नयाँ दिल्ली– काश्मिरका एक चिकित्सकले बिरामीका दुःख र औषधिको कमी भएको कुरा उठाउँदा पक्राउ परेका छन्।
जम्मू काश्मिरमा तीन हप्ताभन्दा बढी समयदेखि कर्फ्यु र सञ्चार माध्यम पनि ठप्प पारिएको छ। यसका कारण महत्वपूर्ण औषधिहरुको अभावले बिरामीहरुको मृत्यु भएको भन्ने आशय व्यक्त गर्दा डा ओमर सलीम अख्तरलाई पक्राउ गरिएको हो।
डा अख्तर युरोलोजीका गोल्ड मेडलिस्ट समेत हुन्।
द टेलिग्राफका अनुसार श्रीनगरको सरकारी मेडिकल कलेजमा कार्यरत युरोलोजिस्ट डा अख्तरले जीवन रक्षक औषधिहरुको अभाव भएको र अर्को लटमा पनि नआएको मिडियालाई बताएपछि १० मिनटमै उनलाई हिरासतमा लिइएको थियो।
अझै पनि उनको अवस्था के छ भनेर थाहा भएको छैन ।
समाचारका अनुसार उनले एक प्लेकार्ड बोकेका थिए, जसमा ‘यो विरोध होइन, एक अनुरोध हो’ भनेर लेखिएको थियो। यसैकारण उनलाई हिरासतमा लिइएको थियो।
स्मरण रहोस् अगष्ट ५ गतेदेखि जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा खारेजपछि पूर्णरुपमा कर्फ्यु र सञ्चार माध्यममा समेत रोक लगाइएको छ।
डा अख्तर भन्छन् 'एक जना बिरामीलाई ६ अगष्टमा किमोथेरापी दिनुपर्ने थियो, उ २४ अगष्टमा आयो तर पनि हामीसँग औषधि थिएन।' उनी थप्छन् 'एक जना बिरामीले दिल्लीबाट केमोथेरापीका औषधि मगाएका थिए तर पाएन, अब उसको केमोथेरापी कहिले हुने होला भन्न सकिँदैन।'
यस्तो अवस्था देखेर उनले औषधि र बिरामीका समस्या बारेमा बोलेका थिए। उनी भन्छन् 'बिरामीले डायलाइसिस गराएनन् भने उनीहरु मर्छन्, क्यान्सरको बिरामी पनि केमोथेरापी गर्न नपाएर मर्छन्, जसले शल्यक्रिया गर्न पाउँदैनन् उनीहरु मर्छन्।'
अमेरिकामा रहेका अख्तरका भाइ ओथमान सलीम जो आफै पनि डाक्टर हुन्, उनले अख्तरलाई हिरासतमा लिएकोमा चिन्ता व्यक्त गरेका छन्।
उता जम्मू कश्मीर सूचना एवं जनसम्पर्क विभागले भने औषधिको कमीको समाचार गलत भएको बताउँदै सरकारद्धारा स्वीकृत सबै औषधि सरकारी र निजी सबै पसलमा उपल्ब्ध रहेको दाबी गरेको छ।
सरकारले दाबी गरे पनि दुई काश्मीरी मेडिकल व्यवसायीले पछिल्लो हप्ता अलग अलग सूचना प्रकाशित गदैै कर्फ्युका कारण बिरामीलाई आपतकालीन चिकित्सकीय सेवा नमिलेको र औषधि अभाव रहेको बताएका थिए।