सरिसा श्रेष्ठ किष्ट मेडिकल कलेज एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत छिन्। मेडिकल क्षेत्रमा पाइला चालेकी उनको रुचि मोडलिङमा पनि उत्तिकै छ। स्वास्थ्यखबरको शनिबारीय स्तम्भ 'जीवनशैली' अन्तर्गत उनीसँग बुनु थारुले गरेको कुराकानी :
तपाईं डाक्टर बन्ने दौडमा हुनुहुन्छ। कसरी मोडलिङतिर लाग्नुभयो?
मोडलिङमै लाग्छु भनेर लागेको चाहिँ होइन। मैले जहिले पनि पढाइलाई नै महत्व दिँदै आएकी छु। मोडलिङ मेरो सोख हो। म एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत रहँदा नेपाल फेसन आइकनको आवेदन खुलेको विज्ञापन देखेँ। बिदा पनि थियो। एकचोटि कोसिस गरौं न त भनेर आवेदन दिइहालेँ र फेसन आइकनको उपाधि जितेँ पनि। त्यो २०१७ सालको कुरा हो। त्यसपछि र्याम्प वाकहरुमा अफर आउन थाल्यो, फोटोसुटमा बोलाउन थालियो। त्यसरी मेरो मोडलिङको यात्रा सुरु भयो।
अरु कुनकुन सौन्दर्य प्रतियोगिताको उपाधि जित्नुभएको छ?
मिस नेवा ११३८ को फस्ट रनरअप बनेकी थिएँ। हालसालै लिडरसिप क्याम्पेन सम्बन्धित मिस रोट्रयाक्ट २०१९ मा पनि सफल भएँ।
म्युजिक भिडियो र फिल्मबाट अफर आएका छन् कि छैनन्?
म्युजिक भिडियो र फिल्मबाट अफर नआएका होइनन्। साथीको कुरा टार्न नसकेर एउटा म्युजिक भिडियो चाहिँ खेलेकी छु। तर मलाई यसमा खासै रुचि छैन। अभिनय पनि त्यति गर्न जान्दिनँ जस्तो लाग्छ। त्यसमा नजाने नै सोचेको छु।
मोडलिङमा छिरेपछि कस्ता अवसर पाउनुभयो?
म अहिले रेड बोर्डर फेसनको सद्भावना दूत हूँ। त्यसबाहेक मैले नेपाल टेलिकमको विज्ञापनमा पनि खेलेकी छु। एक वर्षको कन्ट्रयाक्ट छ। त्यसैगरी खल्ती डटकममा पनि खेलेकी थिएँ। त्यसैगरी अहिले रोटरी नेपाल लिटरेसी मिसनमा पनि दूत भएर काम गरिरहेकी छु।
मिस नेपालमा भाग लिने सोच चाहिँ बनाउनुभएन?
मलाई धेरै साथीले मिस नेपालमा पनि भाग लेऊ भनेर हौस्याइरहनुभएको छ। अहिले त्यसबारे सोचेको चाहिँ छैन। एमबिबिएस सक्किएपछि जान्छु कि भन्ने चाहिँ लागेको छ।
पढाइ र मोडलिङ सँगै, समय कसरी व्यवस्थापन गर्नुहुन्छ?
मोडलिङ त मेरो सोख मात्र हो। पढाइ महत्वपूर्ण हो। चाह्यो भने समय आफै मिल्छ। मिलाउनुपर्छ। पढाइ आफ्नो ठाउँमा छ। अहिलेसम्म बाहिरी कुराले मेरो पढाइ बिग्रिएको रेकर्ड चाहिँ छैन। म त्यसबाहेक सामाजिक कार्यहरुमा संलग्न छु। अहिले किष्ट मेडिकल कलेजको रोट्रयाक्ट क्लबमा अध्यक्ष भएर काम गरिरहेको छु। समय मिलाउने गरेको छु।
पछिसम्मै मोडलिङमा सक्रिय हुने विचार छ कि छैन?
मलाई मोडलिङ मन पर्छ। आफूले भ्याएसम्म र मिलेसम्म म यसमा लाग्नेछु। अफरहरु आए नाइँ भन्न सक्दिनँ। समय मिलाएर यसलाई निरन्तरता दिने सोच रहेको छ।
तपाईंलाई मन पर्ने फेसन आइकन?
मलाई अन्तर्राष्ट्रिय फेसन आइकनमा नावमी क्यामपेबल, आस्था पोखरेल, सबिता कार्की मन पर्छन्। त्यसबाहेक मिस नेपाल सदीक्षा श्रेष्ठ मेरो रोल मोडल हो। उहाँ मेरो आफन्त पनि पर्नुहुन्छ। उहाँबाट धेरै प्रेरणा पाएकी छु।
कुन फेसन डिजाइनरसँग काम गर्न मन छ?
मलाई अन्तर्राष्ट्रिय फेसन डिजाइनर प्रबल गुरुङको पहिरनमा मोडलिङ गर्ने इच्छा छ। म डर्माटोलोजीमा जान चाहन्छु। फेसन र डर्माटोलोजीसम्बन्धीमा केही काम चाहिँ गर्न मन छ भविष्यमा।
आफूलाई सुन्दर रहन केके गर्नुहुन्छ?
म फिटनेस सेन्टर त धाउँदिनँ। घरमै हरेक दिन एक घन्टा व्यायाम गर्छु। त्यसैगरी प्रशस्त पानी पिउनुका साथै क्लिन्जिङ, टोनिङ अनि मोस्चराइजिङको फर्मुला अपनाउँछु। स्वस्थ्य रहनको लागि फलफूल बढी खाने, तनाव नलिने बानी छ।