ज्वरो वा रक्तचाप जाँच्ने जस्तै निराशा जाँच्ने उपकरण भइदिएको भए कति नेपालीमा भेटिन्थ्यो होला निराशा ? अहिलेकै परिस्थितिमा धेरैले सहजै उत्तर दिन सक्छन्– बहुसंख्यकमा। पछिल्ला वर्षहरुमा चिकित्सा क्षेत्रले त झनै आरोहअवरोह खेपिरहेको छ। त्यसैले यही सम्भावनाका उज्याला बाटाहरु देखेर उत्साहित हुने चिकित्सकहरुको संख्याका घट्दो छ।
काठमाडौं मेडिकल कलेजमा कार्यरत नाक, कान र घाँटी विशेषज्ञ डा दीपक रेग्मी यस्तो माहोलमा पनि उस्तै जोश–जाँगरका साथ आफ्नो कर्ममा दत्तचित्त छन्। उनी यो क्षेत्रमा ‘दीपक’ बनेर उज्यालो छरिरहेका छन्।
आफ्नो क्षेत्रमा सकेसम्म नयाँ चिकित्सकीय सेवा प्रदान गर्न कटिबद्ध रहन्छन् र आफूले त्यसबाट प्राप्त गरेको आर्थिक र सामाजिक उपलब्धिसँग सन्तुष्ट छन्। भन्छन्, ‘व्यक्तिगत उन्नतिसँग जोडिएका धेरै अपेक्षा छैनन्। अपेक्षा नै नभएपछि निराश हुनुपर्ने कारण नै हुँदैन।’
चिकित्सा क्षेत्रलाई उनले सकारात्मक नजरियाले हेरेका छन्। आफ्नो विशेषज्ञता रहेको क्षेत्रको प्रगतिका साक्षी मात्रै होइन, सहभागी बनेका छन्। यिनै कुराहरुले उनलाई उत्साही बनाइरहन्छ। सन् २००७ मा उनले नाक, कान, घाँटीमा विशेषज्ञता सुरु गर्दा यो क्षेत्रमा न्यून जनशक्ति थिए। नाम र दामका न्यून अवसर भएको क्षेत्रका रुपमा लिनेहरु धेरै थिए। उनले यसैलाई ‘अवसर’का रुपमा लिएका थिए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा प्रवेश परीक्षा पास गरेपछि नेपालमै पढ्नुपर्ने बाध्यता ‘टार्न’ उनले यो विषय रोजेका थिए। टार्न नसकेमा यसभित्र रहेका अवसरलाई उपयोग गर्ने योजना बनाएका थिए।
काठमाडौं मेडिकल कलेजबाट सन् २००५ मा एमबिबिएस पास गरेपछि उनले एक वर्ष मोडेल अस्पतालमा मेडिकल अफिसरका रुपमा काम गरे। त्यो समय उनको समकक्षीहरुमा युएसएमएलई गरेर अमेरिका जाने लहर चलेको थियो। त्यो लहरले उनमा पनि रहर जगायो। छाडिदिए जागिर। सपना बुन्न थाले, ‘युएसएमएलई पढेर अमेरिका गइन्छ। न्युयोर्कमा घर हुन्छ। मर्सिडिज चढिन्छ। आमाबुबालाई पनि उतै लगिन्छ र सुखको जीवन जिइन्छ।’
त्यो समय दुःख गरेर जोगाएको एक हजार डलर तिरेर फर्मसमेत भरिसकेका थिए। उनका आमाबुबा रुन थाले। एक मात्र छोरा विदेशिन थालेको पीर थियो परिवारमा। बले गरे– हाम्रा लागि भए पनि एकपल्ट धरानमा पुगेर पिजीका लागि प्रवेश परीक्षा देऊ। घुक्र्याए– तँ गइस् भने हामी एक्लै बस्न सक्दैनौं।
उनले धरानको प्रवेश परीक्षाको फम्र्याटमा तयारी गरेका थिएनन्। तर, आमाबुबाको मन राख्न प्रवेश परीक्षा दिए। परीक्षामा अनपेक्षित रुपमा अग्रपंक्तिमै नाम निस्क्यो। उनलाई मेडिसिन बाहेकको जुन विषय रोजे पनि अध्ययन गर्न पाउने अवसर थियो। उनले रोजे नाक, कान र घाँटी। उनले त्यो रोज्नुको कारण बताए, ‘यो विषय लियो भने मलाई यहीँ पढ्न कसैले बल गर्दैन होला। पढ्नु परिहाल्यो भने केही नयाँ गरेर देखाउने ठाउँ यसमा छ।’
तर, उनले सोचेभन्दा उल्टो भयो। उक्त विषय रोजेर काठमाडौं आइसकेपछि उनका आफन्त र साथीभाइ भन्न थाले, ‘धरानमा नाक, कान र घाँटीमा निःशुल्क विशेषज्ञता पढ्न पाएको अवसर पनि कसैले छाड्छ ? अरु ६० लाख रुपैयाँ तिरेर पढिरहेका छन्।’
त्यसपछि त बहानाबाजी गरेर अमेरिका पुग्ने सपनाको ढोका बन्द भयो। सन् २०१० मा नाक, कान र घाँटी रोगको विशेषज्ञको प्रमाण पत्र लिएर उनी काठमाडौं फर्किए। धादिङ, कटुन्जे टोड्के बजारबाट उनका आमाबुबा काठमाडौं बसाइँ सरिसकेका थिए। उमेर ३० वर्ष पुगेका उनलाई उपयुक्त जागिरका साथै बधुसमेत खोज्ने जिम्मेवारी थियो।
आफूलाई एमबिबिएस पढाएका नाक, कान, घाँटी विशेषज्ञ डा तोरण केसीलाई सम्झिए। जसले उनलाई काठमाडौं मेडिकल कलेजमा आउनुपर्छ भनेर भनिरहेका थिए। आफ्नो प्रेरणाको एउटा स्रोतका रुपमा डा केसीलाई लिन्छन् डा रेग्मी। आफूले एमबिबिएस गरेकै मेडिकल कलेजमा उनी सिनियर रेजिडेन्टका रुपमा प्रवेश गरे। उनलाई लाग्छ, ‘केही ‘लाइट माइन्डेड’ व्यक्तिहरुको संगतले मलाई अझै हौसला प्रदान ग¥यो। ती नाम न्युरो सर्जनद्वय डा अमित थापा र डा वसन्त पन्त हुन्।’
जसका कारण नाकको बाङ्गो हड्डी सिधा पार्न मात्रै सम्झिइने नाक, कान, घाँटी विशेषज्ञ ब्रेन ट्युमरको शल्यक्रियाका लागि पनि सम्झिइए। नाकमा इन्डोस्कोप हालेर ब्रेन ट्युमरको अप्रेसन गर्ने प्रक्रिया स्कलबेस सर्जरी हो। न्युरो सर्जनसँग सहकार्य गरेर यो शल्यक्रिया गर्ने नेपालका विशेषज्ञहरुमा डा रेग्मीको नाम अग्रपंक्तिमै आउँछ। यसैगरी हेडनेक क्यान्सरलगायत विभिन्न विषयमा उनको विशेषज्ञताको महत्वपूर्ण भूमिका छ।
उनले २००७ देखि हालसम्मको समयक्रम नियाल्दा यो क्षेत्रमा हरेक दिन प्रगति भइरहेको देखेका छन्। उनी उदाहरणका रुपमा प्रस्तुत गर्छन्, ‘टन्सिलको अप्रेसन पहिले रगत निकालेर गरिन्थ्यो। म विशेषज्ञ भएर फर्किंदासम्म अल्ट्रासाउन्ड प्रविधिबाट गरिने भइसकेको थियो। हार्मोनिक टन्सिलिक्टोमी हुँदै कोब्लिसन टन्सिलोटोमीसम्म विकास भइसकेको छ।’ यी नयाँ प्रविधिमा काम र अध्ययन उनको समूहले गरेको थियो। नेपालमा त्यसको पहिलो रिसर्च पनि डा रेग्मीकै समूहको छापिएको थियो।
उनी ‘ज्याक अफ अल, मास्टर अफ नन’ ले अब कहीँ पुग्न नसकिने बताउँछन्। त्यसैले नाक, कान, घाँटीमा पनि कानको समस्यामा उपचार गर्नेले कानमा मात्रै, घाँटीको उपचारमा काम गर्नेले यसमा मात्रै गर्दा प्रभावकारी हुने बताउँछन्। सामान्यतया आफूले पढेको विषयसँग सम्बन्धित सबै समस्याको समाधान खोज्ने भए पनि स्कलबेस सर्जरीमा आफूलाई केन्द्रित गर्न चाहन्छन् उनी। भन्छन्, ‘म नाकबाट ब्रेन ट्युमरको गर्ने काममै आफूलाई अब्बल बनाउन चाहन्छु। त्यसैमा आफूलाई प्रमाणित गर्न चाहन्छु।’
उनलाई आफूले चाहेको गर्ने अवसर काठमाडौं मेडिकल कलेज (केएमसी) ले दिएको छ। डा रेग्मी यसलाई आफ्नो घरजस्तै ठान्छन्। भन्छन्, ‘२० वर्षदेखि केएमसीमा छु। यहाँ हरेक इँटा कसरी लगाइएको थाहा छ। ढलान र खम्बा कस्ता छन् थाहा छ। मलाई जे दिएको छ, यसैले दिएको हो।’ आफूले प्राप्त गरेका कुराप्रति अनुग्रहित हुने उनको स्वभाव छ। हरेक क्षण र चरणमा धन्य हुन जानेका छन्।
आफ्नो जीवनमा हरेक दिन प्रगति भइरहेको उनको ठहर छ। धादिङ कटुन्जेको टोड्के बजार भन्ने ठाउँमा २०३६ सालमा जन्मिएका हुन् उनी। कक्षा १ देखि ६ सम्म गाउँकै स्थानीय विद्यालयमा पढे। कक्षा ६ पछि गाउँमा स्कुल नभएकाले काठमाडौं पु¥याइए। बालाजुको तरुण माविमा ७ कक्षामा भर्ना हुन पुगेका थिए। त्यहाँ लिइने प्रवेश परीक्षामा उनलाई २० नम्बरको अंग्रेजी र २० नम्बरको गणितको प्रश्न सोधियो। गणितमा २० मा २० नै हासिल गरेका उनले अंग्रेजीमा शून्य ल्याए। पाँच कक्षामा एबीसीडी सिकेका उनको कमजोर अंग्रेजी देखेर कक्षा घटुवा गरेर पढ्न सुझाव दिइयो। उनले घुर्की लगाए, ‘बरु पढ्दिनँ तर कक्षा डाउन गरेर भर्ना नगरिदिनु।’
उनलाई आफूले निकै मिहिनेत गर्नुपर्ने महसुस त्यतिबेला भइसकेको थियो। जब उनलाई अन्तिममा अर्थात् १ सय ४६औं विद्यार्थीका रुपमा कक्षा ७ मा भर्ना लियो। त्यही बेलादेखि उनले हरेक समय मिहिनेत जरुरी महसुस पनि गरे। पढाइमा लगाव बढाउँदा ७ कक्षा बाट ८ मा जाँदा ४ नम्बरमा, ८ बाट ९ जाँदा दोस्रो र कक्षा १० मा प्रथम भए भने एसएलसीमा उक्त विद्यालयबाट एसएलसी दिने त्यो समयसम्मका सबै विद्यार्थीले भन्दा बढी नम्बर पाए।
११ वर्षकै उमेरमा काठमाडौंमा डेरा गरी बसेका उनले संघर्षका अनेक रुप देखेका छन्। राति कोठामा एक्लै सुत्न नसक्दा घरभेटीको छोराको सहारा लिएको अनुभव छ। आफ्ना लागि आफैं पकाउने र खाने सामान्य भइहाल्यो।
एसएलसीपछि उनलाई आफूले पढेकै विद्यालयमा पढाउने अवसर मिल्यो। त्यहाँ पढाउँदापढाउँदै आइएससीको भर्ना चुकेको पत्तै पाएनन्। उनी केही महिनापछि काठमाडौं फर्किंदा प्लस टु पढाइने सबै स्कुलको भर्ना अवधि सकिएको थियो। अस्कल र त्रिचन्द्र मात्रै उनका विकल्प थिए। उनले आइएससी अस्कलमा पढे। त्यसपछि उनको लक्ष्य थियो, कि डाक्टर बन्ने कि गाउँमै फर्केर शिक्षण गर्ने। उनले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा आइएससी पढ्न परीक्षा दिए। तर, उनीसँग पढेका कमजोर विद्यार्थीको नाम निस्कियो, उनलाई वैकल्पिक उम्मेदवारको सूचीमा राखियो। उनी सम्झिन्छन्, ‘त्यो बेला म डिप्रेसनमा गएँ।’ अर्को वर्ष मिहिनेत बढाए। शिक्षा मन्त्रालयकै छात्रवृत्तिमा नाम निकालेर केएमसीमा एमबिबिएस अध्ययन गरेका हुन् उनले।
एक वर्ष मोडेल अस्पताल र तीन वर्ष विशेषज्ञता पढ्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगे। फेरि फर्केर केएमसीमै आए। जहाँ उनी लेक्चरर, एसिस्टेन्ट प्रोफेसर हुँदै अहिले एसोसिएट प्राफेसरका रुपमा कार्यरत छन्। हेल्थ रिसर्च काउन्सिलको भ्रातृ संगठन इन्स्टिच्युसनल रिसर्च कमिटी, नेपाल आइआरसीका मेम्बर सेक्रेटरी हुन्। अहिले नाक, कान र घाँटी रोग विशेषज्ञहरुको छाता संगठनका कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् डा रेग्मीले।