सिएनएन– विश्वमा पहिलो पटक एक एचआइभी संक्रमितले अर्का एचआइभी संक्रमितलाई मिर्गौला दान दिएका छन्। सो मिर्गौलाको सफल प्रत्यारोपण समेत गरिएको छ।
अमेरिकाकी एचआइभी संक्रमित नीना मार्टिनेजले मिर्गौला दान गरेकी हुन्। उनी यसरी मिर्गौला दान दिने पहिलो जिउँदो एचआइभी संक्रमित व्यक्ति हुन्। उनले जोन हप्किन्स मेडिसिन बाल्टिमोरमा अर्का एक व्यक्तिलाई आफ्नो मिर्गौला दिएकी हुन्।
मिर्गौला पाउने व्यक्ति पनि एचआइभी संक्रमित नै हुन्। मिर्गौला दिने र लिने दुवै व्यक्ति एक अर्कालाई जान्न चाहँदैनन् गुमनाम रहन चाहन्छन् र अहिले दानपछि राम्रो गरिरहेका छन्। ठीक छन्।
मार्टिनेज अहिले ३६ वर्षकी भइन्। उनी पब्लिक हेल्थ कन्सल्टेन्ट हुन्। सन् १९८३ उनलाई एचआइभी संक्रमण भएको हो। उनी त्यति बेला ६ हप्ताकी थिइन्। उनलाई ब्लड बैंकबाट रगत दान गरिएको थियो। ब्लड बैंकले भाइरसको नियमित परीक्षण गरिने प्रक्रिया सुरु हुनुअगाडि उनलाई एचआइभी सरेको थियो। एचआइभीले रोग प्रतिरोधात्मक क्षमतामा क्षति पुर्याउनुका साथै रोगसँग लड्नसक्ने क्षमतामा हस्तक्षेप गर्छ।
रोगका बावजुद पनि मार्टिनेजको सहन क्षमता तथा उनको इच्छाशक्ति भने बलियो छ। ‘म वास्तवमा एचआइभीसँग जुधेर बाँचेको दुनियाँलाई देखाउन चाहन्छु,’ अपरेसन गरिएको दुई दिनपछि उनले अस्पतालको शैयाबाट भनिन्, ‘यदि कसैले एचआइभी संक्रमित भएर यत्तिका वर्ष बाँचेको प्रमाण देखाउन सक्छ भने त्यो म नै हुँ। ३५ वर्षदेखि एचआइभी संक्रमित भएर बाँचिरहेको छु, यो अमेरिकामा एकदमै लामो समय मान्न सकिन्छ।’
जोन्स हप्किन्स युनिभर्सिटी स्कुल अफ मेडिसिनका सर्जन डा डोरी सेगभ जसले मार्टिनेजको शल्यक्रिया गरे, उनी मार्टिनेजको बहादुरीको प्रशंसा गर्दै भन्छन्, ‘यो एउटा ऐतिहासिक सर्जरी हो। एचआइभी केयर र यसको उत्पत्तिको एउटा ठूलो उत्सव हो।’
एचआइभीपीडितका लागि आशाको दियो
सन् २०१३ सम्म अमेरिकामा एचआइभी पोजिटिभ संक्रमितलाई अंग दानको अनुमति थिएन। सेगेभ भन्छन्, ‘मैले प्रत्यारोपण हुन नसकेर एचआइभी संक्रमित व्यक्तिहरुको मृत्यु भएको देखिरहेको थिएँ। यो पनि देख्थें कि, हामी एचआइभी संक्रमित भएकै कारणले सम्भावित डोनरहरुलाई अस्वीकार गर्दैछौं।’
एचआइभी संक्रमितले दान गरेको मिर्गौला प्रत्यारोपण सफल हुन्छ भन्ने कुरा कसैले पनि नसोचेको सेगेभले बताए। ‘एचआइभी भाइरसले मिर्गौला बिगार्न सक्छ वा एआरटी औषधि जसले एचआइभीलाई त नियन्त्रण गर्छ तर मिर्गौलाका लागि घातक बन्न सक्छ,’ उनी भन्छन्, ‘हामीलाई देखाउनु के थियो भने केही एचआइभी संक्रमित व्यक्ति मिर्गौला दानका लागि स्वस्थ्य छन् र एउटा मिर्गौलाबाट पनि बाँच्न सक्छन्।’
एचआइभी भएर पनि लामो समयसम्म बाँचिरहेका धेरै व्यक्तिको मिर्गौला फेलको घटना भइरहेको मार्टिनेजले बताइन्। तर मिर्गौला फेल भएका संक्रमितको डोनर कुर्दाकुर्दै ज्यान जाने उनको भनाइ थियो। ‘कतिको मिर्गौला पाउँला भन्ने आसैआसमा मृत्यु हुन्छ भने कतिले हरेस खाएर मरेको जस्तै अनुभव गर्नुपर्ने बाध्यता हुन्छ,’ उनी भन्छिन्।
एचआइभी अर्गन पोलिसी इक्विटी (होप) विधेयकले नोभेम्बर २०१३ मा अध्ययनकर्ताहरुलाई एचआइभी पोजिटिभ डोनरले एचआइभी पोजिटिभलाई अंग प्रत्यारोपणको अध्ययन अनुसन्धान गर्ने अनुमति दियो। यो विधेयकले एचआइभी पोजिटिभहरुलाई डोनरको ग्यारेन्टी त दिन सक्दैन तर पुलको काम भने गर्छ।
होपको विधेयकको मस्यौदा निर्माणमा सहयोग गरेका सेग्बे भन्छन्, ‘स्वतन्त्र राज्य, जसमा एचभाइभी संक्रमितले एचआइभी संक्रमितलाई अंग दान दिने कानुनी व्यवस्था कडा थियो, उनीहरुले पनि संघीय कानुनी व्यवस्थासँग मेल खानेगरी द्रूत गतिमा काम गर्दैछन्।’
मार्टिनेज छक्क परिन्, जब होप विधेयक कानुनमा परिणत भयो। उनले सोचिन्, यसले मुख्यतः भर्खर मृत एचआइभी संक्रमित व्यक्तिहरुले अंग दान दिनसक्ने अनुमति दिनेछ। यो केस थियो– २०१६ को, जतिबेला जोन हप्किन्सले विश्वकै पहिलो एचआइभी–एचआइभी प्रत्यारोपण गर्यो। उनको सर्जरी नगरुन्जेलसम्म सय जना जति एचआइभी–एचआइभी प्रत्यारोपण भएको थियो तर सबै मृत दाताहरु थिए।
ग्रेज एनाटोमी नामको टिभी सोमा काल्पनिक एचआइभी–एचआइभी लाइभ डोनर प्रत्यारोपण देखाइएको थियो, जुन कुरा मार्टिनेजको दिमागमा ठोक्कियो। उनले आफ्नो साथीलाई मिर्गौला चाहिएको कुरा सम्झिइन् र सहयोग कसरी गर्न सकिन्छ भन्ने खोजीले उनलाई जोन्स हप्किन्स पुर्यायो।
दुर्भाग्यवश उनको साथी बितिन् र मार्टिनेजले दान अर्को अपरिचित व्यक्तिका लागि गरिन्। मार्टिनेजको मिर्गौलासँग मेल खायो जो जोन्स हप्किन्समा मिर्गौला वेटिङ लिस्टमा बसेका थिए ।
मार्टिनेजले मिर्गौला दिन केही कुराहरु मिल्नुपथ्र्यो, जस्तो एचआइभी संक्रमित बाहेक उनी स्वस्थ्य हुनुपर्यो र हाइपरटेन्सन तथा मधुमेह हुनुभएन।
जोन्स हप्किन्स सिड्नी किमेल कम्प्रेहेन्सिभ क्यान्सर सेन्टर र मार्टिनेजको शल्यक्रियाको लागि एचभाइभी टिम विशेषज्ञ मेडिसिन एन्ड अंकोलोजीकी सहप्रध्यापक डा क्रिस्टिन डुरान्ड भन्छिन्, ‘हामीले आफ्नो अध्ययनबाट के पत्ता लगायौँ भने यो कुरा स्वीकार्य र सानो अत्तिरिक्त जोखिम मात्र थियो।’
मार्टिनेज भन्छिन्, ‘स्वास्थ्य र लामो जीवनको लागि राम्रो स्वास्थ्य सेवा ठूलो योगदानकर्ता हो।’ उनीसँग १४ वर्षदेखि कार छैन। उनी धेरै हिँड्छिन्। उनी म्याराथन दौडन्छिन्। उनी विभिन्न गैरसरकारी संस्थाको सहयोगमा एचआइभी रोकथामको लागि काम गर्छिन्।
डुरान्डका अनुसार मार्टिनेजको एचआइभी ‘उत्कृष्ट नियन्त्रण’मा रहेको छ।
शल्यक्रियाको दिन मार्टिनेज हलमा हिँडिरहेकी थिइन्। उनलाई केही समस्या भइरहेको थिएन। डुरान्डका अनुसार मिर्गौला पाउने व्यक्ति पनि उत्तिकै राम्रो गरिरहेका छन्। मिर्गौलाले साँच्चिकै आश्चर्यजनक रुपमा काम गरिरहेको छ।
डुरान भन्छिन्, ‘मुख्य कुरा के हो भने एचआइभी–एचआइभी प्रत्यारोपण गर्दा मिर्गौला पाउने व्यक्तिलाई डोनरबाट एचआइभीको गुणहरु आउन सक्छ, सुपरइन्फेक्सन हुनसक्छ।
डोनर र प्राप्तकर्ताको एचआइभी ड्रग प्रतिरोधीको सन्दर्भ मिल्दो हुनुपर्छ त्यसैले जब प्राप्तकर्ताले नयाँ एचआइभी गुणहरु पाए पनि त्यो ड्रगले अझै काम गरिरहन्छ।
‘हामीले प्राप्तकर्ताको मेडिकेसन राउन्ड परिवर्तन गर्नसक्छौं। तर त्यसो गर्न हामीसँग प्लान हुनुपर्छ,’ डुरान भन्छिन्, ‘अहिले २० भन्दा बढी एचआइभी मेडिकेसन उपल्ब्ध छन्।’
नयाँ एचआइभी संक्रमित कम गर्ने प्रयास
फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशबासीका नाममा सम्बोधन गर्दै अमेरिकामा सन् २०३० सम्म एचआइभी संक्रमणको दर घटाउने लक्ष्य रहेको बताएका छन्। पछिल्लो हप्ता युएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्यमुन सर्भिसेजले अमेरिकामा आगमी १० वर्षभित्र ९० प्रतिशतसम्म एचआइभी संक्रमित घटाउने प्रयासहरु भइरहेको बताएको छ।
अमेरिकामा १० लाखभन्दा बढी एचआइभी संक्रमितहरु रहेका छन्। उनीहरुका लागि मार्टिनेजको ऐतिहासिक शल्यक्रियाले यो रोगप्रतिको धारणा अलिकति भए पनि फरक ल्याउने सेगेभ बताउँछन्। उनी थप्छन्, ‘मेरो आशा छ, अमेरिकामा अझै पनि यस्तै सेन्टर खोलियोस् र विश्वले पनि एचआइभी लिएर बाँचिरहेकाले अंग दान गर्नसक्ने कुरा पछ्याओस्।’