सामान्यतयाः कुनै व्यक्तिको कार्यालय कोठाको सजावटबाट उसले गर्ने कामको सजिलै अनुमान गर्न सकिन्छ। किनभने आफ्नो कामको सहजताका लागि, सुविधाका लागि र व्यवस्थापनका कारण पनि कामसँग सम्बन्धित सामाग्री उसले आफ्नो कार्यालयमा राखेको/सजाएको हुन्छ।
औषधि उत्पादक सुधीरप्रकाश मास्केको कार्यालय पुग्ने हो भने हरेक व्यक्ति रनभुल्लमा पर्छ। लाग्छ, यो नेपालको एक नामी औषधि उत्पादक म्याग्नस फर्मास्युटिकल्स कम्पनीका बजार निर्देशकको कार्यालय हो कि, अध्यात्मिक अध्येताको? मास्केको कार्यालयको टेबल वरिपरिका दराज पुस्तकले भरिएका छन्। भित्तामा केही साधु–सन्तका तस्बिर झुन्डिएका छन्। केही सन्तसँग उनी आफैं पनि देखिन्छन्। कतै केही विद्वानका भनाइहरु ठूलो अक्षरमा लेखेर राखिएका छन्।
घाँटीमा साधु–सन्तले भिर्ने माला भिरेका मास्केको आफ्नै हुलिया पनि उनको पेसासँग परस्पर विरोधी लाग्छ। अर्थात् कर्मले व्यवसायी उनी धर्मले ‘जोगी’ जस्ता लाग्छन्।
उनलाई व्यावसायिक जीवनबारे कुरा गर्नुअघि विरोधाभाषपूर्ण उनको हुलिया र कार्यालयको अवस्थितिमाथि जिज्ञासा राखियो। ‘हामी नेपाली आफ्ना विषयमा बाहेक सबैमा जानकार हुने स्वभावका हुन्छौं। म आफ्नो विषयमा पनि सकेसम्म धेरै जानकारी राख्छु,’ उनको ओजपूर्ण जवाफ मिल्यो। आफूबारे, आफ्नो क्षेत्रबारे र आफ्नो कामबारे बढीभन्दा बढी ज्ञान हासिल गर्न उनी निरन्तर अध्ययन गरिरहन्छन्।
एउटा कम्पनीको बजार निर्देशकका हैसियतले आफूअन्तर्गतका कर्मचारीलाई निरन्तर उत्प्रेरित गरिराख्नुपर्छ। ऊर्जावान बनाइरहनुपर्छ। यसका लागि अफिसले दिने वेतन मात्रै काफी हुँदैन भन्ने उनले बुझेका छन्। उनीहरुलाई गरिरहेको कामप्रति सकारात्मक बनाइराख्न, भविष्यप्रति आशावादी बनाइराख्न र सेवामूलक काममा सक्रिय गराइरहन एक म्यानेजरले अनेक उपाय अपनाउनुपर्छ। उनलाई ती उपाय यिनै पुस्तकले दिन्छन्। उनले अध्ययन गर्नुको एउटा अर्को पनि अर्थ बताए, ‘जुनदिनसम्म मसँग ज्ञान हुन्छ। त्यो दिनसम्म मअन्तर्गतका कर्मचारी मेरा कुरामा विश्वास गर्छन्। गम्भीर रुपमा लिएर मैले गर्न खोजेको काममा दिलोज्यान दिन्छन्।’
आफूले बलियो भएर नेतृत्व गर्ने हो भने ज्ञान महत्वपूर्ण रहेको उनको बुझाइ छ। विश्वासको बलियो वातावरण बनाउने हो भने त्यसका लागि आफूलाई ज्ञानबाट निखार्दै जान जरुरी ठान्छन् उनी। यसका लागि गएको महिना मात्रै उनले १८ हजार रुपैयाँको पुस्तक खरिद गरे।
यिनै पुस्तकले दिने ज्ञानको साथ लागेर उनी प्रश्नसँग खेल्न रुचाउँछन्। अरुले ‘सम्भव होला र ?’ भनेर सोच्ने कुरामा सम्भव देख्छन्। अरुले ‘सफल भइएला र ?’ भन्ने ठानेकै कुरामा मास्केले सफलता हासिल गरेर देखाएका छन्। आफ्नो टेबलको दायाँ भागमा रहेको पुस्तक दराजकै ढाँचामा प्रश्नवाचक चिह्नको रुपमा ‘डेकोरेट’ गरेका छन्।
नेपालमा उत्पादन नभएका÷नल्याइएका औषधि उत्पादन गरेर बजारमा सफल बनाउने कम्पनीका रुपमा परिचित छ म्याग्नस। ‘अरु नेपाली कम्पनीले बजार नदेखेर उत्पादन नगरेका औषधि नेपालमा हामीले उत्पादन गर्ने गरेका छौं।
याँ बजार खोजेर उत्पादनलाई स्थापित गरी छाड्ने मेरो पुरानै बानी हो,’ उनले भने। बजारको एउटा नियम छ, जति धेरै जोखिम, त्यति धेरै लाभको सम्भावना पनि। मास्के त्यस्ता व्यक्ति हुन्, जो जोखिम मोल्न रुचाउँछन्।
म्याग्नसले उत्पादन गरेका ८० प्रतिशतभन्दा बढी औषधि नेपालमा पहिलोपल्ट बनेका हुन्। उत्पादनको प्याकेज मिलाउन मात्रै अरु औषधि कम्पनीले उत्पादन गरेका केही औषधि उनको कम्पनीले पनि उत्पादन गरिरहेको छ।
म्याग्नसमा उनी म्यानेजर मात्रै होइनन्, सेयर होल्डर पनि हुन्। उनीलगायत २० जनाको सामूहिक प्रयासमा यो कम्पनी खडा भएको हो। त्यसअघि उनले एसियन फर्मास्युटिकल्सको बजार निर्देशकका रुपमा ख्याति कमाइसकेका थिए।
सियनलाई पनि उनले नयाँ औषधिको बलमा सफल कम्पनीका रुपमा स्थापित गराए। लगानीकर्ताका साथै बजार निर्देशकको जिम्मेवारी लिएर म्याग्नस सुरु गर्दैगर्दा अरु सेयरधनीलाई उनले केही सर्त राखेका थिए, ‘नेपालमा उत्पादन नभइरहेका औषधि बनाउनमा हामीले जोड दिनेछौं।’ त्यसबाहेक चिनेजानेका भरमा जागिर नदिने र औषधिको हिसाब–किताब ढिलो गर्न नहुने जस्ता सर्तहरु उनले राखेका थिए। उनका सहलगानीकर्ताहरुले स्वीकारे।
उनले म्याग्नसको नेतृत्व सम्हाल्दै गर्दा अरु लगानीकर्ताले अन्य नेपाली कम्पनीले समेत निर्माण गरिरहेका झन्डै सयको हाराहारी औषधि बनाउने सूची बनाएका थिए। उनले सिधै अस्वीकार गर्दै भनेका थिए, ‘अरुको बजारमा हिस्सा खोज्न हामी आउने होइन। हामी आफैंले नयाँ बजार बनाउने हो।’
आफ्ना सहकर्मीलाई बुझाएर औषधि व्यवस्था विभागमा दर्ताका लागि गए। त्यहाँका अधिकारीले पनि दोहो¥याए, ‘कम्पनी पनि नयाँ, औषधि पनि नयाँ बिक्ला र ?’ स्वभाविक रुपमा त्यो बेला अरु कम्पनीले समेत उत्पादन गरिरहेको औषधि बजार पनि ठूलै थियो। ठूलो बजारमा बिक्रेता पनि धेरै हुने नै भए। उनको उत्तर हुन्थ्यो, ‘त्यो औषधिको बजार त ठूलो छ तर उत्पादक पनि धेरै छन्। सानो बजार भएको औषधि उत्पादन गरौं। त्यही बजारको राजा भएर बसौं।’
औषधिको पहिलो बजारीकरण गर्नुपर्ने चिकित्सककहाँ अरुले पनि उत्पादन गरिरहेकै औषधिको नयाँ ब्रान्ड लिएर जाँदा सहज स्वीकार्य नहुने उनले बुझिसकेका थिए। त्यसअघि एसियन फर्मास्युटिकल्समा पनि नयाँ मलिक्युल ल्याएर नयाँ औषधि उत्पादन गर्दै सफलता हासिल गरेको अनुभव उनीसँग छँदै थियो। धेरै नेपाली औषधि उत्पादक पेनकिलर, भिटामिन बी, एन्टिबायोटिक जस्ता धेरै खपत औषधि उत्पादन गरिरहेको समय म्याग्नसले थोरै व्यक्तिमा लक्षित एलर्जीको औषधि उत्पादन गरेको थियो। नेपालमा एलर्जीको औषधि उत्पादन नहुने समयमा उनले लोरटाडिन नामक औषधि बनाए। हालै मात्र हेपाटाइटिस बीको औषधि बनाउने नेपालकै पहिलो कम्पनीका रुपमा म्याग्नसको नाम दर्ज गराएका छन् मास्केले।
नयाँ औषधि ल्याउने र सकेसम्म गुणस्तरीय बनाउन खोज्ने उनको स्वभाव छ। त्यसका लागि उनी जनशक्तिमा लगानी गर्न निरन्तर तयार हुन्छन्। विश्व बजारमा नयाँ खोजका रुपमा आएको औषधि नेपालमा बनाउन उनी सधैं लालयित हुन्छन्। औषधि विज्ञानमा विश्वमा भइरहेको प्रगति र नेपालमा त्यसको सम्भावना अध्ययन गर्न उनले छुट्टै समूह बनाएका छन्। त्यो समूहले गरेको अध्ययनलाई विश्लेषण गरेर म्याग्नसले नेपालमा नयाँ औषधि उत्पादन गर्न मलिक्युल (कच्चा पदार्थ) भित्र्याउँछ।
नयाँ–नयाँ औषधि बनाउँदा कम्पनीलाई नाफा हुने त छँदैछ। भारत वा मल्टिनेसनल कम्पनीबाट आयात हुने औषधिसमेत विस्थापित गर्दै लैजान सकिन्छ भन्ने उनको मान्यता छ। हाल नेपालको ४५ प्रतिशत औषधि बजार नेपाली औषधि कम्पनीले ओगेटेका बताइन्छ। यो दर बढाउँदै लैजाने हो भने नेपालमा हाल उत्पादन नभइरहेका औषधि उत्पादन गर्न जरुरी रहेको उनी ठान्छन्।
एउटा कम्पनीले गुणस्तरीय वस्तु मात्रै होइन, दक्ष जनशक्तिसमेत उत्पादन गर्नुपर्ने मान्यता उनको छ। त्यसैले आफ्नो कम्पनीका कर्मचारीलाई उत्पादनको गुणस्तरका साथै आफ्नै वृत्तिविकासमा समेत ध्यान दिन सुझाइरहन्छन्। उनको मान्यता छ, ‘भोलि आफैंले कम्पनी खोल्यो वा अर्को ठाउँमा काम गर्न पुग्यो भने पनि उसले गुणस्तरीय काम गर्छ।’ म्याग्नसको औषधि हालसम्म गुणस्तरीय रहनु दक्ष जनशक्तिकै परिणाम रहेको उनले बुझेका छन्। भन्छन्, ‘हामीले अहिलेसम्म बजारमा गएको औषधि फिर्ता गर्नु परेको छैन।’
नयाँ र गुणस्तरीय औषधिका लागि चाहिने प्रविधि आत्मसात गर्न खास समय नलाग्ने उनको अनुभव छ। विश्वबजारलाई नजर गरेर बसेमा केही समयमै विश्वका वैज्ञानिकले पत्ता लगाएको औषधिलाई बनाउन पहिल्याएको प्रविधि नेपालमा समेत प्रयोगमा ल्याउन सकिने उनी बताउँछन्।
कुनै पनि कम्पनीलाई सफल बनाउन स्पष्ट भिजन जरुरी हुन्छ। मास्केको सबैभन्दा बलियो पक्ष नै यही हो। चाहे उनी बजार प्रतिनिधि (एमआर) का रुपमा छिरेको भारतीय कम्पनीमा होस् वा यसअघि नमुना फर्मास्युटिकल्सका रुपमा स्थापित भएको एसियन। अहिले उनी कार्यरत म्याग्नस नै किन नहोस्, उनी आफूले गर्ने कामका लागि स्पष्ट भिजन बनाउँछन्। कम्पनीले हासिल गर्ने आर्थिक–सामाजिक प्रगतिको स्पष्ट खाका कोर्छन्। र, आफू बस्ने टेबलको अघिल्तिर ठूलो बनाएर राख्छन्। ‘यसरी राख्दा एउटा लक्ष्य सम्झिइन्छ। अर्को लक्ष्य भेटाउन सही मार्गमा रहे÷नरहेको अवगत भइरहन्छ,’ उनी भन्छन्।
जीवनचक्रका हिसाबले यतिबेला त्यही ठाउँ (काठमाडौंको क्षेत्रपाटी) मा आइपुगेका छन्, जहाँ उनी ४६ वर्षअघि जन्मिका थिए। फरक यत्ति हो, त्यो बेला यहाँ नजिकै उनको बसोबास थियो, अहिले कार्यालय छ। काठमाडौंमा जन्मे पनि ६ वर्षकै उमेरमा उनी वीरगञ्ज झरे। तराईमा समेत मौजा भएका उनका बुबा नेपाल बैंकको वीरगञ्ज शाखाका जागिरे थिए।
वीरगञ्जकै ठाकुरराम क्याम्पसबाट बिएससी गरे मास्केले। औषधि व्यवसायतिर उनको सात पुस्ता थिएन। तर, उनीसँगै पढ्ने एक साथीका बुबा भने एक भारतीय कम्पनीका बजार प्रतिनिधि रहेछन्। ती साथीले उनलाई प्रस्ताव गरे, ‘बिएससी पनि सकियो। अब औषधि कम्पनीमा एमआरको जागिर गरौं।’ उनलाई एमआर भनेकै जानकारीमा थिएन। साथीकै पछि लागेर साथीका बुबाको सिफारिसमा भारतको पटना पुगेर अन्र्तवार्ता दिए।
सन् १९९० बजार प्रतिनिधिका रुपमा उनी औषधि क्षेत्रमा प्रवेश गरेका हुन्। त्यो कम्पनीमा उनी छोटो समयमै बढुवा भएर म्यानेजर भए। ‘नेपालमा एक औषधि कम्पनीका दुई जना प्रतिनिधि हुने जमाना थियो त्यो। एक जना पूर्व हेथ्र्यो, अर्को पश्चिम,’ उनले सम्झिए।
उनले ६ वर्ष म्यानेजर भएर काम गरिसकेका थिए। यही समयमा एसियन फर्मास्युटिकल्स सुरु हुने भयो। त्यसपछि म्यानेजरकै रुपमा एसियनले प्रस्ताव ग¥यो। नेपालमा औषधि बजारको नाडी–नशा छामिसकेका उनी नेपाली कम्पनीको औषधिको बजारीकरण गर्न पछि हटेनन्। त्यहाँ १० वर्ष काम गरे। उनले बजार प्रमुखका रुपमा लामो समय काम गर्दा एसियनको बजार उपस्थिति कहिल्यै कमजोर हुन पाएन।
औषधि बजारलाई राम्ररी चिनेका मास्के नयाँ काम गरेर थाक्दैनन्। एसियनलाई नयाँबाट जवान बनाएर बजारमा स्थापित गरेपछि आएको नयाँ अफर आफ्नो जोश–जाँगर कम हुन नदिन पनि स्वीकारेका हुन् उनले। आफ्नै लगानी हुने लोभका साथै आफ्नै बलबुताले बजारमा जबर्जस्त उपस्थिति भएको कम्पनी बनाउने रहरले म्याग्नसमा आए र आफ्नो लक्ष्यमा उनी सफल पनि भइसकेका छन्।
सफलताको उकालो हुन्छ। उक्लिन मात्रै छुट छ। जब उक्लिन छाडिन्छ, त्यसको नाम असफलता हुन्छ। त्यसैले सफल भइसकेको म्याग्नसलाई उकाल्न अहिले पनि उत्तिकै मिहिनेत गर्छन्। उत्तिकै योजना बनाउँछन् र उत्तिकै डट्छन्, किनभने उनी एसपी मास्के हुन्।