नर्सिङ पेसा प्रत्यक्ष सेवासँग जोडिएको हुन्छ। दम्पतिहरुलाई परिवार योजना बनाउनेदेखि गर्भवती हुनुपूर्वको परामर्श, गर्भवती जाँच, प्रसूति सेवा, सुत्केरी सेवा, नवजात शिशु स्याहार, स्वास्थ्यसम्बन्धी प्रतिकारात्मक, प्रबर्धनात्मक, उपचारात्मक, पुनर्स्थापना, जीवनको अन्तिम अवस्थामा दिइने सेवा र मृत शरीरको रेखदेखसम्ममा नर्सको भूमिका महत्वपूर्ण हुन्छ।
जीवनको हरेक चरणमा स्वास्थ्यसम्बन्धी सही मार्गनिर्देशन गर्न आवश्यक पर्ने व्यक्ति हो नर्स। मानव जीवनको सबैभन्दा बढी परिवर्तन आउने र सही मार्गनिर्देशनको आवश्यकता हुने अवस्था भनेको किशोरावस्था हो। किशोरकिशोरी धेरै समय बिताउने ठाउँ विद्यालय भएकोले यस अवस्थामा उनीहरुलाई स्वस्थ रहन र सकारात्मक व्यवहार परिवर्तन गराएर स्वस्थ युवा तयार गर्नमा नर्सको महत्वपूर्ण भूमिका हुन्छ।
विद्यार्थीहरु काँचो माटो जस्तै हुन्, जस्तो आकार दियो त्यस्तै बन्छन्। त्यसैले यस अवस्थामा उनीहरुलाई सही मार्गदर्शन दिएर स्वस्थ तथा सकारात्मक व्यवहारको विकास गराउनसक्ने ज्ञान र सिप नर्समा हुन्छ।
विद्यालयमा नर्स नै किन?
विद्यार्थीको असल साथी
नर्सलाई विद्यार्थीले स्वास्थ्य समस्या समाधानको केन्द्रबिन्दुको रुपमा लिएका छन्। विद्यालय नर्सले उमेर र अवस्थाअनुसार स्वास्थ्य शिक्षा दिने हुनाले विद्यार्थीले आफ्नो मनको कुरा तथा कौतुहलता पूरा गर्ने व्यक्तिको रुपमा लिएका हुन्छन्। साना बालबालिकादेखि किशोरकिशोरीसम्मले आफ्न्नो पारिवारिक समस्या, स्वास्थ्य समस्या, प्रेम र धोकाका कुरा, किशोरावस्थामा आउने परिवर्तनसम्बन्धी कौतुहलता र आफ्नो मनमा लागेका हरेक कुराहरु खुलेर भन्ने व्यक्तिका रुपमा विद्यालय नर्स स्थापित भएका छन्।
केही बालबालिकाको आमाबुबा नभएको, आमाबुबालाई उनीहरुको कुरा सुन्न समय नभएको, कतिको मिल्ने साथी नभएको, कसैको प्रेम सम्बन्ध बिग्रेको र स्वास्थ्य सम्बन्धी सही ज्ञान दिएर कौतुहलता व्यवस्थापन गर्ने व्यक्ति नभएको अवस्थामा विद्यालय नर्सले विद्यार्थीको असल साथीको भूमिका निभाएका छन्।नर्सका कारण विद्यार्थीको व्यवहार परिवर्तन र स्वस्थ जीवनशैली विकास गर्न सहयोग पुगेको छ। विद्यार्थीहले स्वास्थ्यको महत्व बुझेर जन्मदिनमा केक/चकलेट बाँड्नुको साटो सरफाइको लागि आवश्यक सामग्री (हेन्डवास, डस्टबिन, हर्पिक र ब्रस) र सेनीटोरि प्याड जस्ता सामानहरु विद्यालयमा राख्न सुरु गरेका छन्।
किशोरकिशोरीमा हुने शारीरिक समस्या समाधान गर्न
किशोरावस्था भनेको बालकबाट वयस्क हुने अवस्था हो। यो अवस्थामा विभिन्न शारीरिक (विशेष गरेर प्रजनन अंगहरुमा) परिवर्तन आउँछ। जुन कुरा किशोरकिशोरीहरु परिवार, साथीभाइ र शिक्षकलाई भन्न गाह्रो मान्ने गर्छन्। त्यस्तो कुरा विद्यालय नर्सलाई भन्न सहज मान्छन्। उनीहरुले खुलेर भन्न नसकेका धेरै जिज्ञासा तथा कौतुहलता विद्यालय नर्सले स्वास्थ्य शिक्षा दिने बेला समेटिने हुनाले पनि उनीहरुलाई आफ्नो समस्याको समाधान नर्सले गर्छ भन्ने बिश्वास गर्छन र खुलेर कुरा राख्छन्।
साथै किशोरलाई भन्दा किशोरीलाई बढी समस्या देखापर्ने हुनाले ती समस्या महिलालाई नै भन्न सजिलो हुने र नर्स आफैं पनि त्यो चरण पार गरेर आएको भएर सजिलै समस्यालाई सम्बोधन तथा समाधन गर्नसक्ने हुनाले विद्यालय नर्स आवश्यक छ।
व्यक्तिगत र महिनावारी सरसफाइ
विद्यार्थीलाई व्यक्तिगत सरसफाइ जस्तै हात धुने, नङ काट्ने, दाँत माझ्ने, नुहाउने, यौनांगको सरसफाइको बारेमा महत्व बुझाएर व्यवहार परिवर्तन गर्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइ, प्याड बनाउने, लगाउने तरिका र फोहोर प्याड व्यवस्थापन गर्ने तरिकाबारे नर्ससँग खुलेर कुरा गर्न सक्छन्। कति विद्यालयमा नर्सको अगुवाइमा निशुल्क सनिटोरी प्याड वितरण भइरहेको छ।
मानसिक, सामाजिक र सम्बेगात्मक समस्या समाधान गर्ने
प्रत्येक व्यक्ति जन्मिएदेखि नै जिम्मेवारी बहन गर्न खोज्छन्l किशोरकिशोरीहरु बढ्दो परिवर्तनका कारण अझ बढी जिम्मेवारी बहन गर्न खोज्छन्l हाम्रो समाज त्यो जिम्मेवारी दिन चाहँदैन। अन्ततः किशोरकिशोरीहरु एक्लै बस्न मनपराउने, परिवारका सदस्यभन्दा साथीहरुसँग बढी समय बिताउने र आफ्ना भावना आदानप्रदान गर्न चाहने, मोबाइल, इन्टरनेटमा बढी व्यस्त हुने, आमाबुबाले कुरा गर्न खोज्दा झिजो मान्ने, झर्किने, आफ्नो अस्तित्व/परिचय स्थापित गर्न खोज्ने, आत्मनिर्भर हुन खोज्ने, जोखिमपूर्ण कामहरु गर्न खोज्ने हुन्छन्।
त्यस्तै किशोरावस्थामा कुलततिर लाग्ने, यौन इच्छा र चाहनामा वृद्धि हुने, सही र गलत छुट्याउन नसक्ने, खान मन नगर्ने, सामाजिक नियमविपरीत कार्य गर्न खोज्ने, प्रेम सम्बन्धमा पर्ने, पढाइ छोड्ने, यौनरोग र एचआईभी जस्ता रोग सर्ने जोखिम बढ्ने, अरुको देखासिकी गर्ने, डिप्रेसन र आत्महत्या जस्ता समस्या आउने हुनाले यस्ता समस्यालाई सही तरिकाले सम्बोधन गर्नसक्ने व्यक्ति पनि नर्स नै हो।
नर्सले आफूले सिकेको ज्ञान र भोगेका अनुभव समेटेर गोपनियताका साथ आवश्यक परामर्श, सल्लाहसुझाव दिन्छन्। कसैलाई पनि भन्न नसक्ने कुराहरु पनि सजिलै र खुलेर भन्न सकिने रहेछ भन्ने अनुभव प्रदेश ३ ले विद्यालय नर्स कार्यक्रम लागू गरेका विद्यालयका विद्यार्थीले गरेका छन्।
यौन शिक्षा
किशोरावस्था सुरु भएसँगै विपरीत लिङ्गसँग आकर्षण बढ्ने, प्रेम सम्बन्धमा पर्ने, यौन इच्छा बढ्ने, असुरक्षित यौनसम्पर्क गर्ने, गर्भवती हुने, असुरक्षित गर्भपतन गर्ने र प्रेममा धोका पाएँ भनेर आत्महत्याको प्रयास गर्ने जस्ता समस्या समेत देखिन्छन्। त्यस्ता सम्बेदनशील समस्यालाई पनि समाधान गर्न नर्सले महत्वपूर्ण भूमिका खेल्छन्।
पोषण र गुणस्तरीय खाना
अहिले बालबालिकाहरु घरमा पाकएको खानाभन्दा जंकफुड मन पराउँछन्। आमाबुबा व्यस्त भएर, पैसा दिने बानी गरेर, देखासिकी गरेर, विद्यालय क्यान्टिनमा पनि सजिलै पाउने भएर, स्वास्थ्य समस्याको बारेमा नबुझेर पनि जंकफुडको प्रयोग बढी गर्ने गर्छन्। यस समस्यालाई समाधान गर्न विद्यार्थी, अभिभावक, शिक्षक, क्यान्टिन सञ्चालक सबैलाई राखेर पोषण र गुणस्तरीय खानको बारेमा जानकारी दिएर विद्यालयमा जंकफुड निषेध गर्न र घरको खानालाई प्रोत्साहन गर्न विद्यालय नर्स सफल भएक छन्। क्यान्टिन र अविभावकलाई साप्ताहिक खानाको तालिका उपलब्ध गराउनेदेखि हरेक दिन विद्यार्थीको खाजा जाँच गर्ने कार्य पनि नर्सले गरेका छन्।
नियमित स्वास्थ्य जाँच, परामर्श र प्राथमिक उपचार
विद्यालय नर्सले विद्यार्थीह र शिक्षकको नियमित स्वास्थ्य जाँच गरी आवश्यक परामर्श र प्राथमिक उपचार सेवा दिन्छन्। सामान्य स्वास्थ्य समस्याको उपचार र सल्लाह विद्यालयमै सम्भव भएपछि विद्यार्थीको विद्यालयमा नियमित उपस्थिति हुने गरेको छ। सरकारी तथा सामुदायिक विद्यालयमा पढ्ने धेरैजसो विद्यार्थीको आर्थिक अवस्था पनि कमजोर हुने र उपचारबाट बन्चित हुने भएकोले विद्यालय नर्सले त्यस्ता बालबालिकालाई पनि समेटेको छ|
विद्यालय तथा वातावरण सरसफा
कक्षा कोठा, शौचालय, विद्यालय वरिपरि र क्यान्टिनको नियमित सरसफाइ तथा फोहोर व्यवस्थापनमा पनि विद्यालय नर्सले महत्वपूर्ण भूमिका खेलेका छन्। विद्यार्थीलाई नै सहभागी गराएर वातावरण सरसफाइको महत्व बुझाउँदै विद्यालयको समग्र सरसफाइ निरन्तर गर्नुका साथै बगैंचा लगाउन पनि विद्यालय नर्स सफल भएका छन्। त्यसैगरी विद्यालय व्यवस्थापन समितिसँग समन्वय गरी फोहोर व्यवस्थापन गर्न डस्टबिन र शुद्ध खानेपानीको व्यवस्था पनि विद्यालय नर्सले गरेका छन्।
लागुपदार्थ नियन्त्रण
विद्यार्थीहरु परिवारिक, साथीभाइको संगत, देखासिकीका कारण धूमपान तथा लागुपदार्थ सेवनतिर लाग्न पुग्छन्। यस्तो कुलत नियन्त्रण गर्न विद्यालय नर्सको भूमिका महत्वपूर्ण हुन्छ। विद्यार्थीको मुख्य समस्या के हो, के कारणले उनीहरु कुलततिर लागेका हुन् भन्ने खोजी गरी परामर्श दिने समाधान गर्न आवश्यक पहल गर्ने काममा नर्स सफल भएका छन्। व्यवहार परिवर्तन एकदुई पटक परामर्श गरेर तुरुन्तै हुने होइन, त्यसैले यसको लागि नियमित परामर्श, अनुगमन र सुपरिवेक्षण चाहिने हुनाले विद्यालय नर्स प्रभावकारी रुपमा विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सफल भएका छन्।
सकारात्मक परिवर्तन
• विद्यालय नर्स कार्यक्रमप्रति विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, विद्यार्थी, शिक्षक र अविभावकको सकारात्मक सोच
• विद्यालय नर्सलाई आवश्यकताअनुसार तालिमको व्यवस्था
• प्राथमिक उपचारको लागि आवश्यक औषधि, औजार र उपकरण उपलब्ध
• विद्यालय नर्सले सेवा दिने/परामर्श गर्ने कक्षको व्यवस्था
• विद्यालय नर्स, रेफरल अस्पताल र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय र साझेदारी
• सम्बन्धित निकायबाट नियमित अनुगमन र सुपरिवेक्षण
• पर्याप्त जनचेतनामूलक सामग्रीको व्यवस्था
• अविभावक, विद्यार्थी, शिक्षक र विद्यालय नर्सबीच आवधिक बैठक तथा छलफल
• विद्यालय र विद्यार्थीको लागि प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न स्थानीय सरकारबाट पनि आवश्यक सहयोग र बजेट बिनियोजन