमा नभएको नेपालमा सामान्य सर्जरीका लागि पनि काठमाडौं धाउनुपर्ने हुन्छ। काठमाडौं धाउनुपर्दाका ‘साइड इफेक्ट’ अनेक छन्। डा कोइराला एउटा उदाहरण प्रस्तुत गर्छन्, ‘एउटा सुदूरपश्चिमको बिरामी इलेक्टिभ सर्जरीका लागि काठमाडौं आउँछ। उसले ६ महिनापछिको समय पाउँछ। फर्किन्छ र फेरि आउँछ। लामो समय अस्पताल बस्छ। एक्लै बस्ने होइन, परिवारका सदस्य पनि बस्नुपर्छ। यसको आर्थिक–सामाजिक असर कस्तो परिरहेको छ ?’ निकै सस्तो र सजिलै हुने सर्जरीमा दूरदराजका नेपालीले झेलिरहेको सकसप्रति उनी सचेत छन्। त्यसैले उनी यो अवधारणाको सर्जरीको वकालत गरिरहेका छन्।
यो अवधारणाले काठमाडौंमै कार्यरत सर्जनलाई दूरदराजमा पुर्याउने उनीसँग योजना छ। नेपाली कांग्रेसका युवा नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले राज्यलाई यो अवधारणाको नापनक्सा दिएका हुन्। तर उनले कार्यान्वयनतर्फ लैजान पाएनन्। उनको योजनाको सार यस्तो छ– जिल्लामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘डे सर्जरी सेन्टर’मा बदल्ने। अर्थात् केही लगानी थप गरेर उनीहरुलाई सर्जरीका लागि योग्य बनाउने। काठमाडौंलगायत देशका ठूला सहरमा काम गरिरहेका सर्जनहरुको समूह बनाउने। उनीहरुलाई ६ महिनाको एक पल्ट उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएर सर्जरी गराउने। सर्जरी गरेपछि ती डाक्टरहरुले २४ घन्टामा डिस्चार्ज गरेर काठमाडौं फर्किन्छन्। फलोअप स्थानीय डाक्टरले गर्छन्। केही जटिलता आइलाग्दा टेलिमेडिसिन विकल्पका रुपमा छँदै छ।’
टेलिमेडिसिन भन्नेवित्तिकै आधुनिक सञ्चार प्रविधिका माध्यमबाट दूरदराजका चिकित्सकीय जटिलता हल गर्न सघाउने बुझिन्छ। पेसाभन्दा माथि उठेर सेवा गरिरहेका चिकित्सकहरु टेलिमेडिसिनमा सक्रिय छन्। डा कोइराला काठमाडौं मोडेल अस्पतालमा सन् २००८ मा सुरु भएदेखि नै यो सेवामा सक्रिय छन्। सफ्टवेयर इञ्जिनियर महावीर पुनले गाउँ–गाउँमा इन्टरनेट पुर्याएपछि मोडेल अस्पतालकै सेवी डाक्टर सरोज धितालले टेलिमेडिसिनका माध्यमबाट गाउँका बिरामीलाई सेवा दिने लक्ष्य लिए। अहिले मोडेल अस्पताल अन्तर्गतका डाक्टरले ३१ वटा दूरदराजका स्वास्थ्य संस्थामार्फत यो सेवा दिइरहेका छन्। डा कोइरालाको सुरुदेखि नै सक्रिय सहभागिता छ। उनी भन्छन्, ‘अन्य चिकित्सकीय जानकारी साथै अप्रेसन थिएटरमा समस्या पर्दा भिडियो हेरेर परामर्श दिने कामसम्म भएको छ।’ यो कर्मले धेरै बिरामीको ज्यान जोगिएको छ भने धेरै बिरामीको काठमाडौं आउनुपर्ने खर्च जोगिएको छ।
यी दुई कर्मबाहेक उनको अर्को कुराको पनि चिन्ता छ। स्वास्थ्य सेवा महँगो हुँदैगएको जोकोहीलाई अनुभूत भइरहेको छ। सर्जरी सेवा त झन् दिन प्रतिदिन महँगिइरहेको छ। ‘यसलाई कसरी सस्तो बनाउन सकिन्छ ?,’ उनी घोत्लिरहन्छन्। किनभने नेपालीको आयस्रोतका कारण हरेक सेवा ‘देश सुहाउँदो’ बनाउन जरुरी हुन्छ। सर्जरी सेवा केले महँगो बनाइरहेको छ ? उनको उत्तर छ, ‘उपकरणले। चिकित्सकले त आफ्नो पारिश्रमिक त्यति बढाएका छैनन्।’ सोच्नुपर्ने यहीँनेर देख्छन्– उपचारका लागि उपकरणको महत्व छ तर मानवीय सिपज्ञान त्योभन्दा महत्वपूर्ण हुन्छ। त्यसैले बजारमा महँगो आयो भनेर त्यतैतिर हामफाल्नेभन्दा पनि चलाइरहेकै उपकरणबाट गुणस्तरीय स्वास्थ्य सेवामा सम्झौता नगर्ने गरी काम चलेको छ कि छैन ? उनले एउटा उदाहरण दिए, ‘कुनैबेला तीन सयको हेलोजिन लाइटले काम चल्थ्यो। अहिले एउटै चिम डेढ लाख पर्ने आएको छ। यहीँनेर हामीले सोच्नुपर्छ।’ उनी बिरामीको स्वास्थ्यमा होइन, महँगो बनाउने प्रणालीमा सम्झौता गर्नुपर्ने धारणा राख्छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सर्जरी विभागका सहप्राध्यापकसमेत छन् उनी। नेपाल सरकारको छात्रवृत्तिमा चीनको बेइजिङ मेडिकल युनिभर्सिटीबाट एमबिबिएसदेखि एमएससम्म सकेर सन् २००२ मा नेपाल फर्केका हुन्। भक्तपुर अस्पतालबाट उपचार सेवा दिन सुरु गरेका उनले पाटन अस्पताल, ओखलढुंगा र पाल्पा पुगेरसमेत सेवा दिएका छन्। काठमाडौं चाबहिलका स्थायी बासिन्दा उनले अमर आदर्शमा निम्न माध्यमिक तह र हिमालय स्कुलबाट एसएलसी गरेपछि आइएससी सेन्ट जेभिएर कलेजबाट गरेका हुन्।