काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पक्राउ परेका भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका १० जना नर्स रिहा भएका छन्। उनीहरु शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पक्राउ परेका थिए।
शुक्रबार दिउँसो ४ बजे मन्त्रालयबाट पक्राउ परेका उनीहरुलाई राति साढे ११ बजे रिहा गरिएको हो।
समयमै तलब दिनुपर्ने, जोखिम भत्ताको व्यवस्था हुनुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नेपर्ने लगायत माग राखेर आन्दोलित नर्सहरुसँग शुक्रबार स्वास्थ्य मन्त्रालयमा वार्ता भएको थियो। वार्ता असफल भएपछि केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ निस्कन खोजेका थिए। माग पूरा गर्ने विषयमा निर्देशक गम्भीर नभएको भन्दै मन्त्रालयमा वार्ताका लागि गएका नर्सहरुले डा पुकारलाई घेरा हालेका थिए।
आक्रोशित नर्सले घेरा हालेपछि मन्त्रालयमा तुरुन्तै प्रहरी बोलाइएको थियो। प्रहरीले १० जना नर्सलाई पक्राउ गरेर सुरुमा प्रदर्शनीमार्गमा रहेको नेपाल पुलिस क्लबमा लगेर राखेको थियो। त्यसपछि साढे ७ बजे उनीहरुलाई अनामनगरस्थित प्रहरी हिरासतमा लगेर राखिएको नर्स त्रजिना जतिले जानकारी दिइन्।
उनका अनुसार आफन्त आएर कुराकानी गरेपछि मात्र राति साढे ११ बजे रिहा गरिएको हो।
'पुलिसको भ्यान आएर हामीलाई जबर्जस्ती कोच्यो र महेन्द्र पुलिस क्लब लग्यो। करिब साढे ७ बजेतिर फेरि अर्को भ्यान लगेर हामीलाई सिंहदरबार ल्याइयो। हामी जेलमा ३ घन्टा बस्न बाध्य भयौं,' त्रजिना भन्छिन्, ‘हामी आफ्नो ड्रेसमा थियौं, पुलिसले हामीलाई त्यसरी ज्यादती गरेको छ, जेल पनि बसियो अब हामी केहीसँग पनि डराउँदैनौं। जस्तोसुकै कदमका लागि अगाडि बढ्न तयार छौं। ’
आन्दोलनरत नर्सहरुले आफूमाथि दुर्व्यवहार भएको भन्दै उक्त घटनाको भत्सर्ना गरेका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै नर्सहरुले आफूप्रति देखाएको दमन र शासकप्रति जतिबेला पनि प्रतिकारमा उत्रिन सक्ने चेतावनी दिए।
पत्रकार सम्मेलनमा उनीहरुले अस्पताल निर्देशकले एकतन्त्रीय शासन चलाएको र कर्मचारीको हितविपरीत काम गरेको आरोप लगाएका छन्। उनीहरुले निर्देशकले आफ्ना गलत काम बाहिर आउने भएपछि वार्ताबाट भाग्न खोजेको आरोप पनि लगाएका छन्।
'केन्द्रमा कार्यरत करिब २ सय जना नर्सको भविष्यमा खेलवाड भइरहेको छ,' नर्स त्रजिनाले भनिन्।