डा विद्यादेव शर्मा त्यो बेलाका मानसिक रोग विशेषज्ञ हुन्, जुनबेला मान्छेहरु वेश्यालय गएर आएको भन्न सक्थे तर मानसिक रोग विशेषज्ञलाई भेटेर आएको भन्न हिच्किचाउँथे। यो डा शर्माकै अनुभव हो।
मानसिक रोगमा विशेषज्ञता हासिल गरेर स्वदेश फर्किनेमध्येका १३औं नेपाली डाक्टर हुन् उनी। तर, नेपालमै मानसिक रोगको विशेषज्ञता सुरुवात गर्ने कामका दुई अगुवा डाक्टरमध्ये एक डा शर्मा हुन्। चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा मानसिक रोगसम्बन्धी उपचार सेवाको जग बसाल्दादेखि सक्रिय उनी अहिले सेवानिवृत्त हुने तयारीमा छन्। उमेरको पात्रो ६० वर्षतिर लम्किँदै गर्दा आफूमाथिका जिम्मेवारी चेलाचपेटालाई हस्तान्तरण गर्दै प्राध्यापनको काम मात्रै सम्हालिरहेका छन् डा शर्मा।
भर्खर एमबिबिएस पास गरेको युवावयमै आइओएम प्रवेश गरेका थिए उनी। एउटा सिंगो जीवन यही थलोमा बिताएका डा शर्मालाई लाग्छ, ‘आइएओमले मलाई बनायो। मैले पनि आजको आइओएम बनाउन कहीँ न कहीँ योगदान गरेँ।’
आइएओएमबाट उब्रेको वा समय मिलाएर मानसिक रोगसम्बन्धी चेतना जगाउन देशका कुनाकाप्चा चहारे। त्यो क्रम अहिले पनि जारी छ। तर, उनले एक दिन पनि योभन्दा बाहिरको अस्पतालमा जागिर गरेका छैनन्।
जीवनको यो बिन्दुमा आइपुगेका उनी कहिलेकाहीँ आफ्नो जीवनयात्रालाई फर्केर हेर्छन्। गुमाउनु र पाउनुको हिसाबकिताबमा दिलचस्पी छैन।
‘तर, के गरिएछ त जीवनमा भन्ने लाग्दोरहेछ,’ आफ्नै कर्मलाई मूल्यांकन गर्दै जाँदा उनी निष्कर्ष निकाल्छन्, ‘जीवनमा दुःखसुख भयो होला। अहिले मभित्रको ‘म’ खुसी छ, यही ठूलो कुरा हो।’
साउथ एसियाकै पुरानो मेडिकल कलेजमध्येमा पर्ने कलकत्ता मेडिकल कलेजबाट उनले एमबिबिएस पास गरेका हुन्। एमबिबिएसपछि हाउस अफिसरका रुपमा उनले आइओएमबाट सेवा सुरु गरे। चर्चित सर्जन डा अञ्जनीकुमार शर्माअन्तर्गत रहेर उनले केही समय काम गरे। तर, केही समयपछि नै उनलाई मानसिक रोग विशेषज्ञ डा महेन्द्रकुमार नेपालअन्तर्गत सेवा गर्न खटाइयो। उनलाई सम्झना छ, ‘आइओएममा मानसिक रोगको उपचारको विकास भइसकेको थिएन। ६ दिन ओपिडी चल्थ्यो, बिरामी एकदैम कम थिए।’
उनले मानसिक रोगको ओपिडीमा डा नेपालसँगै काम थालेपछि वार्डका लागि संघर्ष गरे। एक वर्षपछि मानसिक रोगको छुट्टै वार्ड बन्यो। मानसिक रोगको उपचारमा सरिक हुँदा न उनलाई यस विषयमा प्रशस्त जानकारी थियो, न रुचि। तर, जब काम थाले, यसैमा गहिरिँदै गए। उनलाई लाग्छ, ‘अर्धचेतन दिमागमा कति यसप्रति रुची थियो।’ यसका लागि एमबिबिएस पढ्दाको अनुभव सहयोगी भएको हुनसक्ने उनको अनुमान छ।
कलकत्ता मेडिकल कलेजमा पढ्दा नेपालभाषी विद्यार्थी २५– ३० जनाजति थिए। त्यतिमध्ये कोही न कोही बिरामी परेकै हुन्थे। साथी बिरामी परेर भर्ना भएको बेला वार्डमा कुर्ने पालो उनको पनि पथ्र्यो। सम्झिन्छन्, ‘स्टुडेन्ड बिरामी पर्दा भर्ना हुने वार्ड छुट्टै हुन्थ्यो। एउटै भवनमा थियो स्टुडेन्ट वार्ड र साइकियाट्री वार्ड। एउटै लबी थियो दुवै वार्डको। त्यहाँ मानसिक रोगका बिरामी देख्थेँ। केही चासो पनि लिइएको हो। भित्री मनमा त्यही बेलादेखि प्रभाव परेको थियो कि ?’
मानसिक रोग युनिटमा काम गर्न थालेको डेढ वर्षपछि उपचार सेवा दिनुका साथै उनले एमबिबिएसलाई मानसिक रोगबारे पढाउन पनि थाले। तर, योग्यता भने एमबिबिएस नै थियो। उनलाई मानसिक रोगमा विशेषज्ञता गर्नैपर्ने महसुस भयो। उनी बंगलादेशको इन्स्टिच्युट अफ पोस्ट ग्य्राजुएट मेडिकल रिसर्चमा मानसिक रोगमा एमडी गर्न पुगे। हाल बंगबन्धु शेख मुजिव मेडिकल कलेजका नामबाट चिनिने उक्त मेडिकल कलेजमा मानसिक रोगमा विशेषज्ञता हासिल गर्ने उनी पहिलो विदेशी विद्यार्थी थिए।
मानसिक रोगको विशेषज्ञता नेपालमै सुरु भएको भए उनी बंगलादेश जाँदैनथे। मनभित्र यसले गहिरो छाप छाडेको थियो। आफूले विशेषज्ञता हासिल गरेर आएपछि उनले आफ्ना अग्रज डा महेन्द्रकुमार नेपालसँग नेपालमै विशेषज्ञता सुरु गर्नेबारे सल्लाह गरे। उनी भन्छन्, ‘आफूलाई यस विषयमा पोस्ट ग्य्राजुएट गर्नुपर्ने थियो। तर चान्स नपाएको कुरा मनमा गढेको थियो। त्यही झोकमा फर्केर आउनेबित्तिकै यहीँ पढाइ सुरु गर्ने विचार पलाएको होला।’
आफूले जस्तो अरु विद्यार्थीले दुःख नपाओस् भन्नका लागि मानसिक रोगको विशेषज्ञता यहीँ सुरु गरिएको उनी बताउँछन्। उनलाई लाग्छ, ‘अभावमै त उपाय खोज्छ नि मान्छेले। ठूलो काम गरेको भन्न मिल्दैन। उपाय खोजेको हो हामीले।’ आइओएममा मानसिक रोगमा एमडी पढाउन थालेको १८ वर्षमा करिब दुई सय विद्यार्थी उत्पादन भइसकेका छन्। उनी भन्छन्, ‘चारैतिर फैलिएका छन्। बिरामीले सहज उपचार पाएका छन्। यसैमा खुसी लाग्छ।’
विशेषज्ञता सुरु गर्दा भएको दुःख सम्झिए उनले यही बेला। सुरु गर्ने भनेर पाइला चालेपछि पनि ४ वर्ष लाग्यो डा शर्माहरुलाई। आइओएमले सुरु गरेर सफलता हासिल गरेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौं युनिभर्सिटीले पनि यो विषयमा विशेषज्ञता सुरु गरे। अहिले अन्य मेडिकल कलेजमा पनि पढाउन थालिएको छ। उनका अनुसार हरेक वर्ष २० जनाजति मानसिक रोग विशेषज्ञ उत्पादन हुन्छन्।
मानसिक रोगमा विशेषज्ञता सुरु गरेर मात्रै पुग्थेन त्यो बेला। वर्षमा एउटा विद्यार्थीलाई विशेषज्ञ बनाएर देशको आवश्यकता पूरा हुँदैनथ्यो। ‘दूरदराजका मानसिक रोगीलाई कसले उपचार सेवा दिने ?’ यो प्रश्नले उनको मन घोचिरहन्थ्यो। मानसिक रोगको उपचार सेवालाई कसरी तल्लो तहमा चिकित्सकीय सेवा दिइरहनेहरुसँग जोड्ने भन्ने विषयमा उनी धेरै घोत्लिए। त्यसपछि उनको समूहले कम्युनिटी मेन्टल हेल्थको अवधारणा ल्यायो।
डा शर्मा भन्छन्, ‘आधारभूत मानसिक स्वास्थ्यको उपचार गर्न जनशक्ति कसरी उत्पादन गर्न सकिन्छ भनेर खोज्याँै। एचएहरुको कोर्समा अलिकति यो विषय राखिदिने हो भने उनीहरुले सामान्य मानसिक रोगको उपचारमा गर्न सक्छन् भन्ने निष्कर्षमा पुग्यौँ। हामीले पाठ्यक्रम परिवर्तन ग¥यौँ। त्यसपछि हामीले त्यसमा मानसिक हेल्थ सम्बन्धी कोर्सहरु हाल्याँै।’ बेसिक टे«निङ म्यानुअलहरु बनाएर तालिमसमेत सुरु गरेको उनी बताउँछन्। यसका लागि चाहिने खर्च दाताबाट जुटाएको उनी सम्झिन्छन्, ‘मैले लाज नमानी मागेँ। मागेपछि सेभ द चिल्ड्रेन नर्वेले धेरै सहयोग गरेको छ। त्यसैगरी युनाइटेड मिसन टु नेपालले पनि आर्थिक सहयोग गरेको छ।’
त्योबेला युनाइटेड मिसनमा काम गर्ने मानसिक रोग विशेषज्ञ क्रिस्टिन राइटले आइओएमको ओपिडीमा समेत बिरामी हेरेर सघाएको उनी सम्झिन्छन्। कम्युनिटी मेन्टल हेल्थ प्याकेज मोरोङबाट सुरु गरिएको उनले बताए। त्यहाँ रहेका १७ वटा हेल्थ पोस्टमा कार्यक्रम लागू भए। जहाँ नेपाल सरकारको समेत सहयोग थियो। उक्त कार्यक्रम सफल सिद्ध भयो। त्यसपछि मध्यपहाडी क्षेत्रको पोखरा, कास्कीमा कार्यक्रम सुरु भयो। त्यसैगरी स्याङ्जा लगायतका जिल्लामा विस्तार गर्दै लगेको उनको सम्झनामा छ। तत्कालीन गण्डकी क्षेत्रीय असपतालमा नेपाल सरकारले मानसिक रोग विशेषज्ञ डा कपिल उपाध्यायलाई खटाएको थियो। त्यो क्षेत्रमा यस कार्यक्रममा डा उपाध्यायले सघाएको उनी बताउँछन्।
मानसिक रोगको उपचारका लागि चिकित्सकका साथै क्लिनिकल साइकोलोजिस्ट, साइकियाट्रिस्ट सोसल वर्कर, साइकियाट्रिस्ट नर्स जरुरी भएको उनको समूहलाई महसुस भयो। भन्छन्, ‘यी ४ वटा विधाका साइकियाट्रीमा विशेषज्ञता हासिल गरेका मानिस चाहिन्छ। आएओमले एमडी त खोल्यो। अरु जनशक्ति कहाँबाट पूर्ति गर्ने ?’ त्यसैले एमडी खोलेको दोस्रो वर्षमा एमफिल साइकोलोजीको कोर्स राख्न सफल भए उनीहरु। २–३ वर्षपछि साइकियाट्रिक नर्सिङ सुरु भयो। साइकियाट्रिक सोसल वर्करका लागि विदेशका हेरेर पाठ्यक्रम बनाए पनि नेपालमा सुचारु हुन सकेन। किनभने तल्ला तहमा यो कोर्स नभएकाले विद्यार्थी नै नभेटिएको उनी बताउँछन्। डा नेपालसहित उनको समूहले त्यतिबेला ‘मेन्टल हेल्थ पोलिसी’ बनाएको थियो।
मानसिक स्वास्थ्य उपचारको अभियानसँगै उनले अध्ययनलाई पनि थप गर्दै गए। कम्युनिटी हेल्थमा काम गरेका कारण उनलाई एमपिएच गर्न मन लागेर ब्यांकक पुगे। फेरि फर्केर दुई वर्षपछि एमएसी साइकियाट्री गरे नेपालमै।
आइओएममा उनीभन्दा वरिष्ठ डा नेपालले छाडेपछि उनले मानसिक रोग विभागको औपचारिक नेतृत्व गरे। अनौपचारिक रुपमा ८–१० वर्ष र औपचारिक रुपमा साढे चार वर्ष विभागीय प्रमुख भए। अहिले आइओएमको विभागमा सबै फ्याकल्टी उनकै चेलाहरु छन्। उनी भन्छन्, ‘अहिले विद्यार्थीलाई पढाउँछु। कहिलेकाहीँ बिरामी हेर्छु। काम बढी पढ्ने र पढाउने नै छ। तालिम दिन र सुपरभाइज गर्न देशका कुनाकाप्चा घुमिरहन्छु।’
काठमाडौंबाहिर धेरै समय बिताइरहेका उनी काठमाडौंमै जन्मे, हुर्के र पढे। त्यो समय सम्भ्रान्त वर्गको परिवारका छोराछोरी पढ्ने सेन्ट जेभियर स्कुलमा ‘कागको बथानमा बकुल्ला’ भनेजस्तै गरेर संयोगले पढ्ने मौका पाएको बताउँछन् डा शर्मा। तर, औपचारिक स्कुलको सुरुवात भने पाटनढोकाको चन्डी विद्याश्रमबाट गरेका हुन्। उनी कक्षा ८ सम्म त्यहाँ पढेपछि सेन्ट जेभियर पुगेका हुन्।
११ कक्षासम्म सेन्ट जेभिएरमा पढेपछि आइएससी अस्कल साइन्स क्याम्पसमा पढे। अस्कलमा उनी चाहेर होइन, त्यो समय एउटा प्रयोग भएको थियो। सोही प्रयोगमा उनी पनि साइन्स पढ्नैपर्ने विद्यार्थीमा परे। आर्टस्, म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थी पनि साइन्समै भर्ना गरिएकाले दुई सेसन पढाइ हुन थाल्यो। तर, अर्को वर्षदेखि यो प्रयोग नरुचाइएको भन्दै बन्द गरियो र यहाँ साइन्स पढिरहेका विद्यार्थीहरु पनि आफ्नो रुचिको विषय रोजेर अन्त गए। उनलाई भने साइन्स नै पढ्नु थियो। त्यसैले यसैमा निरन्तरता दिए।
उनले मानसिक रोगमा उपचार थाल्दाको अवस्था र अहिले मूल्यांकन गर्ने हो भने आकाश–पाताल फरक भइसकेको छ। विशेषगरी जनचेतनामा व्यापक वृद्धि भएको छ। कुनै बेला मानसिक स्वास्थ्य जाँच गराउनु ‘वेश्यालय जानुभन्दा सरम’ को विषय ठान्नेहरु अहिले निर्धक्क उपचार गराउन थालेका छन्। उनलाई लाग्छ, ‘सबैभन्दा धेरै खुसी हुनुपर्ने विषय नै यही हो।’
मानसिक रोगमा सरकारले अपेक्षित विकास गर्न नसके पनि केही नगरेको पनि छैन। उनी भन्छन्, ‘सरकारसँग मानसिक रोगमा काम गर्ने जनशक्तिको दरबन्दी नै छ। भएका ठाउँमा अभाव पनि छ। यो नचाहेर होइन, ध्यान नपुगेर हुनसक्छ।’
सरकारले मानसिक रोगको औषधि निःशुल्क दिइरहेकोप्रति पनि उनी कृतज्ञ छन्। डेढ वर्षदेखि मानसिक रोगका सेकेन्ड लाइनका औषधिसमेत निःशुल्क गरेकाले बिरामीलाई सहज भएको उनी बताउँछन्। भन्छन्, ‘अहिले त ६० देखि ७० प्रतिशत बिरामीहरु सरकारले निःशुल्क दिइरहेको औषधि उपभोग गर्छन्।’ मानसिक रोगमा १२ वटा औषधि सरकारको निःशुल्क कोटामा समेटिएका छन्।
उनले अन्त्यमा आफ्नो व्यावसायिक जीवनको हिसाबकिताब निकाले। अनुमान लगाए, ‘५० प्रतिशत समय बिरामी हेर्नमा बिताएँ, बाँकी जिन्दगी सहजीकरण गर्दागर्दै बित्यो।’
उनी आफूले रोजेको पेशाबाट सन्तुष्ट छन्। देशका कुनाकाप्चा पुग्दा पनि आफूले पढाएका वा तालिम दिएका विद्यार्थी भेटिइहाल्छन्। त्यसले केही गरेको महसुस गराउँछ उनलाई। यही सक्रियताले शारीरिक रुपमा स्वस्थ रहन सघाएको छ। उमेरले ६० पुगे पनि अझै १० घन्टा गाडी चलाएर गन्तव्य नाप्ने गरेको अनुभव सुनाउँछन् उनी। सन्तुष्टि यसरी पोख्छन्, ‘शरीर स्वस्थ छ। आत्मा खुसी छ, अरु के चाहियो ?’