काठमाडौं- गोरो वर्ण अनि हँसिलो अनुहार। निधारमा कालो टिकी, पुक्क परेका गाला, 'थाइकट' कालो कपाल। कपाल बाटेर सानो क्लिप लगाएकी ७ वर्षीया इशु गौतम गुलाबी रंगको टिसर्ट र पाइन्टमा सजिएकी छन्।
उनको यो रुप रंगले उनी कुनै बेला क्यान्सरको शिकार भएकी थिइन् भनेर हत्तपत्त कसैले पत्याउँदैन।
नयाँ मान्छेसँग नडराउने, हाँसिराख्ने इशुलाई नाच्न खुब मनपर्छ। ‘मलाई नेपाली गीतमा नाच्न मन लाग्छ तर म जुनसुकै गीतमा नाच्न पनि सक्छु,' स्वास्थ्यखबरसँग उनले सुनाइन्।
चित्र कोर्न उनको रुचि अधिक छ। त्यति मात्र होइन, उनलाई पोज-पोजमा फोटो खिचाउन कसैले सिकाइरहनु पर्दैन।
मर्सी स्कुल पोखरामा कक्षा १ मा पढ्दैछिन् उनी।
आमा सरिना गौतमका अनुसार उनलाई एलकेजी पढ्दा ५ वर्षको उमेरमा क्यान्सर पत्ता लागेको थियो। रक्त क्यान्सर लागेकी इशु १८ केजीबाट एक्कासी घटेर १० किलोमा झरिन्।
खुट्टा दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखापरेपछि उनलाई पोखराको फिस्टेल अस्पताल लगियो। त्यहाँ ब्लड कल्चर गर्दा रगतमा समस्या देखिएपछि कान्ति बाल अस्पताल पुर्याइयो। अस्पतालमा भेटिएकी आमा सरिनाले भनिन्, 'अस्पतालमा सबैकी प्यारी छे। अब दुई महिना मात्र औषधी बाँकी छ। रोग निको भइसकेको डाक्टरले बताएका छन्।'
'अहिले ६–७ महिना भयो, २६ केजी भइसकेकी छ,' छोरीतर्फ हेर्दै आमा सरिताले बोलीमा मातृत्व झल्काइन्।
000
इशुजस्तै रक्त क्यान्सरलाई जित्न सफल बालिका हुन् ५ वर्षीया मेरिना गुरुङ। उनीसँग कुराकानी गर्न खोज्दा उनी 'कलर बुक'का चित्रहरुमा 'कलर' लगाउन व्यस्त थिइन्।
गएको कात्तिकमा एक्कासी ज्वरो आउने, शरीरमा नीलो नीलो दागसमेत देखिएपछि उनकी आमा धनमायाले मेरिनालाई पोखराका विभिन्न अस्पताल पुर्याएकी थिइन्। अन्तिममा एक अस्पतालले 'क्यान्सर पनि हुन सक्छ है' भनेपछि उनी आत्तिदै कान्ति बाल अस्तपाल आइपुगेकी थिइन्।
'अहिले रोग निको भएको छ, श्रीपञ्चमीको साइत पारेर स्कुल हालिदिएका छौँ,' धनमायाले भनिन्, ‘सानो बालख, पछाडि ढाडबाट सेतो मासी निकाल्ने बेला उसलाई एकदम गाह्रो हुन्थ्यो। ढाड दुखेर बस्नै मान्दिनथी। उसको पीडा देखेर म आफैं रुन्थेँ। निको भएको भएपनि उसको खानेकुराको ध्यान राख्छु। फलोअपमा ल्याइराखेकी छु।’
000
च्यामासिंह भक्तपुरका सुशान्त प्रजापति अहिले २० वर्ष पुगे। उनी बि-फार्म तेस्रो वर्षमा अध्ययनरत छन्। नाच्न र अभिनय गर्न मन पराउने उनलाई १० वर्षको उमेरमा क्यान्सर देखिएको थियो।
घाँटी तथा काखीमा गिर्खा आउने, टाउको दुख्ने, बेलुका मात्र ज्वरो आउने भएपछि चेक जाँचका लागि जाँदा उनलाई दोस्रो स्टेजको रक्त क्यान्सर भएको थाहा भयो। 'केमो' दिँदा उनको बोनम्यारोमा इन्फेक्सन देखियो। सर्जरी गर्नुपर्यो।
तीन महिना कोमामा गए उनी। विगत सम्झिँदै भन्छन्, ‘मलाई बेडमा महिनौंसम्म सुतिरहनु पर्दा उठेर अरु सरह कहिले हिँड्न पाउँछु भन्ने हुटहुटी लाग्थ्यो। निराश हुन्थेँ तर आत्मबल दरो बनाउनुपर्ने रहेछ। पुर्नजन्म पाएको छु। निराश हुनुहुँदैन। समयमा उपचार गरे क्यान्सर निको हुने रोग रहेछ।’
000
रौटहटका श्लोक थापा ५ वर्ष पुग्न लागेका छन्। बालबालिकामा मात्र हुने रेटिनोब्लास्टोबाट मुक्त हुन सफल भएका छन् उनी। यो बालबालिकालाई मात्र देखिने क्यान्सर हो। ३ वर्षको उमेरमा यो क्यान्सरबाट पीडित बनेका श्लोककी आमा शिलुले आँखा सुन्निएको, हेर्न नसक्ने, आँसु आइराख्ने भएपछि नजिकै क्लिनिकमा देखाइन्। तर रोग सञ्चो भएन।
श्लोकको उपचारका लागि शिलुले काठमाडौं लिएर आइन्। 'कान्ति बाल अस्पतालमा आएपछि मात्र आँखाको क्यान्सर भएको थाहा भयो,' उनले थपिन्, 'बाँया आँखा अहिले फालिएको छ। दाँया आँखाले मात्र देख्न सक्छ।'
000
राजधानीको ट्रिनिटी कलेज विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय नोबेलकुमार अर्याल क्यान्सर जित्न सफल अर्का उदाहरण हुन्। अहिले पूर्ण रुपमा निको भइसकेका उनलाई ७ वर्षको उमेरमा रक्त क्यान्सर देखा परेको थियो। औषधि उपचारपछि उनले १० वर्षको उमेरमा नै रोगबाट छुटकारा पाए। इन्जिनियर बन्ने सपना पालेका नोबेल भन्छन्, ‘वी सुड नेभर गिभ अप आवर करेज' अर्थात् हामीले कहिल्यै पनि हिम्मत हार्नु हुँदैन।'
000
एउटा मात्र खुट्टाले छमछमी नाचेर सबैलाई चकित पार्ने १८ वर्षीया धादिङकी सरिता मगरलाई १० वर्षको उमेरमा खुट्टामा क्यान्सर भयो।
उनी छिट्टै निको त भइन् तर दुर्भाग्यवश बायाँ खुट्टा नै काट्नुपर्यो। सानैदेखि कलाकार बन्ने सपना देखेकी उनको खुट्टा नभएपनि प्रोफेसनल डान्सर सरह राम्ररी नाच्छिन्। उनको सीपलाई एउटा खुट्टा मात्र छ भनेर कहिल्यै पनि रोकेन।
'मलाई नाच्न खुब रहर लाग्छ,' सरिता भन्छिन्, 'एउटा खुट्टाले नाच्न गाह्रो भएतापनि मेरो आत्मविश्वासले जितिदिएको छ।' चाबहिलस्थित सुप्रिम इन्टरनेसनल स्कुलमा कक्षा ८ मा होस्टल बसेर उनी पढ्दैछिन्। 'स्टेज सो'मा निमन्त्रणा आएपछि नाच्न पुगिहाल्छिन् उनी।
000
नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिले बुधबार गरेको 'सुदिप्ता क्यान्सर सर्भाइभर्स मिट'मा लगभग २० जना क्यान्सर उपचार गराइरहेका र क्यान्सर विजेता बालबालिकाहरुको उपस्थिति थियो।
कार्यक्रमकी संयोजक तथा हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठले समयमा उपचार पाए बालबालिकामा हुने क्यान्सर निको भएर जाने जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरेको बताइन्।
'सरकारले बिस्तारै क्यान्सरमा लगानी बढाउँदै लगेको छ,' वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा हस्पिटलका संस्थापक तथा कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठ भन्छन्, 'बच्चाहरुको क्यान्सर रोगका विषयमा भने राज्यले अझ थुप्रै लगानी गर्न बाँकी छ।'
क्यान्सर रोगको राम्रो उपचार विदेशमा मात्र सम्भव छ भनेर भ्रममा नपर्न उनले आग्रह गरे। उनले भने, 'नेपालमै सस्तो र राम्रो उपचार पाइन्छ।’
पेडियाट्रिक अन्कोलोजिस्ट डा प्रकाशनिधि तिवारीका अनुसार ८० प्रतिशतभन्दा बढी बालबालिकाको औषधिले नै क्यान्सर निको हुने गर्दछ। जति छिटो उपचारमा ल्याउन सकियो, त्यति नै छिटो निको क्यान्सर ठीक हुने बताउँदै उनी भन्छन्, ‘बालबालिकामा चौंथो स्टेजमा पनि निको भएका उदाहरण छन्।'
क्यान्सर रोग निको भएपनि चिकित्सकको निगरानीमा हुनुपर्ने उनको सुझाव रहेको छ।
विभिन्न समयमा विभिन्न संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले नेपालमा १३ लाख बालबालिकाको जनसंख्या रहेकोमा हरेक वर्ष १३ देखि १४ सय क्यान्सरका नयाँ बिरामीहरू देखा पर्ने गरेका छन्।