किभ- युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।
एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आगलागीको कारण भने पत्ता लागेको छैन।
यस आगलागीमा परी छ जनाको मृत्यु हुनका साथै घाइते भएका अन्य चार जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ।
यस आगलागीमा नौ जनाले भने भागेर ज्यान बचाएका थिए। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यो अति नै दुःखान्त घटना भएको बताउँदै प्रधानमन्त्री भोलोदिमर ग्रोएस्म्यानलाई यस घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।
युक्रेनमा आगलागीका घटना बारम्बार हुने गरेका छन्। रासस