रवीन्द्र समीर पेशाले जनस्वास्थ्य विज्ञ हुन्। साहित्यप्रति गहन रुचि भएका समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, मोती पुरस्कार, नेपाल बिध्याभुषण आदि दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार पाएका छन्। भर्खरै मात्र उनको पुस्तक मृत्युको आयु उपन्यास बजारमा आएको छ। यही सेरोफेरामा स्वास्थ्यखबरको जीवनशैली स्तम्भका लागि बुनु थारुले उनै रवीन्द्र समीरसँग गरेको साहित्य वार्ता:
कहिलेदेखि साहित्यिक लेखन सुरु गर्नु भएको हो?
लेख्न त विद्यालयदेखि लेख्न सुरु गरेको हुँ। २०४७ सालमा मातृभूमि दैनिकमा ‘ राष्ट्रिय एकता' नामक मेरो पहिलो निबन्ध प्रकाशित भएको थियो।
कोबाट प्रेरित भएर लेख्न थाल्नुभएको हो?
मेरो लेखनको प्रेरणा मेरो बुवा हुनुहुन्छ। लेख्दै जाँदा समाजमा देखिएका विकृति, विसंगति, द्वैध चरित्र तथा कथनी र करनीमा देखिएका असंगत पक्ष नै मेरो लेखनका बाध्यता बने। सबैभन्दा ठूलो प्रेरणा त पाठकको माया नै हो।
तपाईंका लेखनमा प्रस्तुत हुने विषयवस्तुका स्रोत के हुन्?
स्वास्थ्य पेशा निकै व्यस्त तथा संवेदनशील छ। यसको विशेषता के छ भने हामीलाई खोज्दै विभिन्न भूगोल, संस्कृति, परम्परा, रितिरिवाज तथा सम्प्रदायका व्यक्तिहरु आउँछन्। उनीहरूले दिल खोलेर आफ्ना पीडा, व्यथा पस्किन्छन्। ती विषयलाई पात्रको नाम, उमेर, समूह, स्थान आदि बदलेर साहित्यमा लेख्ने गरेको छु।
तपाईंका कतिवटा पुस्तक प्रकाशित छन्?
अहिलेसम्म साहित्यका १२ वटा पुस्तक प्रकाशित छन्। मृत्युको आयु उपन्यास भर्खरै बजारमा आएको छ।
कुन-कुन विधामा कलम चलाउनुहुन्छ?
मेरो प्रमुख विधा लघुकथा हो। लघुकथाका ८ वटा, संस्मरण २ वटा, मुक्तक १ वटा र उपन्यास एउटा प्रकाशित छनु।
कति बेला लेख्नुहुन्छ?
म जुन बेला व्यस्त हुन्छु, त्यही बेला नै लेख्ने मुड हुन्छ। त्यो समयमा विषयवस्तु टिप्ने गरेको छु। बिहानको समयमा लेख्ने गरेको छु।
तपाईको लेखनीमा के पाइन्छन्?
मेरा अधिकांश रचनामा बिरामीसँगका अनुभव छन्। ती अत्यन्त प्रभावकारी र मर्मस्पर्शी छन्।