डाक्टरले दुईथरी काम गरिरहेका हुन्छन्– एकथरीले बिरामीलाई बाँच्न चाहिने ‘श्वास’ जोगाउने, अर्काथरीले जीवनप्रतिको आस जगाउने। म्याक्जिलो फेसियल सर्जन डा चन्दन उपाध्याय जीवनप्रति आस जगाउने डाक्टर हुन्।
धुलिखेल अस्पतालका म्याक्जिलो फेसियल सर्जनका साथै काठमाडौं युनिभर्सिटीको बिडिएस कार्यक्रमका संयोजक हुन् डा उपाध्याय। उनी विद्यार्थीलाई अध्यापन गर्नुका साथै मान्छेको अनुहारमा रहेको जन्मजात वा कृत्रिम समस्या समाधान गरेर जीवनप्रतिको आस जगाइरहेका हुन्छन्। चिकित्सा विज्ञानको यो अविस्कारले मानव जीवन गुणस्तरीय बनाउन सघाइदिएको छ।
नेपालको परिप्रेक्ष्यमा नयाँ तर चाँडै फैलिइरहेको विधा हो, म्याक्जिलो फेसियल सर्जरी। मुख स्वास्थ्यका साथै अनुहारसम्बन्धी विभिन्न शल्यक्रिया यस विधामा पर्छन्। मुख चलाउन जरुरी जोर्नी बिग्रेर जुसको सहारामा जीवन चलाइरहेका, चिउँडोको हड्डी चाहिनेभन्दा ठूलो भएर अस्वभाविक देखिनुका साथै खान, बोल्न समस्या भएका, दुर्घटनामा अनुहार चोटग्रस्त भएका, अनुहारको संरचना बिग्रेका, खुँडे, दाँतको जटिल इन्फेक्सन भएकाको समस्या समाधानका लागि म्याक्जिलो फेसियल सर्जन जरुरी हुन्छन्।
चिकित्सा विज्ञानमा प्रयोगका हिसाबले ‘कान्छो सर्जरी’ सेवा मानिएको यो नेपालमा भित्रिएको पनि धेरै भएको छैन। तर थोरै समयमा पनि फैलावट भने बढ्दै गएको छ। हाल ७० जना म्याक्जिलो फेसियल सर्जन नेपालमा कार्यरत छन्। नेपालमा यसलाई सुरु गर्नेदेखि फैलाउनेसम्मको नाम लिँदा डा उपाध्यायको नाम अग्रपंक्तिमा आउँछ। सन् २०१२ मा उनले पहिलोपल्ट म्याक्जिलो फेसियल अप्रेसन गरेका थिए। त्यसअघि एक भारतीय चिकित्सकको सहारामा वीर अस्पतालमा म्याक्जिलो फेसियल अप्रेसन भएको थियो।
सन् २००९ मा नैकापमा शिविरको क्रममा भेटिएका एक युवकलाई तीन वर्ष लगाएर कन्भिन्स गर्दै उनले नेपालमै यो सेवाको सुरुवात गरेका हुन्। जन्मजात रुपमा चिउँडो अस्वभाविक ठूलो रहेका उनलाई बोल्न, खानै समस्या थियो। कक्षा १२ अध्ययनरत ती युवालाई उक्त समस्याबाट छुट्कारा दिन सकिने डा उपाध्यायले उनकी आमालाई बताएका थिए। ती बिरामीकी आमाको अनुहारमा एकाएक खुसी छाएको थियो तर तुरुन्तै विश्वास भने गर्न सकिनन्। किनकि डा उपाध्यायले भनेका थिए, ‘मैले यसको सर्जरीबारे विशेषज्ञता हासिल गरेको छु। तर, नेपालमा सेवा आरम्भ गरेको छैन। अनुमति दिनुहुन्छ भने तपाईंकै छोराबाट थाल्ने हो।’
भारतको म्याङ्लोरस्थित मणिपाल मेडिकल कलेज पुगेर यही विषयमा विशेषज्ञता गरेका उनीसँग प्रशस्त आत्मविश्वास थियो। यससम्बन्धी चर्चित डाक्टर मोहन बालिगाअन्तर्गत रहेर उनले धेरै बिरामीको सर्जरीमा सघाइसकेका थिए। धुलिखेल अस्पतालमा कार्यरत उनी २००७ मै पढाइ सकेर नेपाल फर्केका थिए। दुर्घटनामा परेर आएका बिरामीको अनुहारको संरचना उनले धुलिखेल अस्पतालमा धेरैपल्ट मिलाइसकेका थिए। तर, जन्मजात रुपमा बिग्रेकाको संरचना सही बनाउने सर्जरी उनका लागि पहिलोपल्ट थियो। त्यसैले अनुहारमा केही समस्या भए पनि राम्रै जीवन जिइरहेको छोराको अवस्था शल्यक्रियापछि ‘जटिल हुने हो कि’ भन्ने आशंका ती बिरामीकी आमामा थियो।
उनले नेपालमै यो सेवालाई निरन्तरता दिन कोही न कोही आफ्नो पहिलो बिरामी हुनैपर्ने बताए। आफूले दक्षताको भरपुर उपयोग गर्ने विश्वास दिलाए। यही बीचमा अस्ट्रियाको भियना पुगेर तीन महिना थप सिप सिके। अध्ययन गरे र अब्जरभेसन पनि गरे। जापानिज सोसाइटी अफ म्याक्जिलो फेसियलको निमन्त्रणामा केही हप्ता जापान पुगेर पनि यसमा थप ज्ञान लिए।
नेपाल फर्केपछि ती युवाको शल्यक्रिया गरे। आफ्नो पहिलो बिरामीको शल्यक्रियामा उनले १४ घन्टा लगाए। यसरी ती युवाको अनुहारको संरचना स्वभाविक बनाइयो। उनी त्यो दिन अहिले पनि सम्झिन्छन्, ‘बिरामीकी आमा यति दंगदास थिइन् कि, खुसीले बोल्नै मुश्किल परिरहेको थियो।’
ती युवा र युवाकी आमाको अनुहारमा छाएको खुसीले डा उपाध्यायलाई निरन्तर यसैमा सक्रिय रहन हौस्यायो। अन्य बिरामीलाई पनि उपचार गर्न उत्प्रेरित ग¥यो। त्यही कारणले अहिले धुलिखेल अस्पतालमा मात्रै ५० भन्दा बढी यस्तै सर्जरी भइसकेका छन्। अस्पतालमा सन् २०१४ पछि अरु म्याक्जिलो फेसियल सर्जन पनि थपिए। यसले गर्दा उनलाई झन् सहज भयो।
यो विधामा विशेषज्ञता हासिल गरेर अनुहारमा रहेका ट्युमर हटाउने, मुख क्यान्सरको सर्जरी गर्ने, दाँत नभएको ठाउँमा प्रत्यारोपण गर्ने गरेका छन् उनले। शल्यक्रिया हुने सबै अस्पतालमा यसका विशेषज्ञ रहेको डा उपाध्याय बताउँछन् ।
अनुहारको संरचना निर्माणसम्बन्धी यो सर्जरीमा आफूहरुले नेतृत्व गर्ने भए पनि टिमवर्कको परिणाम ठान्छन् डा उपाध्याय। अन्य विधाका सर्जनले समेत उनीहरुलाई सघाउँछन्। चिकित्सा विज्ञानमा सहकार्य राम्रो नतिजाको प्रमुख कारक हुने उनले बुझेका छन्।
धुलिखेल अस्पतालमा उनी लामो समयदेखि कार्यरत छन्। त्यसलाई आफ्नो कर्मथलो बनाएकोमा गौरवान्वित पनि छन्। उनलाई लाग्छ, ‘जसलाई साँच्चिकै सेवा जरुरी हुन्छ, उनीहरु गाउँबाट यहाँ आइपुग्छन्।’ सस्तो र गुणस्तरीय सेवाको पर्याय बनेको यो अस्पताल न्यून आय भएका बिरामीको सहारा बनिरहेको छ। त्यही अस्पतालमा दक्षता प्रयोग गरिरहँदा उनलाई आफ्नो पढाइको सदुपयोग भएको महसुस हुन्छ।
सेवा दिनकै लागि उनी आसामदेखि नेपाल आइपुगेका छन्। झापा स्थायी घर भए पनि उनका बुबाआमा कामको सिलसिलामा आसाम पुगेका थिए। त्यहीँ जन्मिए, हुर्किए र पढे। आसामस्थित ओराङ हायट सेकेन्डरी स्कुलमा कक्षा १२ सम्म पढेपछि गुहावटी युनिभर्सिटी आसाममा सरकारी छात्रवृत्तिमा बिडिएस पढे। पढाइ सकिएपछि त्यहीँ करिअर सुरु गर्दा पनि राम्रै हुन्थ्यो। तर, उनलाई नेपालले तानेर ल्यायो। उनलाई लागेको थियो, ‘नेपालमा जनशक्ति जरुरी छ। केही चुनौती भए पनि अवसर पनि त्यहीँ छ।’
आफ्नै पुख्र्याैली थातथलोमा गएर आफ्नो विधामा राम्रो गर्न सकिने आत्मविश्वास लिएर उनी नेपाल फर्किएका थिए। सुरुमा पिपुल्स डेन्टल कलेजमा संलग्न भए। तर, उनको खोजी धेरै बिरामी हुनुका साथै जरुरी परेर आइपुगेका बिरामीको सेवा गर्न पाइने अस्पताल हुन्थ्यो। त्यसपछि उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगे। सुलभ र गुणस्तरीय उपचार सेवा दिइरहेको धुलिखेल अस्पतालमा काम गर्ने रहर जाग्यो। डेन्टलमा पनि सर्जरीमा बढी रुचि थियो। डेढ वर्ष धरानमा काम गरेपछि धुलिखेल अस्पताल आइपुगे।
धुलिखेल अस्पतालले सर्जरीमा रहेको उनको रुचिलाई यथार्थमा परिणत गर्न सघायो। काठमाडौं युनिभर्सिटीले भारतको मणिपाल कलेज, व्याङ्लोरसँग आफ्नो फ्याकल्टी डेभलपमेन्ट कार्यक्रमका लागि सम्झौता गरेको थियो। डेन्टलमा फ्याकल्टी विकास गर्ने कार्यक्रमअन्तर्गत उनी सन् २००४ मा त्यहाँ पुगेका हुन्।
त्यहाँबाट म्याक्जिलो फेसियल सर्जरीमा विशेषज्ञता हासिल गरेर आएपछि उनलाई केही समय यसको पहिचान दिलाउनमै लाग्यो। किनभने नेपालमा अभ्यास भइनसकेको विषय भएकाले सुरुमा चिकित्सा क्षेत्रमै यसको महत्व बुझाउनुप¥यो उनलाई। ‘धेरैले हाम्रो विशेषज्ञता ३२ दाँतभन्दा पर होइन भन्ने बुझ्नुहुन्थ्यो,’ उनी ती दिन सम्झिन्छन्, ‘उहाँहरुलाई बुझाएर अहिलेको अवस्थासम्म ल्याइपुर्याइएको छ।’
सन् २०११ सम्म आइपुग्दा नेपालमा २५ जना यो विधाका विशेषज्ञ भइसकेका थिए। त्यसैले म्याक्जिलो फेसियल सोसाइटी गठन भयो। यसको गठनसँगै म्याक्जिलो फेसियल विधाको उपयोगिताका बारेमा जानकारी फैलाउन सहज भयो। सामूहिक प्रयत्नले केही वर्षमै चिकित्सा क्षेत्रभित्र यसले पहिचान पायो। तर, आमजनमा अझै पनि धेरैलाई जानकारी छैन। जसका कारण मुख चलाउने जोर्नी बिग्रेर वर्षौंदेखि जुसको सहारामा जीवनयापन गरिरहेकाहरु समाजमा भेटिन्छन्। जन्मजात वा दुर्घटनामा परेर अनुहारको संरचना बिग्रेकाहरु यत्तिकै बस्न बाध्य छन्।
लामो समय समस्या भोगेपछि धुलिखेल अस्पताल खोज्दै अहिले कति बिरामी आइपुग्छन्। तर, अझै गाउँ तहसम्म यसबारे जानकारी फैलाउन जरुरी देख्छन् उनी।